बिन्ध्यवासिनी हाइड्रोपावरले शतप्रतिशत हकप्रद दिने भएको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले एक बराबर एक अनुपातमा हकप्रद सेयर दिने घोषणा गरेको हो।
कम्पनीको प्रस्ताव विद्युत नियमन आयोग स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ।
हाल एक अर्ब १२ करोड चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद जारी पछि दुई अर्ब २४ करोड चुक्ता पुँजी पुग्नेछ।
कम्पनीले अघिल्लो पटक आठ प्रतिशत बोनस सेयर दिएको थियो। आर्थिक वर्ष २०८१/८२ को लागि भने लाभांश घोषणा गरेको छैन।
कम्पनीको नाफा पनि चार करोड रूपैयाँबाट बढेर आर्थिक वर्ष २०८१/८२ मा ६ करोड पुगेको छ।
हाल कम्पनीको सेयर पाँच सय २४ रूपैयाँमा कारोबार भइरहेको छ।
गत असारमा मात्रै कम्पनीको लकिङ पिरियड सकिएर संस्थापक लगायत सबै सेयर कारोबारमा आएको हो।
कम्पनीले हालसम्म ४८ मेगावाटको खिम्ती दुई, २० मेगावाटको लाङटाङ खोला, ४० मेगावाटको बलेफी हाइड्रो र नेपाल पावर एक्सचेन्जमा समेत लगानी गरेको छ। कम्पनीले अन्य कम्पनीमा पनि लगानी गर्दै जाने वित्तीय विवरणमा उल्लेख गर्दै आएको छ।