हामी हुर्किएको त्यो गाउँले परिवेश
जहाँ भौतिकताभन्दा बढी मौलिकता थियो
न सहज बाटो, न बिजुली बत्ती, न सजिलो यात्रा
न सुसज्जित भवन, न सजिएको शैक्षिक संरचना
तर पनि थियो— सपना देख्ने आँखा
र ज्ञान प्यासको अन्तहीन यात्रा।
माटो, ढुंगा र खरले बनेका ती बेढंगका जस्ता घरहरू—
हाम्रा पहिलो औपचारिक ज्ञान हासिल गर्ने स्थल
जहाँ पाठशालाको परिभाषा थियो–
केवल एक साँघुरो कोठा, केही थान चक र कालोपाटी
केही थान परिचित र अर्धपरिचित गुरुहरू
अनि अपरिभाषित तर ज्ञान आर्जनमा क्रियाशील विद्यार्थीहरू।
न खेलमैदान, न पुस्तकालय
न शौचालय, न विश्राम कक्ष
न प्रयोगशाला, न प्रविधिमा पहुँच
तर पनि हाम्रा पाइला अड्किँदैनथे
हामी जान्थ्यौँ— सपना बोकेर पाठशालातिर।
शिक्षक थिए— आदेशदाता र अनुशासनका प्रतीक
उनीहरूको स्वरले गुन्जिन्थ्यो–
‘पढ, घोक, लेख, सम्झ, कण्ठ गर।’
दिनहुँ उस्तै उस्तै पुनरावृत्ति, उस्तै पद्धति, उही लय
तर त्यो लयभित्र लुकेको थियो
केही सिकाउने साहस र आत्मविश्वास।
शिक्षकको मार्ग निर्देशन, हाम्रो अनुशासन
स्रोतविहीन परिवेश, तर ज्ञानप्रतिको उत्कण्ठा चाह
पढ्न सिक्नु केवल परीक्षाको निम्ति थियो
तर जीवन बुझ्ने पहिलो प्रयास पनि
त्यहीँबाट सुरु भएको थियो हाम्रो।
हामी न त त्यो विगत भुल्न सक्छौ
न त त्यसलाई नकार्न चाहन्छौँ–
त्यो त हाम्रो सिकाइ यात्राको पहिलो अध्याय थियो।
तर आज— बदलिएको छ समय
र समयसँगै बदलिनुपर्छ हामी शिक्षक
के हामी बद्लियौँ त?
बद्लिने प्रयत्न गर्यौँ त?
के हाम्रो दृष्टिकोण अझै किताबी ज्ञानमा नै सीमित छ?
के हाम्रा पाठहरू आजका परिवर्तित बालबालिकासँग मेल खान्छन्?
सूचना प्रविधिको लहरले खोलिदिएको छ ज्ञानको अर्को ढोका
अब सिंगो संसार नै भएको छ सिक्ने र सिकाउने पाठशाला
शिक्षक अब मात्र निर्देशन दिने होइन–
मार्गदर्शक साथी हुनुपर्छ
विद्यार्थीहरू अब खाली दिमागयुक्त पात्र होइनन्, हुन सक्दैनन्
उनीहरू छन् खोजकर्ता, सृजनशील विचारक।
आज शिक्षणको संरचना स्टिम, परियोजना–आधारित
अन्वेषणमुखी र समस्या समाधानमा केन्द्रित छ–
केवल के? कहाँ? कहिले? भन्ने उत्तरले पुग्दैन
अब किन? कसरी? भनेर खोज्ने चेत आवश्यक छ।
हामीले हाम्रो शिक्षणको शैली बदल्नु पर्छ–
कसैको अनुकरण होइन
आफ्नो परिवेश अनुरूप शिक्षाको नवीन पद्धति अपनाउनु पर्छ
विद्यार्थीको प्रतिभा, रुचि,र जीवनसँगै जोडिएका सन्दर्भहरू
हाम्रो पाठ्यक्रमको मूल आधार बन्नुपर्छ
हाम्रा शिक्षण सिकाइ सिकारु सापेक्ष हुनुपर्छ, समय सापेक्ष हुनुपर्छ।
हामी शिक्षक— अब ज्ञानको व्याख्याता मात्र होइन
सहकार्यको सूत्रधार बन्नुपर्छ
हामीले सिकाउनु पर्छ
नैतिकता, समवेदना, आत्मालोचना र सामाजिक उत्तरदायित्व
जिन्दगीका सम्भावित जोखिम र सामनाका उपायहरू
अनि ज्ञान सिपसँगै जीवन जिउने कला।
हामीले बुझ्नु पर्छ, बुझ्नै पर्छ–
शिक्षण अब केवल कक्षाकोठाको
परिवेशमा मात्र कैद हुन सक्दैन, हुँदैन
समाज, प्रकृति, प्रविधि–सबै ज्ञानका स्रोत हुन्
र शिक्षण सिकाइको माध्यम पनि।
विद्यालय अब सिकाइको अन्तिम गन्तव्य होइन
ज्ञानका अनन्त यात्रा आरम्भ गर्ने प्रारम्भिक थलो मात्र हो
र, शिक्षण अब केवल ज्ञान बाँड्ने विषय मात्र होइन
ज्ञान निर्माण, साझेदारी तथा दृष्टिकोण रूपान्तरण हो–
सम्बन्धमा, सोचमा, अनुभूतिमा र व्यवहारमा।
अब केवल शिक्षक मात्र होइन
अभिभावक, समुदाय र राज्य
सबैको उत्तरदायित्व हो शिक्षा र शिक्षणको भविष्य
हाम्रा विद्यार्थी अब कुनै पूर्वनिर्धारित ज्ञानको सीमित क्षेत्रमा होइन
विश्व मञ्चमा उभिन सक्ने बन्नुपर्छ
र हामी शिक्षक— त्यस यात्राका सारथि बन्नु आवश्यक छ।
आउनुहोस्, शिक्षण सिकाइको रूपान्तरणका लागि हामी उठौँ–
पाठ्यक्रमलाई सिकारुको जीवनसँग जोडौँ
पढाइलाई पाठ्यपुस्तकभन्दा बाहिर ल्याऊँ
सपना देख्ने आँखा र पूरा गर्न सक्ने आत्मविश्वास सिर्जना गरौँ
२१औँ शताब्दीका बालबालिकालाई
सपना देख्न, सोच्न, सिर्जना गर्न
सजिलो, सजीव र सन्दर्भयुक्त सिकाइमा उक्साऔँ
सिकारुको दैनिकीसँगै जोडौँ पाठ्यक्रम र विषयवस्तुलाई
र हुन्छ शिक्षण सिकाइमा हामीले खोजेको रूपान्तरण।