नेपालबाट तयारी सिमेन्टको निर्यात लगातार चौथो वर्ष पनि बढेको छ।
यो बीचमा केही समय भारतीय गुणस्तर चिह्न नवीकरणको कारण निर्यातमा केही अवरोध भए पनि चालु आर्थिक वर्षमा पनि सिमेन्टको निर्यात बढेको छ।
उत्पादकहरूका अनुसार भारतीय बजारमा नेपाली सिमेन्टको माग क्रमशः बढ्दै गएको छ।
उद्योगीहरूले सिमेन्ट उत्पादनको प्रमुख आधार सामग्री (क्लिंकर) को निर्यात क्रमशः कम गर्दै तयारी सिमेन्टको निर्यात बढाइरहेका छन्।
२०८२ साउनदेखि पुससम्म एक अर्ब ४४ करोडको सिमेन्ट र क्लिंकर निर्यात हुँदा करिब एक अर्ब ३ करोडको सिमेन्ट र ४१ करोड रूपैयाँ बराबरको क्लिंकर निर्यात भएको छ।
गत आर्थिक वर्षको सोही समयमा ८८ करोड रूपैयाँ बराबरको सिमेन्ट र ४९ करोड बराबरको क्लिंकर निर्यात भएको थियो।
क्लिंकरको निर्यात घटे पनि तयारी सिमेन्टको निर्यात बढ्नुले भारतीय बजारमा नेपाली ब्रान्डका सिमेन्टको उपस्थितिमा सुधार आएको देखिन्छ।
सिमेन्ट उत्पादकहरूले क्लिंकर सिमेन्ट उत्पादन गर्ने उद्योगहरूलाई बेच्ने गर्छन् भने तयारी सिमेन्ट भने डिलरहरूलाई आफ्नै ब्रान्डमा बिक्री गर्छन्।
उत्पादकहरूका अनुसार क्लिंकरबाट तयारी सिमेन्ट बनाउँदा १५ प्रतिशत अतिरिक्त मूल्य वृद्धि हुने र नेपाली ब्रान्डमा बिक्री हुने भएकाले अहिले क्लिंकरभन्दा तयारी सिमेन्टलाई बढी प्राथमिकता दिइएको छ।
६ वर्षअघिसम्म नेपालको अधिकांश सिमेन्ट बजार आयातित सिमेन्टले ओगटेको थियो।
तर, २०७९ सालदेखि सिमेन्ट निर्यात हुन थाल्यो। २०७९ असारबाट तयारी सिमेन्टको निर्यात सुरू भएको थियो भने २०७९ असोजबाट क्लिंकरको निर्यात सुरू भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा ४२ करोड रूपैयाँ बराबरको क्लिंकर र ३५ करोड रूपैयाँ बराबरको तयारी सिमेन्ट निर्यात भएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा सिमेन्ट र क्लिंकर दुवैको निर्यात उल्लेखनीय रूपमा बढ्यो। यस वर्ष क्लिंकर चार गुणा बढेर १ अर्ब ८८ करोड रूपैयाँ पुग्यो भने तयारी सिमेन्ट करिब छ गुणाले बढेर १ अर्ब ९७ करोड रूपैयाँ पुगेको थियो।
आर्थिक वर्ष २०८१/८२ मा क्लिंकरको निर्यात ६३ प्रतिशतले घटेको छ भने तयारी सिमेन्टको निर्यात १३ प्रतिशतले बढेको थियो।
यो वर्ष २ अर्ब २२ करोड रूपैयाँ बराबरको तयारी सिमेन्ट र ६९ करोड ७३ लाख रूपैयाँ बराबरको क्लिंकर भारत निर्यात भएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा भारतले नेपाली सिमेन्टको गुणस्तर चिह्न नवीकरण गर्न ढिलाइ गरेको थियो।
नवीकरणमा ढिलाइ भएका कारण अर्घाखाँची लगायत केही उद्योगहरूको निर्यात करिब ६ महिनासम्म प्रभावित भएको थियो।
अहिले मुख्यतया पाल्पा, सर्वोत्तम र अर्घाखाँची सिमेन्टले ठूलो मात्रामा सिमेन्ट निर्यात गरिरहेका छन्।
करिब एक दर्जन उद्योगले भारतीय गुणस्तर चिह्न प्राप्त गरेका छन् र आंशिक निर्यात गर्दै आएका छन्।
उद्योगीहरूका अनुसार भारतीय बजारमा नेपाली ब्रान्डका सिमेन्टको माग बढ्दै गए पनि अझै लागत घटाउनुपर्ने चुनौती छ।
'सरकारले केही प्रक्रियागत काममा सहजीकरण गरिदिँदा मात्रै पनि लागत घटाउन सहज हुनेछ,' एक उद्योगीले भने, 'अहिले हाम्रो उद्योगबाट भारतीय बजारमा सिमेन्ट पुर्याउन लाग्ने दूरी २/३ घण्टा मात्रै हो। नजिकको बजार छ, हामीले यसको लाभ उठाउनुपर्ने हो। तर, नेपाली भन्सारमा ५/७ घण्टासम्म जाँचपास गराउन समय लाग्छ। यसले हाम्रो ढुवानी लागत बढाएको छ। कतिपय अवस्थामा ट्रकहरू बोक्न नै मान्दैनन्।'
उनले यथास्थितिमा वार्षिक २० अर्ब रूपैयाँभन्दा बढीको सिमेन्ट भारत निर्यात गर्न सकिने बताए।
'सिमेन्टको निर्यात क्रमशः बढ्दै छ। बेला–बखतमा हुने अवरोध र जाँचपासमा हुने ढिलाइका विषयमा सरकारले चासो राखेर सहजीकरण गरिदिने हो भने यथास्थितिमा नै वार्षिक २० अर्बको सिमेन्ट निर्यात हुन्छ,' उनले भने।
'जति धेरै निर्यात बढ्छ, हाम्रा उद्योगको उत्पादन क्षमता पनि त्यति धेरै नै उपयोग हुन्छ,' उनले थपे।
कुनै समय विदेशी सिमेन्टमा निर्भर रहेको अवस्थाबाट अहिले निर्यातको क्रम सुरू भएको छ। यद्यपि, भारतीय बजारमा मात्र भर पर्नुपर्ने भएकाले दुई पक्षीय वाणिज्य समस्याका कारण बेला–बेलामा निर्यातमा उतारचढाव देखिएको छ।
नेपालमा सिमेन्ट उद्योगको सुरुवात २०३२ सालमा काठमाडौंको चोभारमा हिमाल सिमेन्ट उद्योगको स्थापनासँगै भएको थियो। त्यसपछि २०३६ सालमा उदयपुर सिमेन्ट सञ्चालनमा आयो। यी सरकारी उद्योगहरूले प्रारम्भिक बजारको ठूलो हिस्सा ओगटेका थिए।
२०४२ सालदेखि २०६० सालको अवधिमा सरकारले औद्योगिक इजाजतपत्रको व्यवस्था सहज बनाउँदै निजी लगानी र विदेशी प्रविधिलाई सिमेन्ट उद्योगमा भित्र्याउन प्रोत्साहन गर्यो। यसले यस क्षेत्रमा लगानी बढायो।
२०७२ सालको भूकम्प नेपालको सिमेन्ट उद्योगका लागि एउटा महत्त्वपूर्ण मोड साबित भयो।
भूकम्पपछिको पुनर्निर्माणले सिमेन्टको माग ह्वात्तै बढायो। यस मागलाई पूरा गर्न निजी क्षेत्रले ठूलो लगानी गर्यो र सरकारले पनि उद्योग खोल्न प्रोत्साहन प्याकेजहरू ल्यायो।
फलस्वरूप, वार्षिक २–३ वटा उद्योग दर्ता हुनेमा भूकम्पपछिका वर्षहरूमा दर्ता हुने उद्योगको संख्या तीव्र गतिमा बढ्यो।
हाल नेपालमा करिब १०० भन्दा बढी सिमेन्ट उद्योग दर्ता भएका छन्, जसमध्ये लगभग ६० वटा सञ्चालनमा छन्।
यी उद्योगहरूको वार्षिक उत्पादन क्षमता २ करोड टनभन्दा बढी छ, जबकि आन्तरिक माग औसतमा १ करोड १० लाख टन मात्र छ। यसरी नेपाल सिमेन्टमा पूर्ण रूपमा आत्मनिर्भर बनेको छ।
उत्पादन आन्तरिक मागभन्दा बढी भएपछि निर्यात पनि क्रमशः बढ्दै छ।