पोखराको मौसम केहीदिनदेखि धुमिल छ। हुस्सु र कुहिरोले बिहानको घाम र हिमाल छेकेका छन्। मौसमी फेरबदलले चिसोपना बढ्दै जाँदा पर्यटन व्यवसायमा भने नयाँ उत्साहको सञ्चार भएको छ।
नेपालको पर्यटन क्षेत्र पनि मौसम जस्तै ‘सिजनल’ छ। सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा पर्याप्त पर्यटकको आगमन हुने भए पनि डिसेम्बर, जनवरी र फेब्रूअरी महिनालाई पर्यटन व्यवसायी ‘अफ सिजन’ मान्छन्। किनकी, यो सिजनमा विदेशीहरू पदयात्रा गर्न आउँदैनन्, हिमाल चढ्दैनन्।
अफ सिजनको सन्नाटा चिर्न पोखराका पर्यटन व्यवसायीले २७ वर्ष अघिदेखि सडक महोत्सव आयोजना गर्दै आएका छन्। जसले नेपालमा रहेका विदेशीलाई नेपालमै रोक्ने र थप पर्यटकलाई आकर्षण गर्ने उनीहरूको उद्देश्य थियो। अहिले त्यो उद्देश्यले सार्थकता पाएको छ।
अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गरिने सडक महोत्सव हेर्न आउने स्वदेशी र विदेशी पर्यटकले यसवर्ष पनि पोखरा खचाखच भयो। लेकसाइडको बैदामदेखि खहरेसम्म साढे ३ किलोमिटर सडकमा यातायात बन्द गरेर आयोजित महोत्सवमा सडकमै खानाका परिकारहरू पकाइएका थिए। चोकचोकमा सांस्कृतिक कार्यक्रम राखिए। जसले सडकमै खानाको वासना र संगीतको स्वाद चखाए।
यस वर्षको सडक महोत्सव मनाउन आउने विदेशीहरूमा भारतीय पर्यटक धेरै थिए। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, नेपाली पर्यटकपछि पोखरामा नयाँ वर्ष मनाउन आउने विदेशीको संख्या सबैभन्दा धेरै भारतीय थिए। नयाँ वर्ष मनाउन पोखरा आउनेहरूले पोखराका ९० प्रतिशत होटल भरिए।
‘नयाँ वर्ष मनाउन नेपालीहरू त पोखरा आउने नै भए, नेपालीपछि ठुलो संख्यामा भारतीय पर्यटक आए,’ सुवेदीले भने, ‘नयाँ वर्षका दिन पोखराका होटलहरू ९० प्रतिशत अकुपेन्सी रहेको छ।’
होटल संघका अनुसार, पोखरामा रहेका १२ सय वटा पर्यटक स्तरका होटलहरूमा ४० हजार बेड छन्। पोखराका पर्यटनमा निजी क्षेत्रबाट मात्र ८ खर्ब लगानी भएको अनुमान छ। जसमा ६ खर्ब रूपैया होटलमा लगानी भएका छन्।
जेनजी आन्दोलन पश्चात यसवर्षको अक्टोबरमा सोचे अनुरूप पर्यटक आएनन्। नेपालमा पदयात्रा गर्न आएका कतिपय पर्यटक गन्तव्यमा नपुग्दै फर्किए। कतिपय नेपाल नआउँदै बुकिङ क्यान्सिल गरे।
तिहारका बेला पनि मौसमका कारण पर्यटकको आगमन सोचे जस्तो नभएको सुवेदी बताउँछन्। मौसममा सुधार आएपछि भने पर्यटकको आगमन उल्लेख्य बढेको थियो। त्यसपछि यसवर्ष पोखरामा पर्यटकको उत्साहजनक आगमन यही नयाँ वर्षमा भयो। जसले पर्यटन व्यवसायीलाई उत्साही बनाएको सुवेदी बताउँछन्।
‘अहिले नयाँ वर्षभन्दा एक साता अघिदेखि नै पर्यटकको राम्रो आगमन छ। एक साता पछिसम्म पनि पर्यटकको राम्रो बुकिङ छ,’ उनले भने, ‘यसवर्ष अफ सिजनमै पनि पर्यटकको चाप बढ्दा व्यवसायीमा उत्साह थपिएको छ।’
सडक महोत्सवमा आयोजक संस्था रेस्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेल पनि यसपालिको सडक महोत्सवमा व्यवसाय फष्टाएको बताउँछन्। विगतका वर्षहरूमा भन्दा राम्रो व्यापार भएको उनको अनुमान छ।
‘सडक महोत्सवमा हजारौं मानिसहरू नयाँ वर्ष मनाउन सडकमा उत्रिए, धेरै नेपाली र भारतीय पर्यटक पनि नयाँ वर्ष मनाउन पोखरा आए,’ उनले भने, ‘व्यवसाय पनि यसपाली बढेको अनुभव गरेका छौं।’
पुस १३ देखि १७ सम्म चलेको सडक महोत्सवमा लाइभ कन्सर्ट, सांस्कृतिक कार्यक्रम, अन्तर्क्रिया लगायतका कार्यक्रमहरू आयोजना गरिए। विशेषगरी लेकसाइडको सडकलाई ‘नो भेहिकल जोन’ बनाएर चोक चोकमा राखिएका सांस्कृतिक कार्यक्रमले पर्यटकलाई आकर्षण गरेको थियो। सडक महोत्सव हुन थालेको २७ औं वर्षमा पुग्दा पोखराका व्यवसायीको चाड बनेको छ। यो चाड मनाउन नेपाली र विदेशी पोखरा आउन थालेका छन्।
अंग्रेजी नयाँ वर्षको चिसोमा व्यवसाय तताउन २७ वर्षअघि तत्कालीन रेस्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराका अध्यक्ष गणेशबहादुर भट्टराईले अग्रसरता लिएका थिए। अंग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा गएका बेला उनले गोवामा नयाँ वर्षको तामझाम सडकमै छताछुल्ला देखेका थिए।
गोवाको नयाँ वर्षमा कोही नाँचिरहेका त कोही गाइरहेका। सडकमै खाना बनाउनेदेखि खानेसम्मको भीड। समुन्द्री तटले प्रख्यात बनेको गोवा पर्यटकका लागि अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यमा स्थापित भइसकेको थियो। भट्टराईले गोवामा देखेको छनक पोखरामा लागू गर्न चाहे।
त्यतिबेला नेपालमा पर्यटक भनेकै विदेशी मात्रै थिए। अहिले जस्तो नेपाली पनि देश–देशावर घुम्न निस्कँदैनथे। कोही घुम्न निस्के पनि नेपालीलाई व्यवसायीले पर्यटक ठान्दैनथे। विदेशी पर्यटकको भरमा टिकेको थियो नेपालको पर्यटन उद्यम।
अहिले पनि नेपालको पर्यटन सिजनमा आधारित छ। विदेशी मात्र होइन, नेपाली पनि त्यहीँ पर्यटकीय सिजनमै घुम्न मन पराउँछन्। फागुन, चैत, वैशाख, असोज, कात्तिक र मंसिर नेपालका लागि पर्यटकीय सिजन हुन्। यस सिजनमा मौसम सफा हुन्छन्। पदयात्राका लागि अनुकुल हुन्छ।
मंसिर सकिएपछि पर्यटकीय शहर पोखरा पनि सुनसान हुन्थे। अफ सिजनमा पनि कसरी पर्यटक भित्र्याउन सकिन्छ भनेर व्यवसायी चिन्तित थिए। अहिले पनि पर्यटनका गफहरूमा सिजनल पर्यटनबाट १२ महिना पर्यटक कसरी तान्न सकिन्छ भनेरै धेरै पर्यटन उद्यमी र नीति निर्माता घोत्लिन्छन्।
भारतको गोवामा देखेका कुरा पोखरामा अप्लाई गर्न भट्टराईले रेवानको आयोजनामा सडक महोत्सवको परिकल्पना गरे। जहाँ गोवामा जस्तै लेकसाइडका साढे ३ किलोमिटर क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने, सडकमै खाने, नाच्ने, घुम्ने, सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने।
भट्टराईको प्रस्तावलाई अरूले पनि सहर्ष समर्थन गरे, त्यसपछि नै लेकसाइडमा सुरू भएको थियो, ‘न्यू इयर इभ, स्ट्रिट फेस्टिभल।’
यसरी सुरूवात भएको सडक महोत्सव पोखराको पर्यटन क्षेत्रलाई चलायमान गराउने उत्सबका रूपमा स्थापित भइसकेको छ। यसको नदेखिने संकेत नयाँ वर्षको पूर्वसन्ध्यामा भएको विद्युत खपतलाई पनि हेर्न सकिन्छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार पोखरामा अरू बेला ४२ देखि ४५ मेगावाट बिजुली खपत हुन्छ। जबकी, न्यु इयर इभमा करिब ६० मेगावाट विद्युत खपत भयो।
प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार, न्यु इयर इभमा बिजुली आपुर्तिमा समस्या आउन नदिन ३ वटा प्राविधिक टिम फिल्डमा खटिएका थिए भने एउटा टिम कार्यालयमा बसेर समन्वय गरेको थिए।
यादवका अनुसार, पोखराको व्यवसायिक क्षेत्रमा बिजुली आपूर्ति सहज बनाउन यसअघि कुँडहर फिडरबाट मात्र बिजुली खपत गर्ने गरिए पनि न्यु इयर इभमा हेमजा र लाहाचोक फिडरबाट पनि बिजुली आपूर्ति गरिएको थियो।
‘सडक महोत्सवमा बिजुलीको समस्या नहोस् भनेर हामीले चारवटा टिम बनाएर खटाएका थियौं,’ उनले भने, ‘अरू बेला पोखरामा ४२ देखि ४५ मेगावाट बिजुली खपत हुन्थ्यो। न्यु इयर इभमा तीनवटा फिडरबाट गरी ६० मेगावाट बिजुली खपत भयो।’
विद्युतको उच्च माग भएका बेला कुनै समस्या नआउने गरी समन्वय गरेको रेवान महासचिव विरेन्द्र शेरचनले बताए। बिजुलीको खपत बढ्नु भनेको व्यवसाय पनि बढेको संकेत भएको उनले बताए।
‘नयाँ वर्षमा कति व्यवसाय भयो भनेर हामीले निश्चित तथ्यांक निकाल्न सक्दैनौं,’ उनले भने, ‘अरूबेला भन्दा १५ मेगावाट बढी विद्युत खपत हुनु भनेको व्यवसाय पनि त्यही अनुपातमा बढको हुनुपर्छ।’
गोवाबाट सिकेर पोखरामा पर्यटक तान्न अंग्रेजी नयाँ वर्ष मनाउन थालिएको पनि २७ वर्ष बितिसकेको छ। पर्यटकीय शहर पोखरालाई चलायमान बनाउने यस्ता कार्यक्रम नयाँ वर्षमा मात्र नभएर अरू बेला पनि आयोजना हुनुपर्ने व्यवसायीहरूकै भनाई छ।
लेकसाइडको हलनचोकदेखि बाराहीघाटसम्म ‘नो भेहिकल जोन’ बनाएर विशेष क्षेत्र बनाउन यसअघि प्रयास भए पनि सार्थकता पाउन सकेको छैन। यसलाई निरन्तरता दिनुपर्ने रेवानकै पूर्व अध्यक्ष सुर्य भुजेल बताउँछन्।
‘हामीले लेकसाइडको मुख्य क्षेत्रलाई नो भेहिकल जोन बनाउन प्रयास गरेका थियौं, केही प्राविधिक कुराहरू मिलेन,’ उनले भने, ‘यसका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्छ।’
उनका अनुसार, लेकसाइडमा जोड्ने भित्री गल्लीहरू मध्ये २ वटा गल्लीले बजारको सडक छुँदैन। जसले गर्दा ती दुइटा गल्लीमा रहेका होटल, रेस्टुरेण्ट लगायत व्यवसायको सडक सम्पर्क नो भेहिकल जोन बनाउँदा टुट्छ।
यी दुइटा गल्लीले पोखराको अन्य सडकसँग जोडिने गरी बाटो खोल्न सके नो भेहिकल जोन बनाउन सकिने भुजेल बताउँछन्।
‘लेकसाइडका दुइटा गल्ली सडकसँग जोड्न सके नो भेहिकल जोन बनाउन सकिन्छ,’ उनले भने, ‘यति गर्न सकियो लेकसाइड क्षेत्रमा आकर्षण बढ्छ।’
सबै तस्वीरहरू सौजन्य– आशिष विक
-1767274526.jpg)
-1767274526.jpg)
-1767274524.jpg)
-1767274525.jpg)
-1767274525.jpg)
-1767274525.jpg)