एकमुष्ट रुपमा सेयर खरिद आदेशको व्यवस्था (अल अर नन) हटाइएको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाएसँगै आजैदेखि कार्यान्वयन हुनेगरी यो व्यवस्था हटाइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।
‘खरिदतर्फ आदेशमा अल अर नन (एओएन) हटेको हो, बिक्रीतर्फको व्यवस्थामा हटेको छैन’ पराजुलीले सेतोपाटीसँग भने।
यसको अर्थ अब सेयर खरिद गर्न चाहनेले राख्ने आदेशमा सेयरको संख्या थोरै थोरै मात्रामा खरिद हुन सक्नेछ।
यसलाई उदाहरणका रुपमा हेरौं,
कुनै खरिदकर्ताले एबिसी कम्पनीको ५ हजार कित्ता सेयर खरिद गर्नका लागि ‘एओन’ छनौट गरेर आदेश दिन पाइने व्यवस्था थियो। यसको अर्थ उसले एकै कारोबारमा एकमुष्ट ५ हजार सेयर कसैले बिक्री गरेमा मात्रै पाउँथ्यो। किन्ने र बेच्नेको मूल्य मिलेमा पनि एकमुष्ट ५ हजार कित्ता बेच्ने कोही नभएमा उसले खरिद गर्न पाउँदैनथ्यो।
तर अहिलेको नयाँ व्यवस्थाअनुसार खरिद गर्नेले अब एओएन छनौटको अवसर नै पाउँदैन। अर्थात उसले ५ हजार कित्ता खरिदका लागि अर्डर गरेमा मूल्य 'म्याच' भएपछि पटक पटक गरेर ५ हजार कित्ता खरिद हुने छ।
एक एक हजार कित्ताका दरले सोही मूल्यमा बेच्नेहरु भएको खण्डमा ५ पटकसम्मको कारोबार हुँदा ५ हजार कित्ता खरिद गर्नेले पाउँछ।
खरिद अर्डरमा एओएनको व्यवस्था हटेसँगै ठूलो मात्राको सेयर खरिदका लागि धेरै पटक कारोबार हुनेछ।
‘एओएन’को व्यवस्थाले चलखेल भएका कारण यो व्यवस्था हटाइनु उपयुक्त भएको बताउँछन् लगानीकर्ता पिताम्बर शर्मा खरेल। यो व्यवस्था हटाइएपछि साना लगानीकर्ता फस्ने संभावना नहुने उनले बताए।
‘एओएन छनौट गरेर १ लाख कित्ता खरिद गर्नका लागि आदेश पोष्ट हुन्थ्यो, भने एकै पटक १ लाख कित्ता बेच्ने त हुँदैनथे, यस्तोमा साना लगानीकर्ताले मार्केट डेप्थ हेर्दा एउटै व्यक्तिले १ लाख किन्न खोजेपछि कम्पनीमा ठूला लगानीकर्ता आएको भनी झुक्किन्थे र ती साना लगानीकर्ताले झन् धेरै मूल्य तिरेर खरिद गर्थे, तर त्यस्ता ठूला अर्डर झुटो हुन्थे, एकैपटक १ लाख कित्ता बेच्ने हुँदैनन् भन्ने जानेरै झुक्याउनका लागि त्यसरी अर्डर पोष्ट हुन्थ्यो’ खरेलले भने।
खरिदका लागि १ लाखको आदेश हाल्ने त्यसपछि मूल्य बढाउँदै लगेर आफैले साना लगानीकर्तालाई बेच्ने प्रबृत्ति रहँदै आएकोमा अब एओएन हटेसँगै मार्केट डेप्थ धेरै हदसम्म सही हुने उनले बताए।
तर धेरैपटक कारोबार हुने भएकाले यसमा ब्रोकर कमिसन घट्नुपर्ने उनले बताए। ‘जस्तो ५ हजार कित्ताका लागि आदेश दिँदा अब धेरै पटकको कारोबारपछि मात्रै ५ हजार पुग्न सक्छ, अब थोरै थोरै खरिद हुँदा उसले तिर्ने ब्रोकर कमिसन धेरै हुन्छ’ उनले प्रष्ट पारे।
सेयर खरिदमा थोरै कारोबारका लागि धेरै कमिसन लाग्छ भने धेरै कारोबारमा थोरै कमिसन लाग्छ। एकैपटक ५० हजाभन्दा कम रकमको कारोबार गर्दा सबैभन्दा धेरै ०.४० प्रतिशत ब्रोकर कमिसन छ, भने एकैपटक १ करोडभन्दा बढीको कारोबार गर्दा सबैभन्दा कम ०.२७ प्रतिशत कमिसन शुल्क लाग्ने गरेको छ।
अब खरिदतर्फ एकमुष्ट (एओएन) व्यवस्था हटेसँगै सानो सानो रकमको कारोबार हुन जान्छ। यसले खरिद गर्नेलाई ठूलो ठूलो दरको ब्रोकर कमिसन तिर्नुपर्ने बाध्यता हुन्छ।
तर सेयर बिक्री आदेशतर्फ भने यो व्यवस्था यथावत छ। सेयर बिक्री गर्दा आफ्नो डिम्याट खातामा सेयर संख्या भए मात्रै आदेश पोष्ट गर्न मिल्ने व्यवस्था छ। त्यसकारण बिक्रितर्फको एओएन व्यवस्था नहटेपनि अब धेरै हदसम्म ‘मार्केट डेप्थ’को जालझेल हट्ने खरेलले बताए।