अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्य दललाई बजेटमा आफ्नै भाषा र दस्तावेज चाहिएमा अर्को चुनावसम्म कुर्न भनेका छन्।
उनले संघीय संसदमा पेश भएको बजेटको नीति तथा प्राथमिकतामा जवाफ दिने क्रममा यस्तो बताएका हुन्।
उनले भने, 'पुरानै शब्द जाल, आफूले लेख्दै, भोग्दै आएका र आफ्नै भाषा आफ्नै दस्तावेज ल्याउन उद्यत माननीय ज्यूहरूलाई मेरो विनम्र अनुरोध छ, ऐतिहासिक निर्वाचनको दुरगामी प्रभाव हुन्छ। यति कुरा मनन गरिदिनुपर्ला।'
उनले विपक्षी दलहरूलाई आफ्नै भाषा आफ्नै दस्तावेज अनुमोदन गर्न अर्को चुनाव कुर्न भनेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अगाडि गरेका वाचापत्र अनुसार नै बजेटको सिद्धान्त र प्राथमिकता तय गरेको पनि उनले बताए।
उनले थपे, '३० वर्षकै नीति राजकीय शैली ठिक भएको भए राजनीतिमा पुस्तान्तरण हुन्थेन। आर्थिक र सामाजिक क्षेत्रमा यति व्यग्र रूपान्तरणको माग हुने थिएन। पछिल्ला तीन दशकमा नेपाल, नेपाली नागरिक र समग्र अर्थतन्त्रले कुशासनको कति ठूलो मूल्य चुकायो। सुस्त निर्णय प्रक्रिया, मिलोमतो, नितीगत अन्योल, विचौलिया प्रवृत्ति र संस्थागत दोहनका कारण मुलुकले आर्थिक अवसर, रोजगारी र सम्भावित आर्थिक वृद्धि गुमाएको छ। यसलाई मिसिङ जिडिपी भन्ने गरेको छु। यो मूल्य अकल्पनीय छ।'
संविधानप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले संविधानका असहमत पक्षहरू पनि यही संवैधानिक व्यवस्थाअनुसार संशोधन गर्न सकिने बताए।
समाजवादबारे कतिपय दलमा 'शास्त्रीय वामपन्थी बुझाइ' रहेको टिप्पणी गर्दै उनले उत्पादन, वितरण र विनिमयका सम्पूर्ण साधन राज्यको नियन्त्रणमा हुनुपर्छ भन्ने अवधारणामा सरकार सहमत नरहेको बताए।
उनले विगतमा संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको र नागरिकको विश्वास पनि कमजोर बनाएकोले प्रणाली सुधारमार्फत आर्थिक सुधार गर्ने दिशामा सरकार अघि बढेको उल्लेख गरे।
सुशासन सरकारको शीर्ष प्राथमिकता रहेको उल्लेख गर्दै उनले प्रणाली सुधारमार्फत आर्थिक सुधार र राज्य सञ्चालनको संस्कार परिवर्तन गर्ने दिशामा सरकार अघि बढेको बताए।