अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई चिन्ता नलिन आग्रह गरेका छन्।
बजेटको सिद्धान्त र प्राथमिकतामाथि सदनमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले निजी क्षेत्रको ढोका-ढोकामा पुगेर लगानी विस्तारको आह्वान गर्ने बताए हन्।
केही माननीय सदस्यहरूले निजी क्षेत्र तर्सिने, आत्मविश्वास घट्ने चिन्ता व्यक्त गर्नुभयो। म स्पष्ट भन्न चाहन्छु-इमानदार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर–घर, ढोका–ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ,' उनले भने।
अर्थमन्त्री वाग्लेले सरकार लगानी विस्तारको लागि आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन प्रतिबद्ध रहेको दाबी गरे।
उनले मिलेमतो भने नसहने तर्क गरे।
'तर राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन। गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन। फेरि स्मरण गराउछु-आसेपासेको मिलेमतो, नीतिगत कब्जा र दोहनको घनचक्करमा संलग्न प्रवृत्तिबाट राज्यलाई मुक्त गर्दै सुशासनको लाभ आम नागरिकसम्म पुर्याउनु नै हाम्रो मूल उद्देश्य हो,' उनले भने।
उनले सरकारको अहिले मुख्य प्राथमिकतामा सुशासन रहेको बताए।
'सुशासनबिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिलासुस्ती, बिचौलियातन्त्र र संस्थाहरुको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार सिस्टम सुधारमार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो,' अर्थमन्त्री वाग्लेले भने।