नेपालकै प्रख्यात पर्यटकीय गन्तव्य कास्कीको घान्द्रुकमा बिहीबारदेखि सुविधा सम्पन्न बुटिक होटल सञ्चालनमा आएको छ।
अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा आउने उच्च गुणस्तरका पर्यटकलाई लक्ष्य गरी सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक जितु गुरूङले बताए।
पोखरामा बरपीपल रिसोर्ट सञ्चालन गर्दै आएका गुरूङले घान्द्रुकका स्थानीय खेमबहादुर गुरूङसँग सहकार्य गरी आरजे बुटिक होटल एण्ड स्पा सञ्चालनमा ल्याएका हुन्।
होटलमा अहिले २५ वटा डिलक्स प्रिमियम कोठा छन्। सबै कोठाबाट अन्नपूर्ण, हिमचुली, माछापुच्छ्रे लगायत हिमाल देख्न सकिन्छ भने कोठामा प्राइभेट बालकोनी पनि बनाइएको छ।
होटलको रेष्टुरेण्टमा ११० जनालाई एकै पटक सेवा दिन सकिने क्षमता रहेको संचालक गुरूङले बताए।
आरजे बुटिक होटल सञ्चालन गर्न २०१९ देखि निर्माण सुरू भएको थियो। करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको होटलमा स्पेशल बार बनाइएको छ। होटल करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको छ।
होटलका अध्यक्ष घान्द्रुकका स्थानीय खेमबहादुर गुरूङले आफ्नो जन्मथलोमा सुविधा होटल सञ्चालनमा ल्याउने चाहना पूरा भएको बताए।
पैतृक जमिन बाँझो बनाएर राख्नुभन्दा घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रमा आउने पर्यटकलाई सुविधा सम्पन्न होटल आवश्यक देखिएकाले होटल सञ्चालनमा ल्याएको बताए।
‘घान्द्रक भएर अन्नपूर्ण बेसक्याम्पमा बर्सेनि लाखौं पर्यटक जान्छन्, तर सुविधा सम्पन्न होटल नहुँदा गुणस्तरीय पर्यटकको बसाइ लम्ब्याउन सकिएको थिएन,’ खेमबहादुरले भने, ‘त्यही भएर हामीले बुटिक होटल बनाएका हौं।’
होटलका अध्यक्ष खेमबहादुर सिङ्गापुरे पुलिसको इन्स्पेक्टरबाट सेवा निवृत्त छन्।
उनी अहिले बेलायतमा बसोबास गर्दै आएका छन्।
होटलका प्रबन्ध निर्देशक जितु गुरूङका अनुसार होटलका सबै कोठामा एसी जडान गरिएको छ। होटलमा साउना र स्पा पनि राखिएको छ। होटलमा खुवाइने खाना अर्गानिक भएको पनि उनले बताए।
‘हाम्रो बरपीपल अर्गानिक एग्रो फार्ममा उत्पादन भएकै तरकारी, दूध, अण्डा लगायत खाद्यान्न होटलमा खुलाउँछौं,’ उनले भने, ‘पर्यटकलाई गुणस्तरीय खाना खुवाउन कुनै कसर राखेका छैनौं।’
प्रबन्ध निर्देशक गुरूङका अनुसार आगामी दिनमा होटलमा कोठा थपेर ५० वटा बनाउने र हल थप्ने योजना रहेको छ।