धरान उपमहानगरपालिका-१० का कोरोना संक्रमित एक पुरुषको अस्पताल लैजान नपाई बाटोमै मृत्यु भएको छ।
बुधबार दिउँसो बाथरुम जाँदा लडेपछि उनलाई आफन्तले बेडमा ल्याएका थिए।
बेहोस अवस्थामा रहेका उनलाई उपचारमा लैजान एम्बुलेन्स मगाइयो। तर, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नपुर्याइकन उनको मृत्यु भएको वडाध्यक्ष श्रीप्रसाद राईले बताए।
राईका अनुसार उनी ४८ वर्षका थिए।
उनी करिब दुई सातादेखि ज्वरो आएर बसेका थिए। उनलाई ज्वरो आएपछि परिवारले पिसिआर परीक्षण गरे।
तर, उनले परीक्षण गर्न मानेनन्।
‘ज्वरोले निकै गम्भीर बनाएपछि परिवारले परीक्षण गराउँदा बुधबार मात्रै रिपोर्ट पोजेटिभ आएको थियो,’ वडाध्यक्ष राईले भने।
उनको घरमा एक महिनाअघि आएका एक युवामा कोरोना संक्रमण देखिएको थियो।
त्यसपछि परिवारका अन्य सदस्यले परीक्षण गरे पनि उनले भने मानेका थिएनन्।
‘बाथरुममा लडेको भए पनि उहाँको शरीरमा कुनै चोटपटक थिएन,’ राईले भने, ‘एम्बुलेन्समा राखेर अस्पताल लगे पनि उपचार हुन नपाई उहाँको मृत्यु भयो।’
वडा कार्यालयले संक्रमित मृतकको शव व्यवस्थापनको जिम्मा नियमअनुसार सेनालाई दिएको थियो। सेनाले उनको शव व्यवस्थापन गरिसकेको छ।