आफूलाई सहरको पिजा वर्गरभन्दा आमाले पकाएको मकै अनि कोदो, फापर खान मन लाग्थ्यो।
स्वीमिङ पुलभन्दा गाउँकै निलो दह र वैकुण्ठेको झरना सम्झना आउँथ्यो। बेमौसमका विदेशी एभोकाडो र जापानिज हलुवा वेदभन्दा स्वदेशी फलफूलहरू आँप–कटहर अनि खनियो र जमूना खाएको बाल्यकाल फिलिमका रिल जस्तै घुमिरहन्थ्यो तर के गर्नु?
रहरका पोकोभन्दा बाध्यताको ढकले घोट्दै गइरहेको थियो। चालीस कटेपछि गाउँ फर्केर रमाउला भन्दाभन्दै झन्डै आधा दशक थपिएपछि यो अवसर जुरेको थियो।
वर्षाको समय बाउसे गरियो, घरको खेत ट्र्याक्टरले जोते पानी धेरै पर छिमेकीकोमा गएर तीन दशकपछि हलो जोतियो। रोपाइँ सकेपछि आफ्नै गाउँ ठाउँ, चितवन माडी राम्ररी पूरै घुमियो। घुमाइसँगै फलफूलहरू बोटमै चढेर खुब खाइयो, धेरै थरि फलफूलहरू आफ्नै घरमा नै थिए तै पनि यति धेरै प्रकारका आँप खाइयो कि कतिको त नाम बल्ल थाहा भयो।
त्यसपछि रूख कटहर, केरा, भुइँ कटहर, खनियो, रानीकुसुम कति कति!
सामाजिक संजालमा जोडिएका साथीहरूलाई पनि तड्पाउने र गाउँ फर्किउँ फर्किउँ सम्मको भड्काउने गरी। गाउँभरि बोटमा फलफूल लटरम्ब तर खाने युवाहरू सबै बाहिर। बोटको फल टिपेर खान पनि मुश्किल।
धेरैको घरमा गएर बोटबाट टिपेरै धेरै थरी फलफूल खाइयो–खुवाइयो। चितवनमा वर्षा सिजनमा फल्ने फलहरूमा खान बाँकी जमूना मात्रै थियो यसलाई कतै जामुन त कतै फडेर पनि भन्छन्। गाउँ घर तिरका ठूला बोटहरू इँटा पोल्दा सबै सकेछन्। कतै कतै साना बोट भेटियो तर हाँगा काट्ने गरेकोले नफलेका रहेछन्। आफूलाई बाल्यकालको भूत चढिसकेको थियो। स्कुलबाट फर्किँदा गोजीभरि जमूना राख्दा कमिजको खल्ती कालै भएको, कस्को जिब्रो कालो भनेर साथी साथीमा रमाउँदै खाएको सम्झनाले तलतल बनाएको थियो। बल्ल–तल्ल पल्लो गाउँमा छ भन्ने थाहा भयो।
बिहान झिसमिसेमै गएँ तर बोट धेरै अग्लो भएकोले न चढ्न सक्नु न झटराले झार्न। भुइँमा झरेका छन् कि भनेर खोजे तर खेतको हिलो माटोमा भएका दुई–चार दाना पनि खान मिल्ने अवस्थामा थिएनन्। बोटमा चढ्न निकै कोसिस गरेँ, दुई दिनसम्म बोटमा जाँदै चढ्ने प्रयास गर्दै फर्केको देखेर होला बोट धनीले ऊ त्यो पल्लो घरमा भर्याङ्ग छ ल्याएर चढ्नू अनि खानू न भनिन्। अनी लागें उतैतिर भर्याङ्ग लिन। भर्याङ्ग त थियो तर बोक्न कम्तीमा पनि दुई तीन जना चाहिने धेरै ठूलो र लामो बाँसको भर्याङ्ग। पहिला–पहिला ठूला–ठूला परालका टौवा लगाउन बनाएको भर्याङ्ग त्यसमाथि पनि गोठमा बाँधेर बन्दोबस्तले थन्क्याएको। घरमा को हुनुहुन्छ भन्दै बोलाएँ बल्ल तल्ल बुढा बा लठ्ठी टेक्दै आउनुभयो।
घरमा छोरा नातिहरू सोधें। उमेर पुगेका सबै विदेश, स–सना नाति– नातिना रहेछन्। अनि सन्चो विसन्चो सोधेर पुलुक्क भर्याङ्गतिर हेरें अनि फर्किएँ बोटतिर। बोटका जमूना हेर्दै भनेँ हई बरै... मेरो बिहान दुई घण्टाको मर्निङ वाक वल्लो पल्लो गाउँतिर चाहर्दै बाल्यकाल सम्झँदै र ताजगी बनाउँदै भेटे सम्मका ताजा फलफूलहरू बोटमै खाँदै हिँड्थे।
यस्तै क्रममा एक दिन जंगलको घाँचतिरको बाटो समातेँ। बाटोमा बिस्ने दाइ भेटिए र जंगलको घाँच–घाँच दुई वटा खोला कटेपछि ठूलो बोट छ भने अनि घर फर्किन लागेको मान्छे लागेँ उतैतिर।
जंगलको छेउ–छेउको बाटो त्यसमाथि शित परे जस्तो हल्का सिम–सिम पानी अनि बीच बीचमा सुनसान। जंगलमा छस्ल्याङ्ग हुँदा पनि झस्याङ्ग हुन्थ्यो। घरमा आमाले जंगल छेउतिर एक्लै नजाऊ है बाबु आजकल त जंगल जाने मान्छे हुन छाडे (हराए) बँदेल–भालु त छेउ–छेउमै आउँछन् भन्नु भएको थियो। बल्ल तल्ल बोटमा त पुगियो। बोट रहेछ दुई अँगालो भन्दा पनि मोटो र भयङ्कर ठूलो। टोपी खस्ला कि भन्दै एक हात शिरमा राखेर माथि हेरें बोटमा लटरम्म जमूना।
हँसिया र भर्याङ्ग केहीले पनि मबाट पार नलाउने। अनी सुस्केरा हाल्दै उही 'हई बरै... ' भनेर बोट मुनितिर नजर डुलाएको त बाँदरले अलि अलि झारेका रैछन् अनि टिप्न थालें जमूना। बोटमुनि पात पतिङ्गरले छोपिएकाभन्दा खोलातिर गएको सङ्गलो पानीमा काला जमूना टलक्कै देखिने। मुठीभरि टिपेर ठूलो ढुङ्गामा बसेर खोलाको पानी र चराचुरूङ्गीका आवाजमा संगीतमय वातावरणमा डुबुल्की मार्दै आफ्नै धुनमा जमूना खाँदै थिएँ।
'हैन हाम्रा गाम्मा नयाँ–नयाँ मान्छे एकाबिहानै खोलामा के गर्दै हो?' भन्ने आवाजले झस्याङ्ग भएँ र पुलुक्क उनीतिर हेरें। 'दाइको घर कता पर्यो?' भन्न भ्याइन्, हत्तपत्त ढुङ्गामा राखेको टोपी र थाप्लोमा सारेको चस्मा आ–आफ्ना ठाउँमा ठेगान लगाउँदै नजर तन्काएर हेरें। साथमा १०–१२ वर्षकी नानी पनि थिइन्। आफू यता दुई तीन घण्टाको हिँडाइले पसिना पसिना भएको मान्छे टोपी ढुङ्गामा राखेर जमूना खाँदा त्यही ठाउँलाई वृन्दाबनको जस्तो आनन्द लिइ राखेको थिएँ। उनी यत्तिकैमा रोकिनन् 'हैन बोली पनि सकिएला जस्तो गर्नु भो किन हो ?' भने पछि म जुरुक्क उठेर उतै गएँ।
'अनि मेरो घर पनि त्यहीँ पल्लो शितलपुर त हो नि! तपाईंहरू चार नम्बर, हामी दुई नम्बर' भनें।
'शितलपुर...! कसका छोरा हुनुहुन्छ र?' भन्दै आश्चर्य मान्दै सोधिन्।
मैले पनि 'म देवीलाल पाण्डेको जेठो छोरा मात्रै के भनेको थिएँ उनी त गाग्री भुइँमा राख्दै ओई शंकर होस तँ ? भन्न भ्याइन् अनी हाँस्दै भनिन् मलाई चिनिनस् म जमूना क्या जमूना। पाँच कक्षासम्म सँगै पढेको होइन भन्दै शिरदेखि पाउसम्म हेरिन्।
एक मिनेटको मौनतामा सिम्रहनी स्कुलमो शिशु कक्षादेखि पाँच कक्षा सम्मको रिल प्रकाशको गतिमा फिलीली घुम्यो। अनि ऊ नानी को त भन्न पुगेछु। उनले नातिनी भन्न के भ्याइथिन् मैले तिम्रै? भन्न पुगेछु। ल ल हिँड घर जाम कति वर्षमा भेट भएको भन्न पो थालिन्।
मनमनै उसका नाति उमेरका आफ्ना छोराहरू सम्झिँदै पछि लागें। बाल्यकालका दौंतरी र पलहरूलाई ताजगी बनाइयो।
स्कुले जीवनका र बाल्यकालका रमाइला गफहरूमा हराएको पत्तै भएन। गफिँदै जाँदा अघिसम्म दाइ भनेकीले अब भाइ भन्न थालिसकिन्। मेरो त बिहान मर्निङ वाल्कमा टोपी लाएर जाँदा भाइ भन्नेले फर्किँदा गर्मीले टोपी खोलेर आउँदा तक्लु देखेर अंकल भन्छन् नि भनेको त, ए त्यसो भए त मैले त दाइ मात्रै पो भनिछु नि ? भन्दै खित्का छोडेर हाँसिन्।
'तेरो भिडिओ र लेखहरू फेसबुक र टिकटकमा कति हेर्दी रैछु मलाई तँ होस् भन्नि के थाहा? कती व्यङ्ग हान्न जानेको होस् त नि?' भन्दै हाँस्न थालिन्।
खासगरी उनी मेरी दिदिकी साथी, चार कक्षामा मैले भेटाएको। शोभाखर सरले सबै कक्षाका मेन्टरहरूलाई अनुशासनका नियमहरू सिकाउँदा उनी पनि चार कक्षाकी मेन्टर थिइन्। उनी चार कक्षाकी फस्ट गर्ल होलिन् भन्ने मलाई लागेको थियो किनकि म आफै पनि बल्ल तीन कक्षामा पहिलो चोटी मेन्टर हुने अवसर पाएको थिएँ। म चार कक्षामा जाँदा त उनी पनि फेरि चार कक्षामै देख्दा तीनछक परेको थिएँ। चार र पाँचमा सरहरूले पढाइको पहिलोभन्दा पनि अरूलाई अनुशासनमा राख्न सक्ने र हट्टा–कट्टा खाइलाग्दोलाई मेन्टरमा छान्नु हुँदो रहेछ। जमूना दिदी त अति कडा स्वभावकी, बलियी पनि उस्तै दुई चार जनालाई ठामको ठाम तह लगाउने खालकी। धेरै जनालाई वर्षामास खोला तर्दा हात समाएर अनि बोकेर तार्थिन् अरे।
विस्तारै जीवन कहानी बताउन थालिन्- हेर शंकर पाँच कक्षापछि तिमीहरू बरुवा पढ्न गयौं, म बसन्तपुरतिर। बल्ल तल्ल सातसम्म के पुगेकी थिएँ बाले जेठी छोरीको त चोखो जल खानुपर्छ भनेर बिहे गरिदिनु भयो। ससुरा बा भारतको गुजरात तिरको नोकरी। पछि भिनाजु पनि दश पास गर्न सकेनन् अनि बासितै लाउर लागे। पाँच–सात वर्ष सम्म बाउ छोरा पालो गरी चार्ड पर्वमा आउनुहुन्थ्यो। सबै राम्रै चलिरहेको थियो। एकाएक हाम्रो परिवारमा दुःखका दिन सुरू भए। दुई बाउ छोरालाईनै एउटा ठूलो केसमा त्यहीँकाले फसाइ दिएछन्। यिनी भागेर नेपाल आए बा जेल पर्नुभो। पछि एउटी छोरी पनि भई तर भिनाजूले लत्तो छोडे। बारमासे तास अनि रक्सि खाएर मलाई कुट्ने। आफ्नो भाग्य यस्तै भन्दै छोरा–छोरी हेरेर बसेकी थिएँ। पछि त कान्छी ल्याएर मलाई घरबाट निकाले। भान्जा–भान्जी बोकेर म माइती आएँ। बाले पनि तेरो कर्मै यस्तो अब यतै बस भन्नुभयो। यहीँ बाआमा सँगै दुःख सुख गर्दै छोरीको बिहे दान गरें। मेरो पनि पाठेघरको समस्या बल्झियो। उपचारमा उस्तै खर्च भयो त्यहीँ माथी बैनीको बिहेको ऋण तिर्न भान्जो पनि विदेशतिर लाग्यो। उसलाई पनि आफ्नै बिहे, मेरो उपचार अनि यी केटाकेटीको खर्च धान्न उस्तै धौधौ छ बाई के गर्नु? भनेर सुस्केरा हाल्दै घर छेउमा फलेका नासपती टिप्न थालिन्।
मलाई भने एकाएक पाँच कक्षामा तिहारको बेलामा खेलेको नाटकको याद आयो। 'दिदी तपाईंलाई पाँच कक्षामा हामीले खेलेको नाटक याद छ? सम्झिनु त भनेको के थिएँ, दिदी एकाएक रून थाल्नुभयो। समाजमाचलेको बहुविवाहको बारेमा मञ्चन गरिएको नाटक हुबहु दिदीको वास्तविक जीवनसँग मेल खाएको थियो। बुद्धिले दुलाहा र जमूना दिदीले दुलहीको भूमिका निभाउनु भएको थियो।
स्कुले जीवनमा सबै साथीलाई अनुशासन र ठेगानमा राख्न सफल दिदी आफ्नै जीवनको जीवन साथीलाई अनुशासनमा राख्न नसकेर हार्नु भएको थियो। तर कल्पना गरिएको नाटक चाहिँ वास्तविक जीवनसँग जस्ताको तस्तै। अघिसम्म बाल्यकालको स्मरणमा रमाइरहेको म, गहभरि आँसु लिएर दिदीले दिएको चार दाना नासपाती बोकेर घरतिर फर्कें। जिन्दगी पनि यस्तै रहेछ। हई बरै ...।