धेरैले बनाए प्रीयसीको नाउँमा
रानी महल
धेरैले लेखे प्रीयसिकै नाउँमा
गीत गजल
ओ !
मेरो माहाराज धिराज
म बनाउँछु अब
क्षितिजको विशाल बगैंचा भित्र
तिम्रो सम्झनामा राज महल
जँहा ,
केवल प्रेमिल इँटा लगाइनेछ
प्रेम रसले सिन्चित सिमेन्ट लेपिनेछ
र,
पोतिनेछ प्रेम समर्पणको सुनौलो रङ्ग।
गीत, गजल
कविता र कथाहरु मात्रै होइन
प्रणय लेखनमा नुतन सुरुवात हुनेछ
प्रेम महात्य लेख्न
स्तुति गान रच्न
धाउने छन
शब्द खेती गर्ने खेतालाहरु
त्यो राज महलसम्म
अनि,
अमिट लेखिने छ श्वेत पन्नाहरुमा
प्रेमको रातो मसिले
राज महलको नुतन इतिहास ।