अर्थमन्त्री स्वर्णिम वाग्लेले जेनजी आन्दोलन नभएको भए देश भड्खालोमा जाकिने अवस्थामा पुगेको बताएका छन्।
मंगलबार अर्थ समितिमा उनले अघिल्ला सरकारका पालामा राजनीति र प्रभावशाली आर्थिक संस्थाहरूलाई कब्जामा पारेर सर्वसाधारणको पैसा कुम्ल्याउने प्रवृत्ति मौलाएको आरोप लगाए।
उनले पुँजीबजारमा केही व्यक्तिहरूले बजारमा म्यानुपुलेसन, इन्साइडर ट्रेडिङ तथा आर्थिक प्रभावमार्फत राजनीतिक नेतृत्वलाई समेत नियन्त्रणमा राख्ने प्रयास गरेको दाबी गरे।
'विगत केही वर्षमा यी संस्था केही व्यक्तिको कब्जामा गएको यथार्थ हो। जनताको १५/१६ अर्ब रूपैयाँ अपचलन गरेर मार्केट म्यानुपुलेसन, इन्साइडर ट्रेडिङ गर्दै अकुत सम्पत्ति जम्मा गरियो,' उनले भने, 'केही प्रभावशाली नेतालाई त उनीहरूको गोजीमै राखियो। देशका राजनीतिक संस्था मात्रै होइन, आर्थिक संस्थाहरू समेत कब्जा गरिएको कटु यथार्थ हो।'
उनले जेनजी आन्दोलनले त्यस प्रवृत्तिविरुद्ध हस्तक्षेप गरेको उल्लेख गर्दै त्यसको प्रशंसा गरे।
'जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनै पर्छ। त्यो हस्तक्षेप नभएको भए हामी साँच्चिकै भड्खालोमा जाकिने क्रममा रहेछौं,' उनले भने।
अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले विश्वस्तरीय पुँजीबजार निर्माण गर्ने लक्ष्यसहित सुशासनमा केन्द्रित योजना अघि बढाएको बताए।
स्टक एक्स्चेन्ज पुनर्संरचनाका लागि गठन गरिएको समितिले दिएको सुझाव कार्यान्वयनमा लैजाने तयारी भइरहेको पनि उनले जानकारी दिए।
उनका अनुसार सरकार पुँजीबजारलाई व्यवसायिक र पारदर्शी बनाउँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने दिशामा सरकार अघि बढेको छ।
‘नीति तथा कार्यक्रममा पनि स्टक एक्स्चेन्ज र पुँजीबजारका विषयमा उदार नीति घोषणा गरेका छौं,' उनले भने, 'अब बजेटमार्फत यसलाई थप आकार दिन्छौं। विश्वस्तरीय क्यापिटल बजारका मापदण्ड पछ्याउने गरी अगाडि बढ्छौं।'