यस आर्थिक वर्षको पहिलो पाँच महिनामा भारत लगायत अन्य मुलुकबाट ५ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको छ। सो रकम गत वर्षको यसै अवधिको तुलनामा ४. २ प्रतिशतले कम हो।
नेपालमा भारतबाट आयात हुने बस्तु सबैभन्दा उच्च छ। भारतबाट आयातित बस्तु गत वर्षको सोही अवधिको तुलनामा साढे ९ प्रतिशतले घटेको छ, यद्यपी चीनबाट हुने आयात भने १५. ६ प्रतिशतले बढेको छ।
नेपालमा आयात हुने बस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा उच्च छ। साउनदेखि मंसिरसम्म आयातित कुल बस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा १३. १ प्रतिशत छ। यस अवधिमा ७५ अर्ब ९२ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। गत वर्षको यसै अवधिमा ८७ अर्ब ७८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो।
पेट्रोलियम पदार्थपछि सवारीसाधन तथा तिनका पार्टपूर्जाको आयात उच्च छ। कुल आयातमा सो शिर्षकको बस्तु समूहले ८. ७ प्रतिशत हिस्सा ओगटेको छ।
पाँच महिनामा ५० अर्ब ६२ करोड रुपैयाँको सवारीसाधन/उपकरण/पार्टपूर्जा/टायर आयात भएको छ। यो शिर्षकको आयात पनि गत वर्षको यस अवधिको तुलनामा कम हो। गत वर्ष यस अवधिमा ५६ अर्ब ७१ करोड रुपैयाँको सवारीसाधन तथा पार्टपूर्जाको आयात भएको थियो।
आयात हुने उच्च बस्तुमध्ये रकमका आधारमा अन्य मेसिन तथा पार्टपूर्जाको स्थान तेस्रो अर्थात ५. ७ प्रतिशत हिस्सा छ। सो शिर्षकमा हुने आयातमा पाँच महिनामा ३२ अर्ब ८८ करोड रुपैयाँ बाहिरिएको छ। जुन गत वर्षको यस अवधिको तुलनामा २ अर्ब ७० करोड बढी हो।
आयातित बस्तुमध्ये चौथो स्थानमा रहेको एमएस (मिल्ड–स्टिल) बिलेटले कुल आयातमा २. ९ प्रतिशत हिस्सा ओगटेको छ। यस आर्थिक वर्षको पहिलो पाँच महिनामा १७ अर्बको एमएस बिलेट आयात भएको छ। गत वर्ष यस अवधिमा ३२ अर्बको आयात भएको थियो।
आयातित बस्तुमध्ये पाँचो ठूलो हिस्सा रेडिमेड गार्मेन्टले ओगटेको छ। यस अवधिमा १५ अर्ब ८३ करोडको रेडिमेड गार्मेन्ट भित्रिएको छ। गत वर्ष यस अवधिमा १५ अर्ब ५१ करोडको आयात भएको थियो।
औषधिले छैठौं स्थान लिएको छ। पाँच महिनामा १४ अर्ब ३८ करोड रुपैयाँको औषधि आयात भएको छ। गत वर्ष यस अवधिमा १५ अर्ब ७३ करोडको औषधि भित्रिएको थियो।
१४ अर्ब ३३ करोडको एयरक्राफ्ट स्पेयरपार्टस् आयात भएको छ। यसको आयात पनि गत वर्षको तुलनामा ३ अर्ब ८३ करोडले कम हो।
१२ अर्ब ६० करोड रुपैयाँको टेलिकम्युनिकेसन इक्वीपमेन्ट तथा पार्टपूर्जा आयात भएको छ। यो शिर्षकको आयात गत वर्षको यस अवधिको तुलनामा साढे ४ प्रतिशत बढी हो।
आयातित बस्तुमध्ये नवौं स्थानमा हटरोल्ड क्वायल छ। यस आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ अर्ब १० करोडको क्वायल आयात भएको छ। गत वर्ष यस अवधिमा ९ अर्ब १६ करोडको आयात भएको थियो।
आयातित बस्तुमध्ये चामलले दशौं स्थान लिएको छ। पाँच महिनामा १० अर्ब ९९ करोडको चामल आयात भएको छ। गत वर्ष यस अवधिमा १३ अर्ब २२ करोडको आयात भएको थियो।
समीक्षा अवधिमा आयातित बस्तुमध्ये सुनको आयात सबैभन्दा उच्चदर ५२. ९ प्रतिशतले घटेको छ। आयातित बस्तुमध्ये कच्चा पामआयलको वृद्धिदर सबैभन्दा उच्च २०३ प्रतिशतले बढेको छ। जुन उच्च आयातको सूचीमा १३ औं स्थानमा परेको छ। कच्चा पामआयल प्रशोधित भई निर्यात हुने गरेको छ। निर्यातमा पामतेलको हिस्सा सबैभन्दा उच्च छ।