नेपालमा उत्पादित तयारी चिया भारतीय बजार जान रोकिएको १९ दिन पूरा हुँदै गर्दा भारतीय पक्षले झनै कठोर बन्ने संकेत गरेको छ।
भारतीय टि बोर्डले पश्चिम बंगालका चिया व्यापारीहरूलाई नेपालबाट कुनै पनि माध्यमबाट चिया नल्याउन निर्देशन दिँदै यदि अटेरी गरे सबैको गोदामबाटै नमूना संकलन गर्ने र प्रयोगशाला परीक्षणका लागि पठाउने चेतावनी दिएको छ।
चिया उद्योगीहरूको संस्था नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले सेतोपाटीलाई दिएको जानकारी अनुसार अहिले भारतीय व्यापारीहरूबाट नेपाली निर्यातकर्ताहरूलाई ‘वाइङ कल’ आउन पनि ठप्प भएको छ।
‘अहिले हाम्रो चिया भारत जाने त कुरै छोडौं, उताबाट हामीलाई वाइङ कल पनि आएको छैन,’ गुप्ताले भने ‘उल्टै भारतीय व्यापारीहरूलाई त्यहाँको टि बोर्डले नेपालबाट चिया नमगाउन, कुनै माध्यमबाट मगाएको पाइए गोदामबाटै नमूना संकलन थाल्ने चेतावनी दिएको रहेछ। भारतीय टि बोर्डको रवैया झनै कठोर देखिएको छ।’
प्रयोगशाला परीक्षणमा पठाउने चेतावनी दिएर टि बोर्डले त्यहाँका व्यापारीमाथि झन्झट थोपर्ने धम्की दिएको चिया उद्योगीहरू बताउँछन्, जुन झन्झट अहिले नेपाली पक्षले झेलिरहेको छ।
मे १ देखि भारतीय टि बोर्डले नेपालबाट भारततिर चिया बोकेर जाने प्रत्येक गाडीबाट चियाको नमूना संकलन गर्ने नियम लगाएपछि नेपाली व्यापारीले चिया पठाएका छैनन्।
प्रयोगशाला परीक्षणको बहानामा लामो समय कुर्नपर्ने बाध्यताबाट आजित नेपाली पक्षले भारतीय पक्षको मुड बुझ्न एउटा गाडी भारतीय नाका पानीट्यांकीतर्फ पठाएको थियो।
झापाबाट चिया लोड गरेर पानीट्यांकी पुगेको ४ दिनपछि भारतीय टि बोर्डका कर्मचारीले अघिल्लो सोमबार उक्त चियाको नमूना संकलन गरेका थिए। प्रयोगशाला पठाउन नमूना संकलन भएको पनि मंगलबार नौ दिन पूरा भएको छ भने चिया भारत पुगेको १३ दिन बितिसकेको छ।
यतिका समयसम्म पनि कोलकातास्थित प्रयोगशालाबाट परीक्षण रिपोर्ट भने आएको छैन।
‘आजको दिनसम्म कोलकाताबाट रिपोर्ट आउने कुनै संकेत आएको छैन,’ वरिष्ठ उपाध्यक्ष गुप्ताले भने, ‘रिपोर्ट आएको छैन। उताको टि बोर्ड झनै कठोर बन्न थालेको देखिन्छ।’
यस्तो बेलामा बलियो सरकारी पहलको अपेक्षा गरिरहेका चिया उद्योगी तथा व्यवसायीहरूले नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय संस्थापनसँग अवरोध खुलाउन पहल गरिरहेको जानकारी पाएका छन्।
‘दिल्लीस्थित नेपाली दूतावासबाट भारतीय वाणिज्य मन्त्रालयमा पहल भइरहेको छ भनेर दूतावासबाट दुई दिन अघि हामीलाई फोन आएको थियो,’ वरिष्ठ उपाध्यक्ष गुप्ताले भने, ‘भारतको वाणिज्य मन्त्रालयले सीमा नाकामा चियामा के समस्या भएको हो लेखेर पठाउन भनेको छ भनेर दूतावासले भन्यो। हामीले दूतावासलाई समस्या लेखेर पठाएका छौं।’
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले पनि दिल्लीस्थित दूतावासले ‘अवरोध खुलाउन लगातार प्रयास गरिरहेको’ दाबी गरेका छन्।
यद्यपि दूतावासले फोन गरेर समस्या लिखित रूपमा माग्नुअघिसम्म काठमाडौंस्थित सरकारको राजनीतिक नेतृत्वले आफ्ना कुरै सुन्न नमानेको भन्दै चिया उद्योगीहरू रूष्ट बनेका थिए।
निर्देशक खनालका अनुसार यसअघि पनि देखिने चियाको अवरोध र यसपटकको अवरोधमा केही फरक देखिएको बताउँछन्।
पहिलो कुरा, यति लामो अवधि चिया रोकिएको थिएन। दोस्रो, यसपटक संसदीय समितिको निर्देशन अनुसार नै चियामा अवरोध उत्पन्न भएको छ।
‘फेब्रुअरी १० को निर्देशिकामा भारतीय संसदीय समितिको निर्देशन अनुसार वाणिज्य मन्त्रालयले टि बोर्डलाई निर्देशन दिएको र सोही निर्देशन टि बोर्डले कार्यान्वयनमा ल्याएको हो,’ खनालले भने।
वाणिज्य मन्त्रालयसँग दूतावासले कुरा गरेर नहुने उच्च राजनीतिक तहबाटै संवाद हुनुपर्ने व्यवसायीहरू बताउँछन्।
वार्षिक साढे चार अर्ब रूपैयाँभन्दा बढी विदेशी मुद्रा नेपाल भित्र्याउने चिया क्षेत्रमा आएको पछिल्लो समस्या समाधानमा सरकारको उच्च चासो हुनुपर्ने उद्योगीहरूको माग छ।
नेपालमा अहिले साना ठूला गरी १२० हाराहारी चिया उद्योग छन्। त्यस्तै, १०० भन्दा बढी साना–मझौला उद्यमी सक्रिय छन्, जहाँ किसान र श्रमिक गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिसले रोजगारी पाएका छन्।
अघिल्लो वर्ष मात्रै सिटिसी र अर्थोडक्स गरी कुल ४ अर्ब ७५ करोड रूपैयाँ बराबरको चिया निर्यात भएको थियो।
अहिले भारतको नयाँ नीति पूर्ण रूपमा लागू भए नेपालको कुनै पनि चिया उद्योग टिक्न नसकने अवस्था सिर्जना भएको उद्योगीहरू बताउँछन्।
हाल नेपालभर २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ। नेपाली चियाको मुख्य बजार भारत नै हो, जहाँ ९० प्रतिशत अर्थोडक्स र झन्डै आधा सिटिसी चिया जाने गर्छ।