कविता
हामीले सँगै हिँडेको बाटो
मैले वा तैले एकदिन एक्लै हिँड्नु पर्नेछ
हामीसँगै बसेको आँगन
मैले वा तैले एकदिन एक्लै टेक्नु पर्नेछ
यी कुराहरू सम्झन नचाहेरै म सम्झिँरहेछु
यो सोचेर डराएको छैन भन्दै म डराइरहेछु
एकसमय खचाखच हुने यो गुँड हेर त
अहिले कस्तो सुनसान छ
तुफान आउनुअघिको आकासजस्तो
म अघि लागे भने तेरो के हालत होला?
तँ अघि लागिस् भने मेरो हात कसले समाउला?
यो सोचेर मेरो मुटु थरथरी काप्छ हो बूढी
मलाई डर छ
तैले र मैले मकै-भट्मास चपाएर खुवाएकाहरू
हाम्रो अन्तिम समयमा पनि पानी पिलाउन आएनन् भने?
रित्तो भकारी हुँदा पनि भोको पेट हुन नदिई
पढाएर ठूला बनाएका हाम्रा सन्तानहरू
हाम्रो खाली मन र खाली पेट भर्न आएनन् भने?
तँलाई सम्झना छ?
स्कुलका सबै साथीहरू वनभोज जाने भएपछि
हाम्रो ठूलेले पनि वनभोज जाने ठूलो रहर गरेको
उसले बोल्दै नबोलेको त्यो रहर
तैले र मैले उसको अनुहार हेर्दै बुझेका थियौं
ऊ पिकनिक जान पाएर कत्ति खुसी भएको थियो है
त्यै ठूलेले हाम्रो मुक्तिनाथ जाने रहर
बुझेर पनि बुझ पचायो भने?
तँलाई याद छ हाम्रो माइलो कस्तो छुक्छुके थियो
कहीले रूखबाट हाम्फाल्थ्यों
कहीले धुले बाटोमा लडीबडी गर्थ्यो र कपडा च्याथ्यो
त्यसले दैलोको च्यापमा आफ्नै औंलाहरू च्यापेर
प्याट्टै फुटाएको के तँलाई सम्झना छ?
तँ उसलाई मजेत्रोले ढाडमा बेरेर
खाली खुट्टै दौडेर अस्पताल पुगेकी थिइस्
तँ भन्थिस् नि डाक्टरले उसलाई सुई लगाउँदा
तेरै मुटु घोचिए झैं भएको थियो
त्यै माइलोले तँ थला पर्दा
अस्पताल लिएर जानु त टाढाको कुरा
तेरो सञ्चो बिसञ्चोसम्म सोधेन भने?
घाउमा मल्हम लगाउनु त दूरको कुरा
तँलाई वचनका तीर चलायो भने?
यो हात-हातमा पाइने फुन बाजा (मोबाइल) पनि
पहिले त कहाँ थियो र?
तँ र म घण्टौं हिँडेर बजार पुग्थ्यौं
र, फोनको लाइनमा घण्टौं कुरेर
पढ्न डेरा बसेको कान्छोलाई फोन गर्थ्यौं
तँ मलाई लुकाई लुकाई चामलका बोरामा
१०० र ५०० का नोट हाल्थिस्
म थाहा नपाए झैं गर्थें
तँ मैले नदेख्ने गरी कान्छोको कानमा फुस्फुसाउँथिस्
र, भन्थिस् तँ पनि साथीहरूसँगै बसेर खाजा खानू।
तेरो कान्छो अहिले ठूलो मान्छे भएको छ रे
त्यै कान्छोले तँलाई चट्टकै बिर्सियो भने
तँलाई आफैं फोन गर्नु त टाढाको कुरा
तैले गरेको फोन पनि उठाएन भने?
ज्वाईंका घर गएका छोरीहरूको खै के कुरा गर्नु?
तेरा छोरीहरू तैले बुहारीलाई माया गरेको देखेर
साह्रै आरिस गर्छंन् हो बूढी
तेरा तिनै बुहारीहरूले तँलाई
कहिल्यै आमा ठानेनन् भने?
तँलाई थाहै छ हो बूढी म त अनपढ, गँवार छु
तेरो कुरो म के बुझौं? तँलाई के बुझाऊँ?
तर, हाम्रा बुझक्कडहरूले
तेरो र मेरो मनोदशा बुझेनन् भने?
तैले र मैले जोडेको धर्ती चिरेको दिन पनि
यो छाती यति साह्रो चिरिएको थिएन
यी फाल्तु कुरा सोचेर किन मुटु चिरिन्छ हो बूढी?
भैगो हो बूढी तँसँग कत्ति गन् गन गरौं?
तँलाई एउटा बिन्ती बिसाउनु छ
मेरो अगाडि घरिघरी नरो न हौ बूढी
तेरा आँसु पुछ्दै तँसँगै रुँने हिम्मत
म बुढोसँग कहाँ बाँकी छ र?