नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई लगानीमैत्री वातावरण आवश्यक रहेको र त्यस विषयमा सरकार जिम्मेवार हुनुपर्ने उनले बताए।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबारदेखि सुरू भएको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशन उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्।
उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको समेत बताए।
अध्यक्ष गोल्छाले भिजन पेपरमा निजी क्षेत्रको एकरूपताको लागि नेपाल उद्योग परिसंघ लगायतका संस्थाहरूसँग समेत छलफल भैरहेको जानकारी दिए।
उनले महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको समूह रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिवृद्धि गर्न सकिन्छ भनेर आफूहरू लागिपरेको दाबी गरे।
अध्यक्ष गोल्छाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपुर औद्योगिक क्षेत्र विस्तार लगायतका कारण बुटवल क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रशस्त रहेको औंल्याए।
त्यस्तै,उनले महासंघले विज्ञ सहितको राहत सेल बनाउन लागिएको जानकारी गराउँदै विशेषगरी बैंकिङ, राजश्व, श्रमको समस्यामा परेका व्यवसायीहरूलाई राहतको काम गर्ने उल्लेख गरे।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर ईश्वर गौतमले आगामी वर्षका लागि योजना निर्माणको काम भइरहेको र निजी क्षेत्रका समस्याबारे समाधानका उपाय र आगामी वर्षको योजनामा लिखित रूपमा सुझावसहित पेश गर्न आग्रह गरे।
सरकारले उद्योगीहरूलाई राहत प्रदान गर्ने उद्देश्यले निःशुल्क उद्योग दर्ताको व्यवस्था गरेसँगै नयाँ उद्योगहरू दर्ता हुनेक्रम बढे पनि सञ्चालनको क्रम भने घटेको बताए।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलको विकासका लागि बुटवल उपमहानगरपालिका स्थानीय तहमा निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए।
संघका अध्यक्ष खिमबहादुर हमालले सरकारको अस्थिरताको कारण निजी क्षेत्रका समस्यामा परिवर्तन आउन नसकेको बताए।