बिहीबार सेयर बजारमा ६ महिनायताकै कम रकमको सेयर कारोबार भएको छ।
बिहीबार बजारमा दुई अर्ब ९३ करोड रूपैयाँको सेयर कारोबार भएको हो।
२०८२ कात्तिक ९ गतेयता लगभग पहिलो पटक बजारमा तीन अर्ब रूपैयाँ भन्दा कमको सेयर कारोबार भएको हो। २०८२ कात्तिक ९ गते बजारमा २ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको थियो।
हुन त गत फागुन २५ गते बजारमा ५४ करोड रूपैयाँको सेयर कारोबार भएको थियो। तर सो दिन बजार उच्च (६ प्रतिशत) ले बढेकाले नियमित समयभन्दा अगावै बजार बन्द भएर कारोबार कम भएको थियो। सो दिन सर्किट ब्रेक लाग्दा बजार केही मिनेट मात्र खुलेको थियो।
नयाँ सरकार बनेपछि बजार खुलेको पहिलो दिन उत्साह ज्यादै थियो। वृद्धि रोक्न सर्किट ब्रेक नै लगाउनुपरेको थियो। दैनिक सेयर कारोबार पनि २१ अर्ब रूपैयाँसम्म पुगेको थियो।
बिहीबार भने अत्यन्तै न्यून रकमको कारोबार भयो।
केही समयदेखि बजारले स्पष्ट प्रवृत्ति देखाउन सकिरहेको छैन। नेप्से अहिले २७ सय विन्दुमा टेवा खोजिरहेको छ। तर लगानीकर्ताहरू विश्वस्त हुन नसक्दा बजारमा कारोबार रकम घट्दै गएको छ।
लगानीकर्ताहरूले सरकारप्रतिको धारणा बनाउन नसकिरहेकाले पनि बजारमा 'कन्फिडेन्स' नदेखिएको लगानीकर्ता ताराप्रसाद फुलेल बताउँछन्।
उनले भने, 'सरकारले लगानीकर्ता आश्वस्त पार्न सकेको छैन। बैंकको ब्याजदर यस्तो न्यून छ। तरलता फालाफाल हुँदा पनि कारोबार घट्नुले पनि यही संकेत गर्छ।'
सरकारको काम–कारबाहीपछि लगानीकर्ताहरूमा यसअघि हतास मनस्थिति देखिएको भए पनि अहिले भने उनीहरू पर्ख र हेरको अवस्थामा रहेको पनि फुलेल बताउँछन्।
अब आउने बजेटमा सेयर बजारलाई कसरी सम्बोधन हुन्छ भन्ने कुरा नै लगानीकर्ताहरूले पर्खिरहेको उनले बताए।
सेयर ब्रोकर सन्तोष मैनाली पनि लगानीकर्ताहरू अहिले बजेटपछि नै लगानी रणनीति बनाउने सोचमा रहेका बताउँछन्।
'सरकार प्रति लगानीकर्ताहरूको धारणा स्पष्ट भइसकेको देखिँदैन,' मैनालीले भने, 'यस पटक सरकार पनि नयाँ छ। बजेट पनि परम्परागतभन्दा फरक किसिमले आउन सक्छ। त्यसैले कस्तो बजेट आउँछ भन्नेमा लगानीकर्ताको चासो छ।'
बजेटले नै नीतिगत रूपमै निजी क्षेत्र प्रति सरकारको धारणा कस्तो छ, देखिने भएकाले पनि लगानीकर्ताहरू यसकैको पर्खाइ देखिएका छन्।
कस्तो छ बजारको अवस्था?
बजारमा केही समयसम्म बिक्री चाप उच्च देखिए पनि यसमा क्रमिक रूपमा सुधार भइरहेको १४ दिने आरएसआई सूचकले देखाउँछ। बुधबार यो आइएसआई स्केलको १० मा थियो।
आरएसआई स्केलमा ० देखि १०० सम्म हुन्छ। बिहीबार भने नेप्से स्केल १६ मा छ।
० देखि ३० सम्म रहँदा बजारमा बिक्री उच्च रहेको, ३० देखि ७० मा हुँदा सन्तुलित रहेको र ७० देखि ८० मा हुँदा खरिद उच्च रहेको संकेत गर्छ।
अहिले नेप्से आरएसआई स्केलको हालको न्यून १० विन्दुबाट सुधार भइरहेको छ। तर बजार केही समय सामान्य घटबढकै प्रवृत्तिमा रहन सक्ने देखिँदै गएको छ।