नेपाल विद्युत प्राधिकरणको चिलिमे जलविद्युत आयोजनाको सुरूङमा ६ जना फसेको आशंका गरिएको छ। तर बाढीको ६ दिन बितिसक्दा पनि अझै उद्धार हुन सकेको छैन।
चिलिमे जलविद्युत आयोजनाका म्यानेजिङ डाइरेक्टर बाबुराजा महर्जनका अनुसार सुरूङमा फसेको आशंकामा उद्धारका लागि पहल भए पनि सफल हुन सकेको छैन।
'उपकरण पनि भएन। टनेलको मुखनेर सानो ठाउँ मात्रै छ। १५ मिटर जतिको ठाउँ मात्रै छ। त्यहाँबाट उपकरण लैजान सकिने अवस्था पनि छैन,' उनले भने।
आयोजनाको भूमिगत पावरहाउस भित्र कर्मचारीहरू थुनिएको आशंका गरिएको छ।
भारतीय उद्धार टोलीले चिलिमे आयोजनामा बाढीको तेस्रो दिनपछि मात्रै सर्भे गरेको थियो।
त्यसपछि हेलिकप्टरमार्फत पर्वतारोहण टोली पठाएर पनि उद्धार प्रयास गरिएको थियो। करिब ९० मिटरसम्म सुरूङमार्गभित्र प्रवेशपछि त्योभन्दा उता लेदोले भरिएका कारण भित्रसम्म पुग्न नसकिएको आयोजनाले जनाएको छ।
उद्धारका लागि हिलो फाल्ने पम्प, जेनेरेटर लगायत अवरोध हटाउने उपकरण चाहिएको तर अन्य हेलिकप्टरबाट लैजान समेत सम्भव नभएको आयोजनाले जनाएको छ।
नेपाल आर्मीको एमएआई १७ हेलिकप्टरबाट लैजान व्यवस्था मिलाई दिन सेनालाई अनुरोध गरेको आयोजनाले जनाएको हो।