शशीधर घरबाट निस्केपछि रमी पछि लागिहाल्थ्यो।
२०७३ साउन ६ गते उनले रमीलाई ५ हजार ७०० रूपैयाँमा काठमाडौंबाट किनेर दाङको तुलुसीपुर उपमहानगरपालिका-१७ मानपुरस्थित आफ्नो घर लगेका थिए।
सेतो रङको थियो ऊ।
सानो, हेर्दा चिटिक्क र मायालु थियो।
शशीधरले त्यतिबेलै उसको नाम रमी राखिदिएका थिए।
समय बित्दै जाँदा रमी कुकुर मात्रै थिएन, पौडेल परिवारको सदस्य समेत भइसकेको थियो।
शशी रमीलाई औधी माया गर्थे। ऊ पनि शशीधरलाई त्यति नै चाहन्थ्यो।
शशी बाहिर निस्कन लाग्दा ऊ पछि लाग्थ्यो।
मोटरसाइकलको आवाज सुनेपछि ऊ घरको जुन कुनामा रहे पनि दौडिँदै आउँथ्यो र शशीधर बसेको मोटरसाइकलमा चढिहाल्थ्यो।
९ वर्षको अवधीमा यी दुईबीचको सम्बन्ध अत्यन्त घनिष्ट बनेको थियो।
रमी अत्यन्तै बफादार थियो।
घर कुरेर बस्नू भनेपछि रमी काहीँ जाँदैनथ्यो। ऊसलाई घरमा छाडेर घरको ढोका उदाङ्गै राखे पनि सबै सामान सुरक्षित हुन्थे। केही हराउँदैनथ्यो।
रमीले छिमेकमा अहिलेसम्म कसैको बिराम गरेको पनि थिएन। कसैबाट उसको विषयमा 'शिकायत' पनि आएको थिएन।
तर ९ दिनअघि रमी एकाएक हरायो।
साउन ६ गतेको बिहानीपख।
शशीधर घरबाट बाहिर निस्कँदै थिए। रमी पछि लागीहाल्यो। अब ऊ सँगै नगइ छाड्दैनथ्यो।
शशीधरले ऊसलाई आफ्नो मोटरसाइकलमा राखे र वडा-१६ कै लालपुर गाउँमा एक चक्कर मारेर घर फर्किए। त्यतिबेला बिहानको ८ बजेको थियो।
फर्केपछि रमीलाई घरमै छाडेर शशीधर फेरि बाहिर निस्किए। केहि अगाडि पुगेपछि पनि उनले पछाडि फर्केर हेरेका थिए। यसपालि रमी पछि लागेको थिएन। उनी बनकट्टातिर हुँइकिएका थिए।
केही बेरमा घर फर्कँदा शशीधरले रमीलाई देखेनन्। घरको कुनाकुना खोजे, बोलाए। रमी आउँदै आएन। छिमेकीको घरतिर हेरे, त्यहाँ पनि थिएन ऊ।
त्यसपछि केही परसम्म खोज्न गए।
बिहान शशीधर निस्केको केही बेरपछि रमी पनि त्यही बाटो पछ्याउँदै गएको गाउँलेबाट सुने। बिहान शशीधर निस्कँदा उसले फर्केर पनि हेरेरका थिए। त्यतिबेला रमी पछि लागेको थिएन। शायद केही पर पुगेपछि पछि लागेको थियो।
शशीधर आँत्तिएका थिए। बाटोमा नहर नजिकै घाँसहरूमा रगत लतपतिएको देखे। केही पर आहाल नै बनेको थियो रगतको। त्यहाँका घासहरू माडिएका थिए। उनको होस् हरायो।
खोज्ने क्रममा गाउँकै भुस्याहा कुकुरको झुन्डले रमीमाथि आक्रमण गरेको पनि सुनेका थिए शशीधरले। नहर नजिक सडकका घाँसहरू रगतमा डुबेको देखेपछि शशीधरको आँतमा चिसो पस्यो।
रमी नहरमै पर्यो कि भन्ने दिमागले लख काट्यो। धेरै खोज्दा पनि नभेटिएपछि शशीधरले रमी मारिएको ठाने। त्यही साँझ कपाल मुण्डन गरे र नुन छाडे। सेतो बस्त्र धारण गरे र किरिया सुरू गरे।
खोजी भने भोलिपल्ट पनि गरिरहे।
१० गते त पूर्ववडाध्यक्ष हरि पौडेललाई लिएर ‘रमीको खोजी गर्न वडा नं. १५ र १७ को सीमाना पहरुवा गाउँसम्म पुगे तर भेटिएन। रमीको मृत शरीर मात्रै भए पनि भेट्न चाहन्छन् शशीधर।
बुधबार रमीको बितेको नवौं दिनमा शशीधरले नुन खाए।
घरमा समवेदना कार्यक्रम पनि राखिएको थियो। शशीधर वडासदस्य पनि हुन्। छिमेकी र अरू जनप्रतिनिधि पनि उपस्थित भएर शशीधरप्रति समवेदना व्यक्त गरेका थिए।
शशीधरले छोटो मन्तव्य राखे। उनी कम बोले। धेरै रोए।
‘म बाहिर जाँदा बाबु घरमा थपक्क बसेर कसैलाई आउन नदिएस भनेपछि मैले यो घरमा ढोका नलगाएर गए पनि घरमा कसैलाई आउन दिँदैनथ्यो। त्यस्ले कसैको पनि कहिलै हानी नोक्सानी र बिगार गरेन,’ शशीधरले भने।
उसको अनुपस्थितीमा घर शून्य महसुस भएको उनले बताए।
‘रमीले घर छोडेको दिनबाट यो घरमा के हरायो, के छैन , खाना खाइयो कि खाइएन ? भन्ने कुराको अनुभूति पनि हराएको छ,’ उनले भने।
गाउँकै भुसिया कुकुरको आक्रमणमा परी रमीको मृत्यु भएको आफ्नो अनुमान रहेको उनले बताए।
ढोकानजिक रहेकी शशीधरकी श्रीमती सुशीला पनि श्रीमानको कुरा सुनेपछि भक्कानिइन्।
वडाध्यक्ष थलराज पुरीले शशीधरले आफूले पालेको कुकुरलाई असाध्यै प्रेम गर्ने गरेको बताए। उनले रमी अत्यन्त बफादार कुकुर रहेको पनि बताए।
'मान्छे कोही नभएको बेला म शशीधर भाइलाई खोज्न जाँदा भित्र प्रबेश नै गर्न दिँदैन थियो,’ अध्यक्ष पुरीले भने ‘ तर, कहिलै टोक्दैनथ्यो। निकै ज्ञानी थियो।’
९ वर्ष पालेको कुकुरसँगको सामिप्यता बढेर परिवारको सदस्यसरह बन्नु स्वाभाविक रहेको पनि वडाध्यक्ष पुरीले भने।
शशीधरले कपाल मुन्डन गरेको कारण सोध्दा मात्रै रमीको मृत्यु भएको आफूले थाहा पाएको वडाध्यक्ष पुरीले बताए।
वडाध्यक्ष पुरीले बुधबार बिहान १२देखि १५ जना मानिसहरु शशीधरको घरमा जम्मा भएर मरेको भनिएको कुकुरप्रति श्रद्धाञ्जली व्यक्त गरिएको बताए ।
मानपुरमा शशीधर र उनकी श्रीमतीमात्रै बस्छन्। छोरा दुबईमा र छोरी काठमाडौंमा छन्।
रमी ल्याएपछि श्रीमान-श्रीमतीकै साथी भएको थियो ऊ।
'कहिलेकाहिँ उसको विषयमा म र श्रीमतीबीच विवाद पनि हुन्थ्यो। म सुत्ने बेडमा उक्लिन्थ्यो। सिरानीमै बस्थ्यो। ऊसले त्यस्तो गर्दा सुशीला कराउँथिन्। म नकराऊ भन्थेँ। त्यसमै भनाभन हुन्थ्यो। अहिले ऊसलाई गुमाउँदा परिवारकै सदस्य गुमाएको महसुस भएको छ,' शशीधरले भने।