जब जब सरकारी जग्गा अतिक्रमणको कुरा उठ्छ, बालुवाटार प्रकरण सबैको दिमागमा आउँछ।
र, जब जब बालुवाटार प्रकरणको कुरा उठ्छ, त्यसको छानबिन टोलीका संयोजक शारदाप्रसाद त्रिताललाई सबैले सम्झन्छन्।
त्यो यति ठूलो काण्ड थियो, जसमा त्रितालको अनुसन्धान प्रतिवेदनका आधारमा पूर्वमन्त्री र सचिवहरू सहित ५७ जनाविरूद्ध सरकारी जग्गा अपचलनको मुद्दा चलाइएको थियो।
आफ्नो ओहोदा दुरूपयोग गरेर राज्यस्रोत कुम्ल्याउनेहरूको विवरण पर्दाफास गरेको उक्त छानबिनमा त्रितालले आफ्नो साहस र इमानको राम्रो प्रदर्शन गरेका थिए। त्यही भएर आज पनि उनलाई चिन्नेहरू भन्छन्, 'उहाँ एकदमै असल हुनुहुन्छ, इमानदार हुनुहुन्छ। कसैलाई ठगी गरेको, चतुर्याइँ देखाएको हामीलाई थाहा छैन।'
तर आज ६७ वर्ष उमेरमा आएर उनलाई जिन्दगीले चतुर्याइँ गर्न सिकाएको छ। त्यो पनि 'गुइलेन–ब्यारे–सिन्ड्रोम' (जिबिएस) नामक रोगका कारण।
गत वर्ष साउन १० गते बिहान ओछ्यानबाट उठ्ने बेला उनको देब्रे खुट्टा झमझम गरेको थियो। एकछिन त लाग्यो — सुत्दाखेरी अप्ठ्यारो भएछ क्यार!
होइन रहेछ। एकछिनमा उनको खुट्टा टेक्नै नहुने भयो।
हेल्पिङ ह्यान्ड्स अस्पतालमा कार्यरत कान्छा छोराले उनलाई तुरून्त अस्पताल लिएर गए।
'अघिल्लो रातसम्म ठिकठाक मान्छे एक्कासि कसरी त्यस्तो भयो भनेर अचम्म परेँ,' उनले भने, 'आँखाले खुट्टा देख्छु, तर खुट्टा छ भन्ने अनुभव नै हुन्न। पूरै काठजस्तो भएको थियो मेरो खुट्टा।'
अस्पताल पुग्नेबित्तिकै त्रिताललाई इमर्जेन्सीमा भर्ना गरियो। अनेक परीक्षण गरिए। तर केही समस्या देखिएन।
अर्को रात अर्को खुट्टा पनि हल न चल भयो। भोलिपल्ट बिहानसम्म कम्मर पनि त्यस्तै। दिउँसो पूरा शरीर एमआरआई गरियो, तर कुनै रोग देखिएन।
अर्को दिन उनीहरू ह्याम्स अस्पताल गए। त्यहाँ पुगुन्जेल त्रितालका दुवै हात चल्न छाडिसकेका थिए। उनी देख्न र बोल्न मात्र सक्ने भए।
ह्याम्सका डाक्टरले पूरै लक्षण विश्लेषण गरे र रोग पत्ता लगाए।
त्रिताललाई 'जिबिएस' भएको रहेछ।

भएछ के भने, अघिल्लो दिन मात्र उनले इन्फ्लुएन्जाविरूद्ध खोप लगाएका थिए। रूघा लागेपछि उनलाई साता दिनभन्दा बढी सकस पर्थ्यो। त्यही भएर साथीहरूको सल्लाहमा खोप लिएका थिए। त्यसको भोलिपल्टैदेखि उनको शरीरलाई अर्को रोगले गाँज्यो। यही पृष्ठभूमि हेरेर डाक्टरहरूले जिबिएस नै हो भनेर ठम्याएका थिए।
'यो नबुझेकै रोग रहेछ। मैले आफैलाई भएपछि मात्र थाहा पाएँ। यो रोग बिस्तारै शरीरका विभिन्न अंगमा सर्दै जाने रहेछ। सर्दै सर्दै फोक्सोसम्म पुग्यो भने त ज्यादै गाह्रो हुने रहेछ,' त्रितालले आफूलाई लागेको रोगबारे विस्तार लगाउँदै भने, 'बिहान सलाइनबाट औषधि चलाएपछि शरीरका अन्य भागमा रोग सर्ने क्रम रोकियो। त्यसको भोलिपल्ट औषधिको थप दुई डोज दिएपछि मेरो हातखुट्टा पनि रहेछ भन्ने थाहा भयो, तर चल्न चाहिँ चलेनन्।'
काठझैं भएको उनको शरीर अरू कसैले फर्काइदियो भने मात्र फर्किन्थ्यो। हातखुट्टा कसैले उठाइदियो भने मात्र उठ्थ्यो। औंलाहरू कसैले चलाइदियो भने मात्र चल्थे।
'यो रोगको नराम्रो पक्ष भनेको खप्नै नसक्ने गरी दुख्थ्यो। जहाँ जहाँ त्यसले भेटेको छ, त्यहाँ त्यहाँ दुखेर कहिलेकाहीँ त बेहोसै हुन्छु कि जस्तो लाग्थ्यो। एकचोटि दुख्न थालेपछि सामान्य पेन किलरले कामै नगर्ने। मेरो दुखाइले छोरा र श्रीमतीले निकै दुःख पाए। मेरो स्याहारका लागि भनेर घरमा नर्स राखिएको थियो। म रातभर सुत्न नसकेर उनले पनि धेरै दुःख पाइन्,' त्रितालले भने, 'दुई महिना एकदमै दुखाइ सहनुपर्यो। त्यसपछि बिस्तारै सुधार भयो। दुखेको पनि कम भयो। हातखुटा पनि आफै पल्टाउनेसम्म भएँ।'
यो रोगले त्रितालको सक्रिय जीवनमा त असर गर्यो नै, मानसिक रूपमा पनि कमजोर बनायो, 'तैपनि मर्छु भन्ने ख्याल चाहिँ कहिल्यै आएन,' उनले भने।
'रोगले जति साह्रो सकस भए पनि मलाई छिट्टै मरिहाल्छु भन्ने कहिल्यै लाग्दैन। धेरै बाँच्छु भन्ने नै लाग्छ,' उनले हाँस्दै अगाडि भने, 'त्यसमाथि जिबिएस रोगबाट मान्छे मरेको तथ्यांक एकदम कम रहेछ।'
पछिल्लो एक वर्षयता उनलाई निकै सुधार आइसकेको छ। अहिले वाकरको सहायतामा घरभित्र हिँड्न सक्छन्। लुगा लगाउन, शौचालय जानदेखि हातले खान सक्छन्। औंलाहरूको पकड भने कमजोरै छन्। सबै औंला सिधा भएका छैनन्। फिजियोथेरापी गरिरहेकाले क्रमश: सुधार भइरहेको उनी बताउँछन्।
सोमबार कपनस्थित घरमा भेट्न जाँदा पनि उनी सिकिस्त बिरामीझैं खाटमा पल्टिएका थिएनन्। कुर्सीमा बसेर आफ्नै हातले खाँदै थिए।
शरीरका अरू अंगमा सुधार देखिँदै गए पनि देब्रे खुट्टा भने काठझैं हल न चल नै छ।
'जुन भागबाट रोग सुरू भयो, त्यो अन्तिममा निको हुन्छ रे। मेरो देब्रे खुट्टाबाट सुरू भएकाले दाहिनेभन्दा कमजोर छ। दाहिने खुट्टा मात्र टेकेर उभिन सक्छु तर देब्रेले सक्दिनँ,' उनले भने, 'यो रोगले मांसपेशी र हांगासरी छरिएका शरीरका स–साना नसालाई असर गर्ने रहेछ, जुन निको हुन निकै समय लाग्ने रहेछ।'
रोगले दिएको शारीरिक सास्तीबीच त्रितालले अचेल जीवनमा कहिल्यै नगरेको चतुर्याइँ सिकिरहेका छन्। त्यसबारे जान्नुअघि त्रितालले आफ्नो काममा देखाएको इमानको चर्चा गरौं।
शारदाप्रसाद त्रिताल पूर्वी पहाडी जिल्ला संखुवासभाका हुन्। एसएलसीपछि २०३५ सालतिर उनी काठमाडौं आए र रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता र अर्थशास्त्र पढे। स्नातकोत्तरसम्म पत्रकारिता पढेका उनले पढाइ सँगसँगै काम पनि खोज्न थाले।
उनले पहिलोपटक २०३७/३८ सालतिर कृषि विकास बैंकमा लेखापालको काम गरेका थिए। त्यसपछि लोकसेवामा खरिदार, नायब सुब्बा हुँदै अस्थायी शाखा अधिकृत भए। पढाइ बिग्रने डरले यी सबै काम बीचैमा छाडे। करिब सात–आठ महिना गोरखापत्र संस्थानमा उप–सम्पादक पनि भएका थिए।
'संस्थानको जागिर गर्दागर्दै लोकसेवाको स्थायी शाखा अधिकृतको परीक्षा पास भएँ,' उनले भने, 'सबैले संस्थानको भन्दा सरकारी जागिर नै सुरक्षित हुन्छ भनेपछि पत्रकारितामा रहर लाग्दालाग्दै सरकारी सेवामा यता आएँ।'
२०४३ सालमा स्थायी शाखा अधिकृत नियुक्त भएका उनले २०७३ मा सचिवका रूपमा अवकाश लिएका थिए।
यसबीच सुर्खेतमा क्षेत्रीय प्रशासक हुँदै राष्ट्रपति कार्यालय, योजना आयोग र निर्वाचन आयोगका सचिव भए। आखिरीमा सहकारी मन्त्रालयमा छँदा कार्यकाल नसकिँदै जागिर छाडे।
'त्यो बेला मेरो खुट्टाको लिगामेन्ट च्यात्तिएको थियो। तीन महिना आराम गर्नुपर्ने भयो। काममा असर पर्ने भएपछि अवकाशभन्दा तीन महिनाअघि नै जागिर छाडेँ,' उनले भने।

अस्थायी र स्थायी गरी करिब ३५ वर्ष सरकारी सेवामा बिताएर अवकाश लिएका त्रितालको कामप्रति आजसम्म कुनै पनि राजनीतिक वा प्रशासनिक नेतृत्वले औंला उठाएको छैन। उनले जोसँग काम गरे, तिनले प्रशंसा मात्र गरेका छन्। उनको कामप्रति निष्ठा, दक्षता र इमानको तारिफ गरेका छन्।
पूर्वसचिव त्रिताल 'राष्ट्रसेवक' पगरीको मान जोगाउने अब्बल कर्मचारीमध्ये एक हुन् भनेर उनलाई चिन्नेहरू भन्छन्।
त्रितालले आफ्नो करिअरमा अनेकौं निर्णय गरे। निर्णयलाई कार्यान्वयनमा लगे। तीमध्ये निर्वाचन आयोगमा छँदा २०७० सालको दोस्रो संविधानसभा चुनावका लागि फोटोसहितको मतदाता नामावली ल्याउनु आफ्नो सबभन्दा राम्रो काम थियो भन्ने उनलाई लाग्छ।
त्यसअघि चुनाव हुँदा एकै व्यक्तिले मतदाता अधिकृतलाई झुक्क्याएर फरक फरक बुथमा भोट हाल्ने प्रवृत्ति थियो। त्यसले चुनावको परिणाममै असर पार्थ्यो। फोटोसहितको परिचयपत्र लागू भएपछि त्यो समस्या सामाधान भएको उनी बताउँछन्।
'त्यसका लागि जनतालाई भन्दा सरकारी ओहोदाका मानिसलाई मनाउन समय लाग्यो,' उनले भने, '२०६६ चैतमा सुरू भएको काम २०६९ तिर पूरा भयो।'
उनका अनुसार अहिलेको मधेस प्रदेश जाँदा त्यहाँका प्रतिनिधिले 'फोटोसहितको मतदाता नामावलीमा समावेश हुन्नौं' भनेका थिए। पूर्वमा जनजातिहरूले पनि विरोध गरे। तर त्रितालको टोलीले हार मानेन। उनीहरूले जिल्ला–जिल्ला गएर फोटोसहितको मतदाता नामावली हुनुको फाइदा बताए। नमूना देखाए। त्यसपछि बल्ल मानिसहरू जिल्ला प्रशासन र निर्वाचन कार्यालय गएर नाम दर्ता गर्न थाले। फोटोसहितको मतदाता परिचयपत्र बनाए।
'सरकारी निकायले विरोध गर्दागर्दै जनता नै अग्रसर भएपछि काम सफल भयो,' त्रितालले भने, '२०७० को चुनावमा सबैले फोटोसहितको परिचयपत्र देखाएरै भोट हाले।'
त्रितालले आफूले गरेका कामको कहिल्यै जस खोजेनन्। महत्त्वपूर्ण निकायको नेतृत्वमा रहे पनि प्राय: मिडियाबाट टाढै बस्न रूचाए।
२०७५ सालमा भने उनी एक यस्तो भ्रष्टाचार काण्ड छानबिनमा जोडिए, जसले करिअरभरि गुमनाम रहेका त्रिताललाई चर्चाको शिखरमा पुर्याइदियो।
त्यो हो, बालुवाटारको ११३ रोपनी सरकारी जग्गा भू–माफियाहरूले आफ्नो नाममा पारेको घटना। उक्त घटना पर्दाफास गर्नमा त्रितालको अहम् भूमिका थियो।
त्यति बेला बालुवाटारको सरकारी जग्गा अपचलनमा छानबिन गर्न सरकारलाई एक सक्षम, निडर र इमानी मानिसको खाँचो थियो। छलफलमा पूर्वसचिव त्रितालको नाम आयो। उनी सरकारी जीवनबाट अवकाश लिएर बसेका थिए।
तत्कालीन गृहसचिव प्रेमकुमार राईले उनलाई सोधे, 'तपाईंले मात्र गर्न सक्ने एउटा काम छ। सहयोग गर्नुपर्यो।'
त्रिताल जिस्किए, 'मैले मात्र गर्न सक्ने काम भएपछि कसरी नाइँ भन्नु!'
प्रधानमन्त्री केपी ओलीलाई पनि राईले त्रितालकै नाम सुझाए। उनी तुरून्तै राजी भए।
त्रितालले समितिमा आफूले रोजेका मानिस राख्न पाउनुपर्ने सर्त राखे। राई त्यसमा मञ्जुर नहुने कुरै थिएन।
त्यसपछि त्रितालले निजामती सेवामा आफ्नै ब्याचका पूर्व सहसचिव महेन्द्रकुमार थापालाई सदस्य चुने। समितिका सदस्य–सचिव नियुक्त भए, उपसचिव गणेश आचार्य। समितिलाई सहयोग गर्न दुई जना अधिकृत पनि थपिए।
काम सजिलो थिएन। सरकारी कार्यालयमा कागजात भद्रगोल थिए। कतिपय महत्त्वपूर्ण कागजात नै थिएनन्। सबभन्दा महत्त्वपूर्ण प्रश्न थियो — सुवर्णशमसेरका परिवारको जग्गा पञ्चायतले क्षतिपूर्ति दिएर अधिग्रहण गरेको हो वा जफत गरेको हो?
अधिग्रहण गर्ने सूचना प्रकाशित भएको २०२१ सालको राजपत्र हेर्न समिति मुद्रण विभाग पुग्यो। अचम्म के भने, २०२१ सालको त्यही राजपत्र गायब थियो!
त्यतिखेर क्षतिपूर्ति अञ्चलाधीश कार्यालयले दिने गर्थ्यो। समितिले बागमती अञ्चलाधीश कार्यालयको रेकर्ड खोज्यो। २०४६ सालको जनआन्दोलनमा रानीपोखरीस्थित अञ्चलाधीश कार्यालयमा आगो लाग्दा सबै कागजपत्र जलेका थिए।
क्षतिपूर्तिको रेकर्ड खोज्न समितिका सदस्य गृह मन्त्रालय पुगे। कागजात धुल्याउँदा ती महत्त्वपूर्ण दस्तावेज पनि नष्ट भएको जानकारी गृहले दियो।
सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्न प्रमुख भूमिका खेल्ने डिल्लीबजार मालपोत कार्यालयको हालत उस्तै थियो। अपचलन भएको ११३ रोपनी सरकारी जग्गाका १०२४ र १०२५ नम्बरका मूल मिसिल नै गायब थिए। तै समितिले हार मानेन।
पुराना राजपत्रहरू मदन पुरस्कार पुस्तकालयले 'माइक्रो फिल्म' बनाएर राखेको छ भन्ने समितिलाई थाहा थियो। पुस्तकालयमा अधिग्रहणको सूचना निस्केको राजपत्र उनीहरूले भेटे।
त्यसपछि पुराना गोरखापत्रमा खोज्दा 'क्षतिपूर्ति लिन आउनू' भन्ने सूचना प्रकाशित भएको उनीहरूले फेला पारे। यसरी २०२१ सालमा सरकारले क्षतिपूर्ति दिएर सुवर्णशमसेरका परिवारको सम्पत्ति जग्गा प्राप्ति ऐन २०१८ अनुसार अधिग्रहण गरेको पुष्टि भयो।
सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरेको जग्गा कुनै पनि बहानामा फेरि व्यक्तिका नाममा पुग्नुपर्ने कुनै कानुनी बाटो थिएन। तर धेरैजसो जग्गा व्यक्तिकै नाममा सरिसकेका थिए।

समितिले महिनौं लगाएर डिल्लीबजार मालपोतले गरेका एक–एक बदमासी खोतल्यो।
जग्गा अपचलन गर्नेहरूले समितिलाई प्रभावित पार्न कोसिस गरे। भेटका लागि सन्देश पठाए। त्रिताल समितिले भने कसैसँग भेट्नै मानेन। पाँच महिनाको अनुसन्धानपछि पुस २६ गते त्रितालले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन पेस गरे।
यही प्रतिवेदनका आधारमा थप अनुसन्धान गरेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारमा प्रकरणमा जोडिएका थुप्रै व्यक्तिलाई मुद्दा चलायो। तत्कालीन उपप्रधान तथा भौतिक योजना मन्त्री विजय गच्छदार, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, तत्कालीन सचिव दीप बस्न्यात लगायत ५७ जना सरकारी कर्मचारीविरूद्ध मुद्दा परेका थिए।
त्रिताल यो काममा आफ्नोभन्दा तत्कालीन गृहसचिव प्रेमकुमार राईकै प्रमुख भूमिका रहेको बताउँछन्।
'उहाँ गृहसचिव हुनुहुन्थेन भने त्यो समिति गठन हुँदैनथ्यो। धेरै वर्षदेखि उजुरी हाल्दै आउनुभएका वकिल युवराज कोइरालाको हात उत्तिकै छ। गृह मन्त्रालयले छानबिन गर्ने भनेर २०४७ सालमै निर्णय गरे पनि नगरेको भनेर कोइरालाले झकझकाउनुभयो,' त्रितालले भने, 'तर प्रेमकुमारजी नहुनुभएको भए कसैले निवेदन दिँदैमा केही हुँदैनथ्यो। उहाँ प्रधानमन्त्रीसँग नजिक भएकाले देशका लागि राम्रो भयो।'
यो प्रकरणले देशभरका सरकारी तथा सार्वजनिक जग्गाबारे हलचल ल्यायो। अन्य जग्गाबारे पनि छानबिन र खोजी हुन थाल्यो। नभए सरकारी जग्गा हडपेको खबर बिरलै बाहिर आउँथ्यो।
'बालुवाटार घटनाले देशभरि धेरै सरकारी तथा सार्वजनिक जग्गाहरू व्यक्तिको नाममा पारिँदै रहेछ भन्ने उदाहरण दियो। प्रधानमन्त्री निवास, सभामुख निवासदेखि प्रधानन्यायाधीश निवास त यसरी लुट्छन् भने देशभर के होला भन्ने मान्छेलाई पर्यो,' उनले भने, 'अहिले पनि देशभर सरकारी र सार्वजनिक जग्गाको बेहाल अवस्था छ। शक्तिशाली आयोग गठन गरेर हेर्ने हो भने हजारौं हजार बिघा जग्गा व्यक्तिको नाममा गएको फेला पर्न सक्छ।'
उनले अगाडि भने, 'पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा एउटा न्यायिक आयोग गठन भएको थियो। त्यसले पनि ३२–३३ ठाउँको जग्गा हिनामिना भएको रिपोर्ट दिएको थियो। त्यसमा अहिलेसम्म कारबाही भएको छैन। त्यो आयोगलाई पनि एक वर्षभन्दा म्याद थपिएन।'
त्रितालले प्रेमकुमार राईलाई बालुवाटार प्रकरणमा मात्र होइन, सानैदेखि चिनेका हुन्। उनीहरू एउटै गाउँ संखुवासभामा जन्मे–हुर्केका हुन्। राईको पुर्ख्यौली थलोसम्म पुग्न त्रिताललाई एक दिन लाग्थ्यो। उनीहरू स्कुलका कार्यक्रममा कहिलेकाहीँ भेट्थे। पछि कृषि विकास बैंकमा सँगै नियुक्ति पाए, तर कामले पढाइलाई असर पर्ने भएपछि दुवैले जागिर छाडे। अन्य कामले भने उनीहरूलाई जोडिरह्यो।
अहिले राई अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख छन्। वाइडबडी विमान खरिद प्रक्रियामा उनलाई भ्रष्टाचारको आरोप लागेको छ।
कहिलेकाहीँ कर्मचारीको चरित्र राम्रो हुँदाहुँदै सरकारी काममा फस्नसक्ने त्रितालको भनाइ छ। उनले आफ्नै एउटा उदाहरण दिए।
एकपटक उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोर्ड सदस्य थिए। उनलाई काठमाडौं बाहिर जानुपर्ने थियो। त्यसअघि विमानसम्बन्धी छलफलमा उनले 'नियमावली अनुसार काम गर्दा हुन्छ' भनेर सहमति जनाएका थिए।
'दुई दिनपछि म काठमाडौं फर्किएँ। कागजातमा सचिव लगायत ठूला पदका मानिसले सही गरिसकेका थिए। मैले पनि सही गर्न लागेको थिएँ। तर एकपटक पढौं न त भन्दा उपनियम २ हुनुपर्नेमा १ लेखिएको रहेछ। उपनियम २ ले जहाज मर्मत गर्दा खरिद नियमावली अनुसार सबै प्रक्रिया पुर्याउनुपर्ने भन्थ्यो भने उपनियम १ ले प्रबन्ध निर्देशकसँग कुरा गरेर तोक्ने भन्ने थियो। त्यस्तो फट्याइँ पनि गर्छन् कर्मचारीहरूले,' त्रितालले भने, 'मैले आँखा चिम्लिएर सही गरेको भए फस्थेँ होला। कहिले हतार त कहिले विश्वासमा काम गर्दा मेरा धेरै साथी आफूले गल्ती नगर्दा पनि फसेको देखेको छु।'

त्रिताललाई लाग्छ — उनले जानेर गलत ठाउँमा कहिल्यै सही गरेनन्। सरकार र जनताको सम्पत्ति एक पैसा तलमाथि हुन दिएनन्। ऐन–कानुनभन्दा बाहिर कहिल्यै गएनन्। कसैको दबाब–प्रभावमा परेनन्। सकेसम्म भइरहेका गलत काम सुधार गर्न हरदम प्रयास गरे।
'मेरो जीवनको मुख्य ध्येय नै सकभर इमानदार भइराखौं भन्ने हो। यो स्वभाव सानैदेखि थियो। यसमा बुबाको अहम् भूमिका छ,' उनले भने, 'मेरो बुबाले जहिलेसुकै इमानदार हुनुपर्छ भन्नुहुन्थ्यो। फट्याइँ गरेर कमाएको सम्पत्ति स्थायी हुन्न र त्यसको महत्त्व पनि हुन्न भनेर भनिरहनुहुन्थ्यो। जागिर पनि नराम्रो नखानू भन्नुहुन्थ्यो। मैले यसैलाई आफ्नो जीवनको मूलमन्त्र बनाएँ। आफ्ना दुई जना छोरालाई पनि यही पाठ सिकाइरहेको छु।'
तर मानिस जति असल छ, उसलाई फसाउन उत्तिकै प्रयास हुन्छ भन्ने त्रितालले बुझेका छन्। यति हुँदाहुँदै उनी फस्न त फसेनन्, तर आफ्नो कार्यकालमा धेरै अवसर गुमाएको उनले महसुस गरेका छन्।
'राम्रो तालिम वा विदेश भ्रमणमा जाने अवसर धुर्तहरूले पाउँथे,' उनले भने, 'म माथिल्लो तहसम्म पुग्दा पनि ज्यादै कम विदेश जानेमा पर्छु। त्यो अवसर अरूले नै लिइसकेका हुन्थे। पुरस्कार थाप्नेमा पनि म एकदमै पछाडि पर्छु।'
उनी आफ्नो सबभन्दा मूल्यवान कमाइ इमानदारीलाई मान्छन्।
'यो यस्तो कमाइ हो, जसले मानिसहरू अवकाशपछि पनि मलाई सम्झिरहेका छन्,' उनले भने, 'बालुवाटारको जग्गासम्बन्धी कामपछि मैले अख्तियारमा भ्रष्टाचारबारे विभिन्न अध्ययन गर्ने अवसर पाएँ। कसरी अख्तियारलाई बलियो बनाउने, कर्मचारीलाई कसरी स्वच्छ राख्ने भन्नेमा पनि धेरै काम गरेँ।'
सामान्य प्रशासन मन्त्रालयले निजामती सेवाको दीर्घकालीन नीति बनाउने जिम्मा पनि उनैलाई दिएको थियो। कार्यान्वयनमा भने नआएको उनी बताउँछन्।
बालुवाटारको जग्गा छानबिनमा पाएको सफलताले उनलाई त्रिभुवन विश्वविद्यालयको जग्गा अनियमितता छानबिनसँग पनि जोडेको थियो। जिबिएस रोग लाग्नुभन्दा डेढ महिनाअघि उनी त्यसैको अध्ययन गर्दै थिए। विश्वविद्यालयको करिब ३ हजार ७ सय रोपनी जग्गामध्ये करिब १ हजार रोपनी जग्गामा अनियमितता भएको थियो।
तीन महिनाको उक्त अध्ययनमा त्रिताल संयोजक थिए। बिरामी भएपछि उनी आफैले अर्को संयोजक तोक्न शिक्षा मन्त्रालयका सचिवलाई फोन गरे।
'उहाँले समूहकै सदस्य महेन्द्र थापालाई संयोजक बनाएर मन्त्रिपरिषदलाई जिम्मा दिनुभयो। थप तीन महिना म्याद थपिएछ। उहाँहरूले ६ महिना काम गरेर प्रधानमन्त्रीलाई रिपोर्ट बुझाउनुभएको छ। समाचारमा आउँदा त्यो प्रतिवेदन कता गयो थाहा छैन भन्ने कुरा पनि आएको थियो। तर कतै जाने भन्ने नै हुन्न। प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन कतै होला वा कसैले होल्ड गरेर राखेको होला,' उनले भने, 'विश्वविद्यालयको काम एकदम महत्त्वपूर्ण थियो। हामीले डेढ महिना काम गर्दा नै त्यहाँका धेरै जग्गा–जमिन अतिक्रमण भएका कागजात भेटेका थियौं। डेढ महिनामा के—के हेर्नुपर्छ भनेर स्केच बनाएका थियौं। तर म आफ्नै समस्यामा भुलेँ।'
आफ्नो समस्यामा भुल्दाभुल्दै त्रितालले जीवनमै नगरेको चतुर्याइँ गर्न पनि सिके।
उनको शरीरमा अब राम्ररी चल्न बाँकी भाग देब्रे खुट्टा हो। त्यो खुट्टा अलि सुस्त छ। खुट्टा पसार्नुपर्यो भने दाहिनेले ठेलेर मात्र सक्छन्। भर्याङ झर्न सिक्दै छन्। त्यसमा पनि दाहिनेले नै सहायता गर्नुपर्छ।
त्यो देखेर कान्छो छोराले त्रिताललाई बेला बेला जिस्क्याउने गर्छन्, 'कहिले चिटिङ नगर्ने बाबाले योपटक दाहिनेले देब्रेलाई सारेर चिटिङ पनि गर्नुपर्यो।'
उनका कान्छा छोरा हेल्पिङ ह्यान्ड अस्पतालमा कम्प्युटरसम्बन्धी काम गर्छन्। ठूलो छोरा अमेरिकामा इलेक्ट्रिकल इन्जिनियर छन्। उनीहरूले पनि जीवनमा असल मान्छे बन्नुपर्छ भन्ने गुण बुबासँग सिकेका छन्।

शारीरिक समस्याकै कुरा गर्दा इन्फ्लुएन्जाको खोप लगाएयता त्रिताललाई रूघाले पहिलेजसरी सताएको छैन। खोपको असर सकिएर होला केही साताअघि दुई दिनजति रूघाखोकी लागेको थियो। तर अब लामो समय नै रूघाखोकीले सतायो भने पनि इन्फ्लुएन्जाको खोप नलगाउने उनी बताउँछन्।
'मैले मात्र होइन, मेरो परिवारको कुनै सदस्यले यो खोप लगाउँदैन। रूघाखोकी त सामान्य कुरा हो नि। यत्रो समय जिबिएसले दुःख पाइयो, अब त्यो रिस्क लिन सकिन्न,' उनले भने, 'केही दिनअघि मैले सामाजिक सञ्जालमा मेरो रोगबारे पोस्ट राखेको थिएँ। कोही साथीहरूले खोप लगाइरहनुभएको रहेछ। उहाँहरू पनि तर्सिएर अब नलगाउने भनेर कमेन्ट गर्नुभएको छ।'
त्रितालले जिबिएसबारे थप जानकारी दिँदै भने, 'त्यो खोप लगाएका १० लाखमध्ये एक जनालाई जिबिएस हुनसक्छ भन्ने अनुसन्धानबाट देखिएको रहेछ। इम्युन सिस्टम (रोग प्रतिरोधात्मक शक्ति) कम भएको मानिसलाई जिबिएसले आक्रमण गर्ने रहेछ। धेरै कडा ज्वरो आयो र कमजोर बनायो भने पनि यसले भेट्न सक्छ रे। झाडापखाला लागेर एकदम कडा औषधि खानुपर्यो भने पनि यसले भेट्न सक्ने रहेछ। कुनै पनि कारणले मान्छे एकदम कमजोर भएको छ भने यसको असर हुने रहेछ। मेरो त्यो बेला कुनै समस्या त थिएन, तैपनि यसले समात्यो।'
रोग पूर्ण रूपमा निको भइदिए त्रिताललाई भ्रष्टाचार, कुशासनबाट बाहिर आउन के गर्नुपर्छ भन्नेबारे अभियान चलाउने र यस्ता अभियानमा सहयोग गर्न मन छ। प्रशासनिक परिपाटीबारे जानकारी गराउन र छलफल गर्न मन छ। तर कुनै पद लिएर, जिम्मा लिएर काम गर्न अब उनलाई इच्छा छैन।
भन्छन्, 'अब त जीवन आनन्दसँग बिताउने हो। मेरो लागि आनन्द भनेकै आफ्नो हैसियतअनुसार घुमफिर गर्ने, अध्ययन गर्ने, परिवारसँग बस्ने, रमाउने र आफन्तहरूसँग भेटघाट गर्ने हो। जागिर गरूञ्जेल त्यसरी भेटघाट गर्न फुर्सत हुन्नथ्यो। अबको फुर्सतमा आफ्नाहरूका लागि समय निकाल्न मन छ। सबभन्दा पहिला त पूर्ण रूपमा निको हुनु नै छ।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***