घर निर्माण जीवनको सबैभन्दा ठूलो लगानीमध्ये एक हो। त्यसैले घर बनाउँदा प्रयोग हुने प्रत्येक सामग्रीको छनोट दीर्घकालीन सोचका साथ गर्नुपर्छ। त्यसैमध्येको एक हो, टायल। घरको सुरक्षासँगै डिजाइनका लागि पनि टायल खरिदमा चनाखो हुनु निकै जरूरी छ।
सामान्यतयाः टायल किन्न जाँदा भने धेरै उपभोक्ता रङ, डिजाइन र मूल्यलाई मात्र प्राथमिकता दिने गरेका छन्। हेर्दा आकर्षक देखिने सबै टायलको गुणस्तर भने एउटै नहुन सक्छ। केही वर्षमै चर्किने, दाग बस्ने, चमक हराउने वा चिप्लिने समस्या देखिनुको एउटा मुख्य कारण गलत टायल छनोट पनि हुन सक्छ। त्यसैले हामीले टायल खरिद गर्दा के कस्ता कुरामा ध्यान दिनु उपयुक्त हुन्छ ?
पहिलो कुरा: टायलको प्रकार बुझ्नुहोस्
बजारमा मुख्य रूपमा सेरामिक, पोर्सिलेन र भिट्रिफाइड टायल पाइन्छन्। यी तीनै प्रकारका टायलको निर्माण प्रक्रिया र कार्यक्षमता फरक हुन्छ। भिट्रिफाइड टायल उच्च तापक्रममा उत्पादन हुने भएकाले यसको संरचना अत्यन्त बलियो हुन्छ। यी टायलमा पानी कम सोस्ने, बढी टिकाउ हुने र लामो समयसम्म गुणस्तर कायम राख्ने क्षमता हुन्छ। यही कारणले अहिले विश्वभर आवासीय, व्यावसायिक तथा आतिथ्य क्षेत्रमा भिट्रिफाइड टायलको प्रयोग तीव्र रूपमा बढिरहेको छ।
दोस्रो कुरा: पानी शोषण दर किन महत्वपूर्ण हुन्छ?
टायलको गुणस्तर छुट्याउने सबैभन्दा महत्वपूर्ण सूचकमध्ये एक हो पानी शोषण दर। टायलले जति कम पानी सोस्छ, त्यति नै यसको संरचना बलियो र टिकाउ हुन्छ। कम पानी सोस्ने टायलमा ओस, फोहोर र दाग भित्रसम्म पस्ने सम्भावना कम हुन्छ। यसले सफाइ सजिलो बनाउनुका साथै लामो समयसम्म सतहको सौन्दर्य पनि जोगाइराख्न मद्दत गर्छ।
नेपाल गुणस्तर एनएस ६१७:२०८२ ले पनि टायललाई मुख्य रूपमा यही पानी शोषण दरका आधारमा वर्गीकरण गरेको छ। पूर्ण भिट्रिफाइड टायलमा पानी शोषण अत्यन्त न्यून हुने भएकाले यस्तो टायल बढी टिकाउ मानिन्छ।
तेस्रो कुरा : प्रत्येक ठाउँका लागि एउटै टायल उपयुक्त हुँदैन
बैठक कोठामा राम्रो देखिने टायल बाथरुमका लागि सुरक्षित नहुन सक्छ। त्यसैगरी पार्किङ वा होटलको लबीमा प्रयोग हुने टायल र घरको शयनकक्षमा प्रयोग हुने टायलको आवश्यकता फरक हुन्छ। अन्तर्राष्ट्रिय अभ्यासअनुसार बाथरुम, बाल्कोनी, टेरेस र भान्साजस्ता भिज्ने स्थानमा राम्रो ग्रिप भएका एन्टी–स्किड टायल प्रयोग गर्न सिफारिस गरिन्छ। यस्ता टायलमा आर रेटिङ अर्थात् स्लिप रेसिस्टेन्सी हेर्ने गरिन्छ।
त्यसैगरी विमानस्थल, सपिङ मल, होटल लबी वा विद्यालयजस्ता धेरै आवतजावत हुने स्थानका लागि घिसावट प्रतिरोधी टायल आवश्यक हुन्छ। यस्ता स्थानमा पिइआइ रेटिङ महत्त्वपूर्ण मानिन्छ। यहाँ एउटा कुरा बुझ्न आवश्यक छ। टायल भिट्रिफाइड हुनु र यसको सतहमा हुने विशेष गुण एउटै कुरा होइन। भिट्रिफाइड बडीले मुख्यतः पानी शोषण दर, घनत्व, संरचनागत मजबुती तथा दाग प्रतिरोधमा प्रभाव पार्छ।
तर मोस हार्डनेस, पीईआई रेटिङ, आर–रेटिङ, एन्टिब्याक्टेरियल वा एन्टिभाइरलजस्ता गुणहरू भने सतहमा प्रयोग हुने ग्लेज, टेक्स्चर तथा सर्फेस इन्जिनियरिङद्वारा निर्धारण हुन्छन्। त्यसैले एउटै भिट्रिफाइड टायल पनि प्रयोग हुने स्थानअनुसार फरक–फरक सतह विशेषतामा उत्पादन गरिन्छ।
चौथो कुरा: कठोरता पनि हेर्नुहोस्
घरमा दैनिक रूपमा फर्निचर सार्ने, सामान ओसारपसार गर्ने वा बच्चाहरू खेल्ने भएकाले टायलको सतहमा खरोंच पर्ने सम्भावना हुन्छ। यसका लागि मोस हार्डनेस स्केल उपयोगी मानिन्छ। मोस स्केल जति उच्च हुन्छ, सतह त्यति नै स्क्रयाच रेसिस्टेन्ट हुन्छ। यसले टायललाई लामो समयसम्म नयाँजस्तै देखिन मद्दत गर्छ।
पाँचौं कुरा: केवल मूल्य होइन, दीर्घकालीन लागत पनि हिसाब गर्नुहोस्
सस्तो टायल किन्दा सुरुमा केही रकम बचत भएको जस्तो देखिन सक्छ। तर केही वर्षमै फुट्ने, फेर्नुपर्ने वा मर्मत गर्नुपर्ने अवस्था आयो भने कुल खर्च धेरै हुन सक्छ। निर्माण उद्योगमा अहिले लाइफ साइकल कस्ट अर्थात् सम्पूर्ण आयुकालको लागतलाई महत्त्व दिने अभ्यास बढ्दै गएको छ। त्यसैले टायलको वास्तविक मूल्य केवल खरिद मूल्य होइन, त्यसले कति वर्षसम्म राम्रो प्रदर्शन गर्छ भन्ने पनि हो।
गुणस्तर कसरी पहिचान गर्ने?
टायल खरिद गर्दा केही सामान्य कुरा जाँच्न सकिन्छ। बक्समा उत्पादक कम्पनीको विवरण, नेपाल गुणस्तर वा सम्बन्धित मापदण्डको जानकारी, उत्पादन समूह तथा प्राविधिक विवरण उल्लेख भएको हुनुपर्छ। एउटै ब्याचका टायल छनोट गर्दा रङ तथा आकारमा समानता कायम रहन्छ। ठूलो परियोजनाका लागि नमुना हेरेर मात्र निर्णय गर्नु उपयुक्त हुन्छ। विशेषगरी अस्पताल, होटल, विद्यालय, कार्यालय वा व्यावसायिक भवनका लागि भने आर्किटेक्ट वा प्राविधिकसँग परामर्श गरेर मात्र आवश्यकता अनुसार टायल छनोट गर्नु राम्रो मानिन्छ।
विश्वको अभ्यास नेपालतर्फ पनि
युरोप, उत्तर अमेरिका तथा विकसित एसियाली मुलुकहरूमा टायल छनोट गर्दा केवल डिजाइन होइन, पानी शोषण गर्ने दर, नचिप्लिने (स्लिप रेसिस्टेन्स) लगायतका प्राविधिक मापदण्ड अनिवार्य रूपमा हेर्ने चलन छ। नेपालमा पनि निर्माण क्षेत्र क्रमशः यही दिशातर्फ अघि बढिरहेको छ। राष्ट्रिय मापदण्ड, अन्तर्राष्ट्रिय अभ्यास र उपभोक्ता सचेतना बढ्दै जाँदा जुन टायल सस्तो त्यही राम्रो भन्ने सोच विस्तारै परिवर्तन हुँदै गएको देखिन्छ।