हो, म आमाकै गर्भमा हुर्किएँ
आमाकै रगतले सिञ्चित भएँ
तर,म त्यै बच्चादानीमा खेल्दै गर्दा
मेरा लागि एउटा सुन्दर संसार तयार पार्न
अनगिन्ती कसरत गर्ने
तिमी त थ्यौ नि बा
म आँगनमा बामे सर्दै गर्दा
तिम्रै औंलाको सहाराले त
पहिलो पटक ठाडो उभिएको थिएँ
म यो धरातलमा बा
अनि मेरा पहिला कदमका निम्ति
मलाई अगाडि हिँडाउँदा
आफू पछाडि हिँड्ने
तिमी त थ्यौ नि बा
मनभरि सपना बोकेर
मलाई नीलो कमिज र पेन्टमा सिँगारेर
जून दिन स्कुलको गेटमा डोर्याएका थ्यौ
कम्ता गदगद थिएनौ तिमी त्यो दिन बा
हो मलाई त्यै चम्किलो कवच पहिराएर
आज संसार बदल्ने आँट जुटाइदिने
तिमी त हौ नि बा
म पढ्दै गर्दा
म बढ्दै गर्दा
म दुनियाँसँग लड्दै गर्दा
म कैयौं जीत जितेको छु
र कैयौं हार हारेको छु
तर मेरो हरेक जीतमा
मभन्दा बेसी खुसी हुने
अनि मेरो प्रत्येक हारमा पनि
एउटा बेग्लै जीत देख्ने
तिमी त थ्यौ नि बा
जीवन सय मिटरको हर्ड्ल रेस न हो
सबै त हुत्तिन खोज्छन्
अरुलाई उछिन्नै खोज्छन्
हो त्यै कडा प्रतिस्पर्धामा पनि
मेरा स-साना खुसीका खातिर
आफ्ना थुप्रै छलाङहरू बेच्ने
तिमी त हौ नि बा
यदि मस्तिष्कमा रिल हुँदा हुन् त बा
धुल्याउने थिएँ म
तिम्रा सारा त्याग र समर्पणका तस्बिरहरू
र टाँस्दिने थिएँ भित्तैभरि
र हेर्ने थिएँ वर्षैभरि
किनकी बा
मलाई तिम्रो मुख हेरेर
एक दिनले त के
एक जुनीले नि पुग्ने छैन
अनि त कामना गर्छु कि
यदि अर्को जन्म हुने नै रै’छ भने
फेरि तिम्रै अनुहार हेर्दै भन्ने मन छ
‘मेरा बा’ ।