सेयर बजार बढिरहँदा नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई सुझबुझपूर्ण रुपमा लगानी गर्न आग्रह गरेको छ।
एक विज्ञप्ति जारी गर्दै बोर्डले सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्था लगायतका विवरणको विश्लेषण गरी लगानी सम्वन्धी निर्णय लिनु नै लगानीकर्ताको हितमा हुने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ ‘बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरुको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवम् जोखिम वहन गर्न सक्ने क्षमता तथा लगानीको सुरक्षा समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रुपमा लगानी गर्न बोर्ड हार्दिक अनुरोध गर्दछ।’
धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता पुगेको बोर्डको भनाइ छ।
त्यस्तै डिम्याट खाताको संख्या २१ लख ८० हजार रहेको तथा नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेको बोर्डले औंल्याएको छ।
बजारको परिसूचक र कारोबार रकम बढ्नु खुसीको कुरा रहेको पनि बोर्डले जनाएको छ।
पछिल्ला तीन दिन नेप्सेले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ। सोमबार मात्रै २८ अंकले बढेको नेप्से १९९७ अंकमा कायम भएको छ। यस दिन ८ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। हिजो ९ अर्ब २२ करोडको कारोबार भएको थियो।