यस वर्षको स्प्रिङ सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल २३ जना गुरूङ आरोहीलाई सम्मान गरिएको छ।
गुरूङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) ले तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एटजोन) सँगको सहकार्यमा राजधानीमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा गुरूङ समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तित्व मोतिलाल गुरूङले आरोहीहरूलाई प्रशंसा पत्रसहित सम्मान गरे। उनले हिमाल पर्यटनमा व्यावसायिक रूपमा सक्रिय रहन र आफ्नो सीप तथा क्षमता थप विकास गर्न युवाहरूलाई प्रेरित गरे।
यस वर्ष सयौं आरोहीले सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। तीमध्ये गुरूङ समुदायका दुई दर्जनभन्दा बढी युवाले पनि ऐतिहासिक सफलता हासिल गरेका छन्।
विशेषगरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक र संखुवासभाको भोटखोला गाउँपालिकाका युवाहरूको उल्लेख्य सहभागिता छ।
साथै तनहुँ, कास्की र ताप्लेजुङका आरोहीले पनि सगरमाथा चुम्न सफल भएका छन्। गुरूङ समुदायबाट एकै सिजनमा यति धेरै आरोहीले सगरमाथा आरोहण गरेको यो पहिलो अवसर मानिएको छ।
सम्मानित आरोहीमध्ये पुरबहादुर गुरूङले १० पटक, सुमन गुरूङले ८ पटक, इमान गुरूङ र अनुप गुरूङले ७–७ पटक तथा प्रकाश गुरूङले ६ पटक सगरमाथा आरोहण गरिसकेका छन्।
कास्कीका तेजेन गुरूङ गुरूङ समुदायबाट १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो आरोहीका रूपमा परिचित छन्।
कार्यक्रममा बोल्दै मोतिलाल गुरूङले हिमाल क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढ्दो रूपमा देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे।
'मेरो समयमा फेरिचेदेखि नै बाक्लो हिउँ देखिन्थ्यो, अहिले सगरमाथाको चुचुरोमै हिउँ कम देखिन थालेको छ,' उनले भने।
हिमालको प्राकृतिक स्वरूप जोगाउनु नेपालका लागि अपरिहार्य रहेको उनको भनाइ थियो।
यसै अवसरमा एटजोन काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको थियो।
नवीनबाबु गुरूङ अध्यक्ष रहेको नयाँ कार्यसमितिमा किशोर गुरूङ, पिम गुरूङ, सृष्टि गुरूङ, अनुप गुरूङ, रत्न गुरूङ र अपेक्षा गुरूङ छन्। साथै जुली गुरूङ संयोजक रहेको मिडिया डेस्क गठन गरिएको छ भने गरिमा गुरूङलाई जिटिन सद्भावना दूत घोषणा गरिएको छ।