मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ। धावनमार्गमा कालोपत्र थप (ओभरले) को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ।
धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि १५ दिनका लागि विमानस्थल समेत बन्द छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो। २० वर्षअघि गरिएको कालोपत्रको अवधि गुज्रन लागेको थियो।
विमानस्थलको दक्षिणपट्टि २३० मिटर जमिनको तह मिलाउने (ग्रेड सुधार) को काम सकिएको छ । पर्खाल, नाली, घेराबार र तटबन्धको कामले पनि तीव्रता पाएको छ। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आउँदो साताभित्र धावनमार्ग सुधारको काम सकिनेछ। असार ८ गतेदेखि विमानस्थलमा नियमित उडान हुने कार्यालय प्रमुख भानु कोइरालाले बताए।
धावनमार्ग कालोपत्र र ‘ग्रेड’ सुधारले जहाज उडान तथा अवतरणमा सहजता थपिने उनको भनाइ छ। धावनमार्ग जीर्ण हुँदा र ‘ग्रेड’ नमिल्दा दुर्घटनाको जोखिम थियो । विमानस्थलभित्रको भिरालो जमीनलाई सम्याएर धावनमार्गकै तहमा ल्याइएको निर्माण कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए।
“धावनमार्गको काम एक साताभित्रै सकिन्छ”, उनले भने, “असार मसान्तसम्ममा बाँकी सबै काम सक्छौँ ।” रातदिन नभनी मजदूर र व्यवस्थापन पक्ष काममा खटिएको उनको भनाइ थियो ।
नागरिक उड्डयन प्राधिकरणले गत असोजमा एपेक्स निर्माण कम्पनीलाई विमानस्थल सुधारको जिम्मा दिएको थियो । नौ करोडमा सम्झौता भएको योजनाको काम फागुन १५ गतेदेखि मात्र शुरु भएको थियो ।
चिसो र हिमपातका कारण ढिलो गरी काम शुरु भएको निर्माण कम्पनीले जनाएको छ। जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नुपरेको कार्यालयले जनाएको छ।
पोखरा–जोमसोम हवाइमार्गमा तारा, यति, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन्। मुस्ताङ घुम्ने पर्यटक र तीर्थयात्रीको चापले वैशाख–जेठ महिना विमानस्थल बढी व्यस्त हुने गर्छ। पोखरादेखि १८ मिनेटको उडानमा जोमसोम पुगिन्छ। जहाजबाट मुस्ताङ जाने पर्यटक यतिबेला म्याग्दीको बेनी हुँदै सडकमार्गबाट मुस्ताङ पुगेका छन्।