सेयर बजारको परिसूचक नेप्से बुधबार ५१ अंकले झरेको छ। सो अंकको गिरावटपछि नेप्से २८६२ मा कायम भएको छ।
हिजो ७९ अंकले बजार बढेको थियो। एक हप्तापछि हिजो बजार बढ्दा गिरावट रोकिने अनुमान गरेका लगानीकर्ता आज पनि ठूलै अंक पहिरो गएपछि अन्यौलमा छन्।
यस दिन ८ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खुम्चिएको हो। हिजो मात्रै ११ अर्ब ६१ करोडको सेयर कारोबार भएको थियो।
सबै समूहहरु ओरालो लागेका छन्। बैंकिङ २८, ब्यापार ५५, होटल तथा पर्यटन ६९, विकास बैंक १६०, जलविद्युत ७१, फाइनान्स ६७, निर्जीवन बीमा २८०, उत्पादन १२१, अन्य ४४, माइक्रोफाइनान्स १०० र जीवन बीमा ३८७ अंकले घटेका छन्।
परिसूचकमा ठूलो अंकको गिरावट आउँदा पनि राधि विद्युतको मूल्य ९.७ प्रतिशतले बढेको छ। त्यस्तै ङादी ग्रुप पावरको मूल्य ९ प्रतिशतले बढेको छ। छ्याङ्दी हाइड्रो, नेपाल इन्स्योरेन्स र घलेम्दी हाइड्रोको मूल्य ६ प्रतिशतले बढेको छ।
कालिका पावर कम्पनीको मूल्य ५.६ प्रतिशतले घटेको छ। नेपाल फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्रो डेभलपर्सको मूल्य ५ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ५४ करोड रुपैयाँ बराबरको कारोबार भयो। मूल्य भने ३.६ प्रतिशतले घटेको छ।
नेपाल इन्स्योरेन्स, राधि विद्युत, नेसनल हाइड्रो, जलविद्युत लगानी तथा विकास कम्पनी पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।