भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ।
जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले महानगरले हरेक वर्ष अन्तरजातीय विवाह गर्ने दलित र गैर दलितको जोडीलाई एक–एक लाख रुपैयाँ नगदसहित सम्मान गर्ने गरेको छ।
१५ जोडीलाई महानगरको कार्यालयमा बोलाएर सम्मान गरिएको हो।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जातीय विभेदलाई न्यूनीकरण गर्न सम्मानले प्रोत्साहन गरेको बताइन्। उनले सामुहिक प्रयासबाट विभेदलाई हटाउँदै जानुपर्ने बताइन्।
उपमेयर चित्रसेन अधिकारीले सामाजिक रूपान्तरणको लागि अन्तरजातीय विवाहले ठूलो भूमिका खेलेको बताए।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले दलित समुदायलाई भेदभाव गर्ने विषय दण्डनीय भनेर कानुन निर्माण भएपनि ६ दशकसम्म पनि विभेद पूर्ण रूपमा नहटेको बताए।
महानगरले आर्थिक वर्ष २०७७/०७८ मा तीन जोडी, २०७८/०७९ मा तीन जोडी, २०७९/०८० मा सात जोडी र २०८०/०८१ मा १० जोडीलाई सम्मान गरेको थियो।