बजारमा कर्जाको माग नभएर बैंकिङ प्रणालीमा थुप्रिएको पैसा पटक-पटक गरेर तानिरहेको राष्ट्र बैंकले ऋणपत्रबाट मात्रै हालसम्म एक खर्ब रूपैयाँ तानेको छ।
बैंकिङ प्रणालीमा धेरै भएको पैसा गत पुस १४ गते यता ऋणपत्र जारी गरेर तान्न थालेको हो।
यसरी तानिएको रकम एक वर्षसम्म बैंकिङ प्रणालीमा फर्किदैन।
यसरी तानिएको रकम एक खर्ब पुगेपछि भने राष्ट्र बैंकले एकपटकमा २० अर्ब रूपैयाँ तान्न थालेको छ।
यसअघि हरेक पटक ऋणपत्रबाट २५ अर्ब रूपैयाँ तान्दै आएको थियो।
एक वर्षे अवधिका ऋणपत्रबाट मात्रै राष्ट्र बैंकले दुई खर्ब रकम तान्ने लक्ष्य लिएको छ।
बैंकहरूले २.६७ प्रतिशत ब्याजदरमै अहिले राष्ट्र बैंकको ऋणपत्रमा लगानी गरिरहेका छन्।
अहिले राष्ट्र बैंकले चारदेखि एक सय ७५ दिनसम्मको लागि रकम तान्ने निक्षेप संकलन उपकरणमा पनि बैंकहरूले औसत २.४७ देखि २.७४ प्रतिशतसम्म ब्याज पाइरहेका थिए।
पुस १३ गतेयता भने राष्ट्र बैंकले यो उपकरण प्रयोगमा ल्याएको छैन।
बैंकहरूले तीन/तीन दिनको लागि राष्ट्र बैंकले पैसा तान्ने स्थायी निक्षेप संकलनमा भने तीन प्रतिशत ब्याज पाउँछन्।
पुस २२ गते बैंकहरूले यो उपकरणमा दुई खर्ब ९९ करोड राखेका छन्।
हाल राष्ट्र बैंकले विभिन्न उपकारणमार्फत बैंकिङ प्रणालीबाट आठ खर्ब ९६ अर्ब पैसा तानेको छ।
यो एक वर्षे ऋणपत्रको नाम नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ 'ङ' नाम दिइएको छ। यस ऋणपत्रको भुक्तानी २०८३ पुस २३ गते हुनेछ।
न्यूनतम ५ करोड र बढीमा ५ करोड रूपैयाँले भाग गर्दा निशेष भाग जाने रकमसम्मको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
यसमा बैंक तथा वित्तीय संस्थामात्रै सहभागी हुन सक्ने व्यवस्था छ।
यो पनि:
ब्याजदर कम भए पनि बैंकलाई अहिले लामो अवधिका ऋणपत्रमै पैसा राख्दा फाइदा