अघिल्लो दिन साँझतिर गिरी परिवारको घरमा कुखुराको भाले काटेर खाने कुराकानी हुँदै गरेको छिमेकीले सुनेका थिए।
आइतबार बिहान तिनै छिमेकीले घरको सिकुवामा डोकोले छोपिरहेको अवस्थामा कुखुराको भालेलाई ज्यूँदै फेला पारे। तर, त्यो परिवारको घरमा उपलब्ध सबै सदस्यलाई भने घरैमा मृत अवस्थामा मात्रै भेट्न सके।
‘हिजो बेलुका भाले काटेर खाऊँ भन्दै गरेको सुनेका थियौं,’ भोजपुर रामप्रसाद राई गाउँपालिका २ का स्थानीयबासीले भने, ‘बिहान भाले ज्यूँदै थियो, परिवारका सबैलाई चाहिँ ज्वाइँले मारेछ।’
रामप्रसाद राई गाउँपालिका २ की जनप्रतिनिधि वडा सदस्य प्रभा राई तामाङले स्थानीयबासीलाई उद्धृत गर्दै सेतोपाटीलाई दिएको जानकारी अनुसार ६८ वर्षीय बेलबहादुर गिरीको घरमा रहेका ४ जनामध्ये सबैको ज्वाइँ राजेन्द्र राईले हत्या गरेका हुन्।
‘आज बिहानै हामी घटनास्थलमा पुग्दा कुखुरा बाख्रा घरमा कराइरहेका थिए, परिवारका सदस्यहरूको लाश घरभरी लडेको अवस्थामा थियो,’ वडा सदस्य प्रभाले भनिन्, ‘बुवा र छोरीको शव अंगालो हालेको अवस्थामा थियो। सानो छोरा ढोकामै लडेको थियो अनि श्रीमतीको शव केही पर थियो।’
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले ससुराली पुगेर सासू–ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन्।
घटनामा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनिषा गिरी र मनिषाको ९ वर्षीय भाइ सपन गिरीको हत्या भएको छ।
ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी भनाइ छ।
राजेन्द्रले परिवारका चार जनाको हत्या गरेपछि आफैले प्रहरीलाई फोन गरेका थिए।
‘उनले मैले मान्छे मारेँ, मलाई लिन आउनू भनेर हाम्रो कन्ट्रोलमा फोन गरेछन्,’ प्रहरी निरीक्षक श्रेष्ठले भने।
घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई अहिले उपचारका लागि धरान पठाइएको र चारै जना मृतकको शव पोस्टमर्टमका लागि सदरमुकाम पठाइएको वडा सदस्य प्रभाले जानकारी दिइन्।
स्थानीयबासीसँगको कुराकानीका आधारमा प्रहरीले यो हत्याकाण्डको जड अनमेल विवाह र पारिवारिक यातनाले निम्त्याएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
‘ज्वाइँ राजेन्द्र पहिल्यै विवाहित रहेछन् उनले गिरीकी नाबालिग छोरीलाई विवाहका लागि पहिल्यै प्रस्ताव गरेका रहेछन्,’ प्रहरी निरीक्षक श्रेष्ठले भने ‘तर, उमेर नपुगेकी छोरीको विवाह नगर्ने परिवारको अडानले विवाह भएनछ।’
पहिलो विवाह छुटिसकेपछि मनिषालाई पाउन राजेन्द्रले प्रेम विवाह गरेका थिए। विवाहका लागि पारिवारिक अनुमति नपाएपछि राजेन्द्र र मनिषाले गएको असोजमा भागेर बिहे गरेका थिए।
आफूभन्दा दोब्बर उमेरको पुरूषसँग विवाह गरेर गएकी मनिषाले पतिबाट निरन्तर यातना पाउन थालेको स्थानीयबासीलाई उद्धृत गर्दै वडा सदस्य प्रभाले जानकारी दिइन्।
‘लागुपदार्थजन्य ट्याब्लेट र गाँजाको कुलतमा राजेन्द्र रहेछ,’ प्रभाले भनिन् ‘यसरी निरन्तर यातना पाउन थालेपछि मनिषा पतिको घर छाडेर आफ्नै घरमा बस्न थालेकी रहेछिन्।’
मनिषाका बुबा, आमा र सानो भाइ मात्रै घरमा बसेका थिए। ४ छोरी र दुई छोराका मातापिता बेलबहादुर र मञ्जुका ३ छोरी र एक छोरा काठमाडौं बसिरहेका थिए। घटनापछि उनीहरू भोजपुर आउँदैछन्।
श्रीमतीलाई घर लैजान भन्दै १५ दिन अघि ससुराली पुगेका राजेन्द्र मनिषालाई फकाउने र धम्क्याउने गरिरहेको छिमेकीले बताएका छन्।
‘मसँग तिमी नजाने भए तिम्रो परिवारै सखाप पारिदिन्छु भन्दै राजेन्द्रले श्रीमतीलाई धम्क्याउँदो रहेछ,’ वडा सदस्य प्रभाले भनिन् ‘गाउँलेहरू त्यसो भन्नु हुँदैन, मिलेर कुरा गर्नुपर्छ भन्दै सम्झाउँदारहेछन्।’
यद्यपि १६ वर्षीया मनिषा भने पतिसँग जान मानिरहेकी थिइनन्। पतिले लागुऔषध सेवन गर्ने, कुटपिट गर्ने गरेको भन्दै उनी आफू नजाने बताइरहेकी थिइन्।
छोरीको अनिच्छा र असुरक्षा भावका बाबजुद गिरी परिवारले ज्वाइँलाई १५ दिनदेखि घरैमा बस्न दिइरहेको थियो।
छोरी आफैले रोजेर बिहे गरेको र केही समयमा मिलेर गरिखालान् भन्ने आशमा आमाबुबा रहेको छिमेकीले बताएका छन्। छोरीज्वाइँ मिल्ने घडीको प्रतीक्षामा रहेका अभिभावकले आफ्ना दुई सन्तानसहित आफ्नो पनि ज्यान ज्वाइँकै हातबाट गुमाएका छन्।
ज्वाइँले छोरीलाई दिएको लगातारको मानसिक र शारीरिक यातनाबारे बेलबहादुरको परिवार र मनिषा स्वयम्ले कहीँकतै नभनेका कारण प्रहरी र आफूहरू यसबारे बेखबर रहेको प्रभाले सुनाइन्।
‘गाँजा, ट्याबलेट खाएर दिनरात कुटपिट गर्दा पनि मनिषाले प्रहरी वा जनप्रतिनिधिलाई भनेको भए उसलाई नियन्त्रणमा लिने केही उपाय लाग्नसक्थ्यो होला,’ उनले भनिन् ‘तर, कसैले केही भनेनन्। छिमेकीले पनि घर झगडा भनेर खासै वास्ता गरेनछन्। अहिले यस्तो अवस्था आएपछि सबैलाई पछुतो भइरहेको छ। परिवारभित्र यदि यातना भइरहेको छ भने कम्तीमा बोल्नुपर्छ। भन्नुपर्छ, त्यसले एउटा निकास दिन्छ।’
श्रीमतीसहित ससुराली परिवारका थप तीन जनाको हत्या गरेपछि प्रहरीलाई आफैले खबर गरेका राजेन्द्रले सासूले आफूमाथि छुरी प्रहार गरेको आरोप लगाएका छन्।
‘तर, उसले आत्महत्या प्रयास गर्दा आफैलाई हानेको भन्ने यहाँ उपस्थित प्रहरी र गाउँलेको कुरा छ,’ जनप्रतिनिधि प्रभाले भनिन् ‘अरू कुरा अनुसन्धानपछि खुल्ला। तर, यातना सहेर बसिरहने छोरीको कमजोरी र अभिभावकको बेवास्ताले यस्तो वीभत्स घटना भयो। अहिले सिंगो गाउँ आतंकको छायामा देखिन्छ।’
हत्याकाण्डका अभियुक्त राजेन्द्र भोजपुर सदरमुकाम क्षेत्रमा ज्याला मजदुरी गरेर बस्ने गरेको र उनले आफूले गरेको दुबै विवाहको दर्ता नगरेको भोजपुर नगरपालिका २ का वडाध्यक्ष प्रसाद तामाङले जानकारी दिए।
‘हामीले पनि दुइटा विवाह भन्ने भर्खर थाहा पाएका हौं,’ उनले भने, ‘अहिले बुझ्दा उनले दुबै विवाह दर्ता नगरेको पाइएको छ।’
उनले दोस्रो बिहे नाबालिकासँग गरेको कारण दर्ता हुने सम्भावना नभएको बताए। उनको परिवारमा आमा, ३ दाजुभाइ र एक दिदी रहेको अध्यक्ष तामाङले जानकारी दिए।