नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिबी नेपालले पैसा कमाउन हतार नगर्न अनुरोध गरेका छन्। ग्लोबल आइएमइ र जनता बैंकको एकिकृत कारोबार सुरुवातको उद्घाटनमा बोल्दै नेपालले बैंकरहरुले नाफाकै लागि हतार गर्न नहुने उनले बताए।
बैंकलाई नाफाको साधनका रुपमामात्र सोचेर अघि नबढ्न उनले सुझाव दिए।
'यहाँ सबै पैसा कमाउने लहडमा लागेका छन्। लहडले पैसा कामाइदैन। पैसा त कमाउनुहोस तर पारदर्शी भएर। बैंकबाट नाफा कमाउन झन् हतार गर्नै हुन्न' उनले भने।
उनले कार्यक्रममा बैंकहरु मर्ज भएर ठूलो पुँजी निर्माणमा सहयोग बन्न सक्ने विश्वास व्यक्त गरे। त्यसका लागि लगानीकर्ताहरुले व्यवस्थापनमा हस्तपक्षेप गर्न नहुने, संस्थागत शुसासनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
दुई बैंक गाभिएर नेपालकै ठूलो बैंक बनेको अवसरमा वित्तीय क्षेत्रका उच्चपदस्थ व्यक्तीहरुले सहभागिता रहेको थियो। उनीहरुले शुभेच्छा प्रकट गरेका थिए।
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले बैंक मर्जर भएको लाभ उपभोक्ता, लगानीकर्ता र देशले पाउनुपर्ने बताए।
' बैंक ठूलो हुनु भनेको निक्षेप धेरै हुनु हो। त्यो भनेको देशलाई चाहिएको ठूलो लगानी उपलब्ध हुनु हो। अर्कोतिर सञ्चालन खर्च घट्नु हो। जसको लाभ ऋण लिनेले सस्तोमा ब्याज पाउनु पनि हो' खतिडाले भने।
नेपालको अर्थतन्त्रको संरचना फेरिएकाले बैंकहरुले लगानी पनि सोहीअनुसार बढाउनुपर्ने उनको सुझाव छ।
देशकै ठूलो बैंक बनेपछि यसबाट वित्तीय क्षेत्रमा गुणात्मक फड्को मार्ने उद्योगी व्यवसयायीका प्रतिनिधिहरुले विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मध्यमस्तरीय पूर्वाधारमा लागनी गर्न पनि नेपाली बैंकहरुलाई लगानी गर्न कठिन भइरहेको अवस्थामा यो बैंकले त्यो ग्याप पूरा गर्ने विश्वास व्यक्त गरे।
एकिकृत बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सक्षमत र सुदृढ बैंक निर्माण गर्ने आफ्नो आकांक्षा आंशिक पूरा भएको बताए। उनले आगामी दिनमा अझै अन्य वित्तीय संस्थासँगको सहकार्यलाई अघि बढाउने बताए।