भोटेकोशी बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि औद्योगिक घराना शारडा ग्रुप र राठी ग्रुपले संयुक्त रूपमा करिब दुई करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका छन्।
प्राकृतिक विपत्तिका बेला नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्नदेखि दीर्घकालीन पुनर्स्थापनाका लागि नगद र निर्माण सामग्रीसम्म सहयोग पुर्याइएको शारडा ग्रुपले जनाएको छ।
सहयोग रकम अन्तर्गत शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाले सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई १ करोड २२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। यसमा शारडा ग्रुपको तर्फबाट १ करोड १ लाख रुपैयाँ र ग्रुप मातहतकै शिवम् होल्डिङ्सबाट २१ लाख रुपैयाँ समावेश गरिएको जानकारी नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष तथा शारडा ग्रुपका प्रबन्ध निर्देशक पवन कुमार शारडाले दिएका छन्।
अर्थ मन्त्रालयमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, निर्देशक गौरव शारडा, राठी ग्रुपका प्रबन्ध निर्देशक अनुपम राठी तथा शिवम् सिमेन्टका निर्देशक रघुनन्दन मारु लगायत उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो।
नगद सहयोगका अतिरिक्त, बाढीग्रस्त क्षेत्रमा भौतिक संरचना पुनर्निर्माणका लागि शिवम् सिमेन्टका तर्फबाट ११ हजार बोरा सिमेन्ट पनि प्रदान गरिएको छ।
यसैगरी, विपद् प्रभावित क्षेत्रका बासिन्दाको तत्कालीन राहतका लागि एसियन थाइ फुड्समार्फत यसअघि नै ६० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिसकिएको प्रबन्ध निर्देशक पवन शारडाले जानकारी दिए।
त्यसैगरी विराटनगरकै आकृति एडभर्टाइजिङका प्रबन्ध निर्देशक मनोज चौहानले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार ५ लाख ५५ हजार रुपैयाँ जम्मा गरेका छन्।
राहत कोषको खातामा रकम जम्मा गरेका चौहानले भौचर जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई हस्तान्तरण गरेका हुन्।