अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको क्षति र आवश्यकताको मूल्यांकन दुई चरणमा गरिने बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा पूर्वाधार मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलगायत अन्तर मन्त्रालय तथा विभिन्न निकायका प्रतिनिधिसँग भएको छलफलमा उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री वाग्लेले पोस्ट डिजास्टर निड्स असेस्मेन्ट (पिडिएनए) दुई चरणमा गर्नुपर्ने बताए।
‘पिडिएनए दुई चरणमा हुनेछ। यसबाट एउटा क्षति र नोक्सानी आउनेछ भने अर्को बाढी प्रभावितसँगै सिंगो नेपालको विकास मोडल कस्तो हुने भन्ने तय पनि हुनेछ,’ उनले भने।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अर्जेन्ट असेस्मेन्ट’ गरिसकेको जानकारी गराइएको छ। त्यसैका आधारमा राष्ट्रिय योजना आयोगले छिट्टै पिडिएनए गर्ने तयारी गरेको छ।
पिडिएनएले क्षति र नोक्सानीको विवरण निकाल्नेछ। पुनर्स्थापनाका लागि आवश्यक मोडल पनि तय गर्ने जनाइएको छ।
अर्थमन्त्री वाग्लेले पुनर्स्थापना र विकासको मोडलमा आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षलाई पनि जोड्नुपर्ने बताए।
‘अबको पिडिएनएले सिंगो देशको विकास मोडल तय गर्नेछ,’ उनले भने।
अर्थमन्त्री वाग्लेले विजनेस रिकभरी प्याकेज निर्माणको तयारीमा सरकार लागिसकेको बताए।
उनले राहत कोषमा रकम थुप्रिने तर प्रभावितले नपाउने अवस्था अन्त्य गर्नुपर्ने बताए।
‘राहत कोषमा पैसा थुप्रिएको तर प्रभावितले नपाएको प्रश्न आइरहेका छन्। अर्थ मन्त्रालयबाट रकम गइसकेको छ। तत्काल फन्ड मोबिलाइजेसन गर्न मुख्यसचिवज्यू र राष्ट्रिय योजना आयोगका उपाध्यक्षज्यूलाई अनुरोध छ,’ उनले भने।