बन्द भएको तीन महिना पछि राइड सेयरका ठुला कम्पनी टुटल र पठाओले आफ्नो सेवा सुरु गरेका छन्।
स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि सेवा सुरू गरिएको टुटल र पठाओले जनाएको छ।
सार्वजनिक यातायात नचलेको अवस्थामा ग्राहकलाई सेवा दिन मात्र सेवा सुरु गरिएको टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए।
‘हामीले यात्रु शुल्क घटाएका छौ र यो महामारीको अवधिभर राइडरसँग कुनै पनि कमिसन लिदैंनौ। त्यस्तै हामीले राइडरलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएका छौं,’ भट्टले भने।
त्यस्तै पठाओले दैनिक ५० जना राइडरको दरले राइडरलाई अनुमती दिदै सेवा बढाइ रहेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन्।
‘हामीले राइडरलाई प्रोटेक्टिभ सुट अनिवार्य गरेका छौं। त्यसैले दिनमा ५० जनालाई बोलाएर सुट वितरण गछौं र उनीहरुलाई राइडको अनुमति दिन्छौ,’ उनले भनिन्।
पठाओले प्यासेन्जर र राइडरको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएको हमालको दावी छ।।
‘हामीले राइडरलाई प्रोटेक्टिभ सुट, २० ओटा मास्क। सेनिटाइजर दिएका छौ र प्रत्येक यात्रुलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने मापदण्ड बनाएका छौ। त्यस्तै केही दिनमा हामी मोटरसाइकल स्यानिटाइज गर्ने स्प्रे पनि राइडरलाई उपलब्ध गराउछौं,’ हमालले सेतोपाटीसँग भनिन्।
पठाओको कमिसन र शुल्कमा कुनै परिमार्जन नगरिएको हमालले जानकारी दिइन्।
टुटल–पठाओलाई जहाँ भेट्छौं, त्यहीँ कारबाही गर्छौं : ट्राफिक प्रहरी