चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात साउन, भदौ र असोज महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार उल्लेखनीय भएको थियो।
यो समयमा गत वर्षको सोही अवधिको तुलनामा आयात २० प्रतिशत र निर्यात ९० प्रतिशतले बढेको थियो।
व्यापारी, व्यवसायीको अपेक्षा अब उपभोगमा सुधार आउने रहेको थियो। तर त्यसपछिका महिनामा यस्तो वृद्धिदर क्रमशः घट्दो क्रममा देखिएको छ।
आयाततर्फ क्रमशः कात्तिकसम्म १८, मंसिरसम्म १६, पुससम्म १४, माघसम्म १३.६ र फागुनसम्म आइपुग्दा १२.५ प्रतिशतको मात्रै वृद्धिदर छ।
यसको अर्थ गत वर्षको भन्दा आयात बढेको छ। तर असोजसम्म जुन गतिका साथ बढेको थियो त्यसपछिका दिनमा त्यो गति कायम हुन सकेको छैन।
फागुन महिनासम्म १२ खर्ब ८९ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत वर्षको सोही ८ महिनाको तुलनामा १२.५ प्रतिशतले बढी हो।
फागुन महिनामा मात्रै एक खर्ब ६६ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। यो २०८१ फागुनको तुलनामा भने ५ प्रतिशतले मात्रै बढी हो।
सामान्यतया निर्वाचनको समयमा तुलनात्मक रूपमा बढी उपभोग हुने र वस्तु आयात बढ्ने गरेको हुन्छ। यसका साथै यो समयमा डलरको मूल्य अधिक बढेको छ, जसका कारण आयात मूल्य पनि उच्च देखिन्छ।
फागुन मध्यबाट पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ।
यसका बाबजुद आयात वृद्धिदर २० प्रतिशतबाट घटेर १२ प्रतिशतमा झरेको छ।
भन्सार अधिकारीहरूका अनुसार भारतीय अर्थतन्त्रमा आएको मन्दी र भारतको विदेशी मुद्रा सञ्चिति घट्नुले नेपाललाई पनि प्रत्यक्ष असर गरेको छ।
भारतबाट हुने निर्यात घट्दा नेपालबाट जाने कच्चा पदार्थको मागमा कमी आएको देखिएको छ।
यसैगरी अमेरिका र भारतबीचको व्यापार तनावका कारण भारतको निर्यात प्रभावित हुँदा नेपालबाट भारत जाने अदुवा जस्ता कच्चा वस्तुको माग घटेको पाइएको छ।
यसैगरी निर्यात वृद्धिदर पनि घट्दो क्रममा देखिएको छ। असोजसम्म ९० प्रतिशतसम्म पुगेको निर्यात वृद्धिदर अहिले घटेर करिब २० प्रतिशतमा झरेको छ।
साउनदेखि फागुनसम्मको अवधिमा एक खर्ब ९१ अर्ब रूपैयाँको वस्तु निर्यात भएको छ। यो गत वर्षका यिनै महिनाको तुलनामा २० प्रतिशतले बढी हो।
तर फागुन महिनामा मात्रै २३ अर्ब रूपैयाँको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२ प्रतिशतले कम हो। गत वर्ष फागुनमा ३१ अर्ब रूपैयाँ बराबरको निर्यात भएको थियो।
भन्सार अधिकारीहरूका अनुसार चीन, बेलायत, भारत र युरोपका अधिकांश मुलुकमा देखिएको आर्थिक मन्दीले उपभोगमा सिधा असर पारेको छ।
'उपभोक्ताको आम्दानी घट्दा खर्च गर्ने प्रवृत्ति कमजोर भएको छ, जसले हाम्रो निर्यात घटाएको छ,' भन्सार अधिकारीले भने।
युक्रेन संकट र मध्यपूर्वमा देखिएको तनावले विश्व अर्थतन्त्र नै प्रभावित बनेको छ। यसले तेलको मूल्य र समग्र व्यापार लागतमा असर गरेको छ।
डलरको मूल्य बढ्दा आयात महँगो भएको र व्यापारीहरू 'पर्ख र हेर' को अवस्थामा बसेका कारण एलसी खोल्ने र भुक्तानी प्रक्रिया समेत सुस्त देखिएको विश्लेषण छ।
अन्तर्राष्ट्रिय व्यापार प्रणालीमै अनिश्चितता देखिएको छ। ठूला देशहरूबीच व्यापार सन्धि कार्यान्वयन हुने वा नहुने भन्ने अन्योलले पनि व्यापारमा असर पारेको छ।
युरोप र अमेरिका जस्ता बजारमा सामाजिक सुरक्षासम्बन्धी खर्चमा कटौती वा न्यून वृद्धि हुँदा उपभोक्ताको खर्च गर्ने क्षमता घटेको छ।
भन्सार अधिकारीहरूका अनुसार यसको सिधा असर नेपालको निर्यातमा परेको छ, किनभने कुल निर्यातको करिब ४ देखि ६ प्रतिशत हिस्सा युरोपतर्फ जाने गर्छ।
नेपालको निर्यातमा पुनः निर्यात हुने वस्तुहरूमा पनि गिरावट आएको छ। नेपालबाट निर्यात हुने करिब २० प्रतिशत वस्तु विदेशी कच्चा पदार्थमा आधारित छन्।
डलर महँगिदा कच्चा पदार्थ आयात गर्न गाह्रो भएको र भारतमा माग घट्दा यस्तो निर्यातमा ठूलो असर परेको छ।
महिनागत निर्यात गत वर्षको तुलनामा पनि घट्दो क्रममा देखिएको छ।
महिनागत आयात वृद्धिदर २५ प्रतिशतसम्म पुगेकोमा अहिले करिब ५ प्रतिशतमा झरेको छ।
अन्तर्राष्ट्रिय व्यापार वृद्धिदर लगातार घट्दो क्रममा देखिँदैछ भन्ने प्रश्न थप गहिरिँदै गएको छ।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा नेपालको आयात र निर्यात दुवै घटेको थियो। त्यस समयमा सरकारले आयात नियन्त्रण गर्न नीतिगत कडाइसमेत गरेको थियो।
तर आर्थिक वर्ष २०८१/८२ मा दुवै बढेका थिए। त्यही आधारमा चालु वर्षको सुरुवाती महिनामा आयात तीव्र रूपमा बढेको थियो।
भदौ २३/२४ पछिको आन्दोलनपछि सरकारले दिएको राजस्व छुट र निजी क्षेत्रको पुनर्निर्माणले पनि केही वस्तुको आयात बढाएको थियो।
तर, भन्सार अधिकारीहरूका अनुसार अहिले देखिएको प्रवृत्तिले माग र उपभोग दुवैमा सुस्तता आएको संकेत गरिरहेको छ।