चीनसँगको तातोपानी नाकाबाट सामान ढुवानी फेरि अस्थायी रूपमा रोकिएको छ।
चीनले दिएको सूचनाको आधारमा पछिल्लोपटक भदौ दोस्रो साताबाट आयात सञ्चालन भएको नाका फेरि अस्थायी रोकिएको हो।
नेपालतर्फको सडक साउन १ गतेदेखि नै बिग्रिएको थियो। त्यसयता नाका सामान ढुवानीका लागि बन्दजस्तै अवस्थामा थियो।
सडक विभागको टोली खटिएर मर्मतको काम गरेपछि अस्थायी रूपमा सडक सञ्चालन भएको थियो। त्यसपछि पछिल्लोपटक भदौ १२ गते तातोपानी नाकाबाट आठ वटा कन्टेनर नेपाल भित्रिएका थिए। तर, त्यसपछि भने अहिलेसम्म थप कुनै कन्टेनर नेपाल आएको छैन।
यसैबीच चिनियाँ पक्षले कार्गो आवागमन अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। नाका कहिलेदेखि पुनः सञ्चालन हुन्छ भन्नेबारे भने कुनै निश्चित मिति तोकिएको छैन।
तातोपानी भन्सार कार्यालयका प्रमुख अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार चिनियाँ पक्षले नाका खुल्नेबित्तिकै नयाँ सूचना दिने जानकारी दिएको छ।
सुरूमा ट्रान्सपोर्ट व्यवसायीहरूले कार्गो रोकिएको सूचना पाएका थिए। त्यसपछि नेपाली भन्सार अधिकारीले चिनियाँ समकक्षीसँग म्यासेजमार्फत बुझ्दा अहिलेको रोक अस्थायी मात्र भएको जानकारी पाएका हुन्।
नेपाल र चीनका सम्बन्धित अधिकारीबीच लियाजन अफिसरमार्फत म्यासेजमा सम्पर्क हुने गरेको छ।
नेपालतर्फ सडक बिग्रिएको र ठाउँ–ठाउँमा पहिरो गएकाले चिनियाँ पक्षलाई सीमामा काम गर्न पनि असहज भएको हुन सक्ने नेपाली अधिकारीहरूको अनुमान छ।
सीमानाकामै सटेर काम गर्ने चिनियाँ भन्सार कर्मचारीलाई अहिले बोर्डरबाट माथि खासामा सारिएको छ। सडक मर्मत तथा प्रशासनिक काम सहज बनाउन उनीहरूलाई माथि सारिएको हुन सक्ने नेपाली पक्षको बुझाइ छ।
भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकामा पनि ठूलो क्षति पुर्याएको छ। नेपालतर्फको सडक भत्किएपछि केरुङमा रोकिएका सामान तातोपानी हुँदै ल्याउने प्रयास व्यवसायीले गरिरहेका थिए।
तर, तातोपानीबाट पनि कार्गो रोकिएपछि चीनसँगको स्थल व्यापारका लागि तत्काल कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था देखिएको छ।
तातोपानी नाकाबाट सामान्य अवस्थामा दैनिक १० भन्दा बढी कन्टेनर सामान आयात हुने गरेको थियो। अहिले भन्सारमा जाँचपास गर्न बाँकी सामान भने धेरै छैन।
चिनियाँ अधिकारीसँग पहिले जस्तो सीमापारि गएर बैठक बस्ने अवस्था नभएको बताइएको छ। नेपाली पक्षले मितेरी पुलको बीच भागमा बसेर भए पनि छलफल गर्न प्रस्ताव पठाएको छ।
चिनियाँ पक्षबाट प्रतिक्रिया आएपछि नाकाको वस्तुस्थिति बुझ्ने नेपाली अधिकारीको तयारी छ।