Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

मायाको बीमा

पदमराज अवस्थी

पदमराज अवस्थी

gibl
gibl
gibl
gibl
पदमराज अवस्थी।
पदमराज अवस्थी।
Tata box 1
Tata box 1

तिम्रो कतारको भिसा आएको दिनदेखि म वनपाखामा अनायसै टोलाउन र विरहका गीत गुन्गुनाउन थालीसकेकी थिएँ। तिमीले एकादशीको दिन नै काठमान्डौँ जान्छु, म्यानपावरले आधारभूत तालिमका लागि बोलाएको छ भनेका थियौँ। तर सासुआमाले बल गरि पूर्णिमासम्म बस्न भन्नु भएको थियो।

स्वस्थानी व्रतको साङ्गेको दिन थियो त्यो। बिहान खाना खाएर सधैझैँ म वालीधार तिर रुपसि भैसि चराउन गएपनि बिहानदेखि नै मेरो मन वालीधारको बतासभन्दा पनि बेतोडले बहकिरहेको थियो।

भैसि लिएर वन तिर निस्किदा मुरेठोमा दुई फाको भुटेका मकै दिदै सासुआमाले भन्नु भएको थियो- 'आज साङ्गेको दिन, भरे पुजाको लागि वनफूल टिपेर ल्याउनु।'

भोलि बिहान तिमी मलाई एक्लै छोडेर जाने निश्चित थियो। यसैले पनि फागुनको पारिलो न्यानो घामले समेत मनमा पसेको वियोगको चिसोलाई कम गर्न सकेको थिएन।'

तिमी तीन वर्षका लागि जाँदै थियौ तर मेरा लागि ती तिन वर्ष त्रियुग बनेर बसेका थिए र जसोतसो त्रेता युग काटेछु भने म मेरो प्रिय कली भेट्न पाउने छु जस्तो भाव मनबाट छचल्किएर परेलीको बाटो हुँदै बाहिर आउदै थियो। यहीँ वालीधारमा तिमीसँगका तमाम सम्झना एक-एकले छाती भित्र ज्वार हानीरहेका थिए।

मानौँ मेरो छाती अब छाती नै हैन, पहिरोले थुनिएको कर्णाली हो। झवाट्ट हेर्दा बिजुली निकाल्न सकिने तर कुन दिन फुटेर छताछुल्ल हुने हो ठेगान नभएको। तिम्रो साथमा झरी पर्दा अटाई-नअटाई हामी बस्ने ओडार र हिउँदमा घाम ताप्ने ढिपु मेरा लागि विशाल दरबार थिए।

तिमीले बासुरी बजाउने वन मेरा लागि स्वप्न बाटिका थियो। म आफै एउटा वन थिए र वन आफैमा म थियो। त्यसैले म तिम्रो लागि उड्ने पुतली थिए। तिम्रो कान सजाउने वनकुसुम थिए। र, तिम्रो प्यास मेटाउने निर्झर थिए।

यादै यादमा दिन ढल्दै थियो। सासुआमाले टिपेर ल्याउनु भनेका वनफूल टिप्ने उर्जा मसँग थिएन। तथापी सागिना फूलेर वालीधार सेताम्य बनेको थियो। स्वस्थानीका लागि फूल नटिप्नु पनि कसरी जवकि मेरो नियती पनि पति प्रदेश गएकी गोमा ब्राह्मणीको जस्तो हुने वाला थियो।

सागिना टिपेर आँचलमा राख्दै गर्दा सागिनासँगको स्पर्शले तिम्रो प्यार बल्झन्थ्यो। फूलको रस चुस्न बसेका पुतली र भमरा मैले फूल टिप्दा भुर्र उडेर जान्थे। भोलि त मेरो भमरा पनि मलाई यसरी नै छोडि जानेछ भन्ने लाग्थ्यो।

Ncell
Ncell

सेतो फूल झाडी बास्नाले मगमगाएको भए पनि त्यो बास्नाले ममा कुनै उत्तेजना थपिरहेको थिएन। तिम्रो स्पर्श पाउन लालायित हुने मेरा अंगहरु भोलिको विछोडको क्षण र त्यसपछिको एक्लो जिन्दगी सम्झेर शिथिल थिए।

अधरमा ताल्चा लगाएर चाबी अरु कसैले राखे जस्तो। नयनमा कसैले धुपवाला चस्मा लगाईदिए जस्तो। कस्तो न कस्तो उकुस-मुकुस भईरहने। गाई छुटेको बाछी जस्तो। बाछी छुटेको गाई जस्तो।

सूर्य क्षितिजमा पुगिसकेको थियो र पनि घरबाट ल्याएको मकै खान पटक्कै मन भएन। रुपसि भैसि अघाएर सुतिरहेको थियो। सासुआमाले भनेका वनफूल आँचलमा पोको पारे र रुपसि लिएर घर तिर लागे। घरमा पुजा तयारि सबै सकिएको थियो।

टिपेर ल्याएका सागिना सासुआमालाई दिए। राति अबेरसम्म गाना बजाना चलिरह्यो। तर म न गाउन सकिरहेकि थिए न त नाच्न नै। बाहिरको उल्लासका बीचपनि म भित्र बेग्लै सन्नाटा छाएको थियो। प्रसाद ग्रहण गरिसक्दासम्म रातिको १२ बज्न लागेको थियो। मन भारि भएर म सबैजना छुट्टिनु अघि नै आफ्नो कोठामा पसेँ।

बत्ति बाल्न मन थिएन र पनि झ्यालबाट छिरेको जूनको प्रकाशले कोठा उज्यालो थियो। खुलेको ठूलो आकाशका निहारिका हेरेर टोलाउँदैमा पछाडिबाट परिचित स्पर्शले छोयो मेरो कम्मरमा। 'यति रातिसम्म किन नसुतेकि?'

 तिम्रो विषयमवाचकले मलाई तिमी पट्टी फर्कन भन्यो। मैले टिपेर ल्याएको सागिनाको फूल थियो तिम्रो दाहिने कानमा। सासुआमाले तिम्रो सौभाग्यको लागि लिएको व्रत विधिको समाप्ती थियो र त त्यही पुर्णे जस्तो चहकिलो देखिएका थियौ।

सायद गोमाको व्रतले नवराजको भाग्य फेरिएकोले आमाले तिमीलाई राजा भएको हेर्न चाहनु हुन्थ्यो होला। राजा नितान्त आफ्नो संसारको र घरको नकि कुनै राजा खोजिरहेको देशको। नवराज बाबुको खोजिमा विदेश गएको र तिमी मेरो पाँउमा पाउजु र आमालाई चोली किन्न विदेश जाँदै थियौँ। युग मात्र फरक रहेछ तर तिमी जस्ता नवराजको पिडा उस्तै रहेछ।

रात्री क्रिडामा सहज होस् भनेर जून पश्चिम तिर सरिसकेर हाम्रो कोठा अध्यारोमा परिणत भईसकेको थियो। कोठा मात्रै के भन्नु र खै? मेरो मन पनि निशापुञ्ज थियो तिम्रो वियोगले बनाई दिएको। म भित्रको मलाई बुझेर तिमी भन्दै गयौ।

'प्यारी, यसरी मनलाई विक्षिप्त हुनबाट रोक। काम सजिलो छ। विश्वकप फुटबलको आयोजना गर्न कतारले बनाउन लागेको खालिफा रंगशालामा काम गर्ने हो। यताको जस्तो भिरपाखाबाट लड्ने डर हुँदैन। गर्मी मात्र बढी हुने हो तर चिसो हावा आउने मेसिन बिजुलीबाट चलाएको हुन्छ रे।  खाने बस्ने सबै बन्दोबस्ती रंगशाला भित्रै हुने हो। मेरो त पिर लिने कुनै कुरा छैन तिमीले। बरु आमासँग मिलेर बस्नु।

आफ्नो ख्याल राख्नु। घरमा एक्लै छौ तिमी। त्यसैले तिमीले दास भएर काम गर्नु छ र राजा भएर खानु छ।'

मेरा केशका पैया–पैया सुम्सुम्याउँदै तिमी भन्दै गयौँ। 'अब त आफ्नो मात्रै ख्याल राख्ने समय रहेन तिमीले। तिमी भित्रको नयाँ मान्छेको पनि ख्याल राख्नु छ। तिमी मेरै यादमा टोलायौ र आफ्नो शरीरको ख्याल राखेनौ भने तिम्रो मनोगत असर पेट भित्रको नयाँ मान्छेमा पनि पर्नेछ।

खाईपिई मासिक ४० हजार तलब बचत हुन्छ भनेको छ म्यानपावरवालाले। सुरुको चार महिनाको तलबले रकम जिउलो साहुबाट निखन्नु पर्छ। त्यसपछिको तीन महिनाको तलबले यताउता जाँदा-आउँदा भएको खर्चको सोधभर्ना भईहाल्छ।

त्यसपछिको बाँकी सबै तलब बचत हुन्छ। तल गाँउपालीकाको बैंकमा पठाउछु पैसा। उतै बचत गर्ने गर्नु। घर व्यवहार धान्न केही कमि नगर्नु र फारो गरेर पैसा चलाउनु। प्यारी, हामीले कमाउने भनेको पाखुरीमा रस रहुन्जेल हो। त्यसपछि मरे बाचेको सरकारले लेखाजोखा गर्दैन।

यस्तो उपेक्षा देख्दा त फेरि विद्रोह गरु जस्तो लाग्छ। तर जति विद्रोह गरे पनि के गर्नु? कसैलाई सिंहदरबार पुर्याउँदो रहेछ। यहीँ विद्रोहले र कसैलाई गरिबीको सिंह सामु छोड्दो रहेछ।'

तिम्रा कुराहरु सुन्दा यस्तो लाग्दैथ्यो, तिमी भोलि विदेश होइन चुनाव प्रचार गर्न जाँदै छौ। तिमी बोल्न रोकिएनौ। युद्धका बेला सांस्कृतिक समूहमा काम गर्ने साथीहरु बसपार्क तिर दोहोरी साँझमा गीत गाउदै छन्। सरकार तिनीहरुलाई राष्ट्रका गहना भनिरहेको छ।

१० वर्ष सरकारको सेवा गर्ने कर्मचारिले तलव सहित उपदान पाउछ। तर १० वर्ष हलो जोत्ने, १० वर्ष विदेश बस्ने र १० वर्ष मुक्तिमोर्चामा लड्ने जनताले के पाए? अर्थतन्त्रमा संरचनागत परिवर्तन देखिएको छ।

देशको कुल गार्हस्थ उत्पादनमा कृषिको भाग घट्दै–घट्दै सोको सोधभर्ना रेमिट्यान्सले गरिरहेको छ। आमालाई पाल्न, तिमीलाई पाल्न मात्र हैन, अब त देश जोगाउन भएपनि विदेश जानुछ। घरखेत, रनवन, दौतरी, परिवार र सिंगो देशको माया पासपोर्ट भित्र अटाउनुछ। देशले दाल चामल किन्न सकोस् भनेर बदलामा आफूले बेचिनु छ।

अर्थमन्त्री ज्युलाई बजेट तयार पार्न सजिलो होस् भनेर रेमिट्यान्स आप्रवाह तीव्र पारी जोवन घाटामा गएपनि चालु खाता नाफामा राख्नुछ। श्रम मन्त्री ज्युले रफ्तारमा गरिरहेको द्विपक्षिय श्रम सम्झौताको सम्मान गर्न मात्र भए पनि विदेश जानुछ प्यारी।'

आफूनै आँखाबाट आँसु आउदा पनि मलाई आँसु बगेको पत्तो थिएन। मेरा आँसुले तिम्रो बाहु निथ्रुक भिजेको थियो। लाल रुमालले आँसु पुछ्ने सामर्थ्य थिएन र आँसु बग्न दिए। अरबको घाममा सेकिनु अघि मेरा आँसुले भएपनि तिम्रा बाहु शुष्क राख्नु थियो मैले। म के-के सोच्दै थिए तर तिमी भित्र पर्देशिनुको विद्रोह उत्कर्षमा पुगिरहेको थियो।

अघि मलाई फकाउन भएपनि विदेशमा गाह्रो छैन पिर नमान भन्ने तिमी आफ्नो पिडा आफै सम्हाल्न सक्ने अवस्थामा थिएनौ। हामी विदेशिनेहरुको हिसाव-किताव सरकारसँग हुँदैन। दूतावास त कार्यकर्ता व्यवस्थापन गर्ने ठाँउ मात्र हुन्। विदेशीनेहरु मरेछन् भने घरपरिवारले बीमा बापतको रकम पाउँछन्।

बाचिएछ भने त्यही बीमा रकम पनि पाईदैन। रेमिट्यान्सबाट आएको पैसाले सरकारले कर्मचारीलाई पेन्सन दिन्छ तर त्यही रेमिट्यान्स पठाउने मान्छे कष्टकर बुढ्यौली बिताउँछ। विदेशीनेहरुको भविष्य सुनिश्चित गर्ने कुनै लगानी कोष छैन, कुनै कल्याणकारी कार्यक्रम छैन। सामाजिक बीमामा विदेशीनेहरुको हक छैन। सरकार वैदेशिक लगानी नामक ऋणपत्र बेच्छ तर त्यसको प्रतिफलको सुनिश्चतता प्रदान गर्दैन।

गफैगफमा व्यान्तारो उदाई सकेको थियो। एकछिन भए पनि तिमी सुत भनेर म जाँतो पिस्न गए। घर धन्दा भ्याउदा नभ्याउदै चैनपुरबाट काठमान्डौँको लागि छुटेको गाडी घर अगाडी आएर रोकियो। निधारका दही अक्षता सुक्न नापाउदै मेरो हातमा पाँच सयको नोट थमाएर कोठाबाट बाहिर निस्कियौ तिमी।

मलाई भने चिउणीको हात छोड्न मन थिएन। तिमी आँखामा कर्णाली बोकेर निस्कियौ र मेरो आँखालाई पानी नौलो बनायौ। म तिमीलाई छोडन बाहिर आउन सक्ने अवस्थामा थिइनँ। एकैचोटी गाडी चलेको आवाज सुनेँ र तिमी गयौ। तिमीसँग डाँणाको चक्रे पनि गएको रहेछ। मलाई पछि मात्र थाहा भयो।

आँखामा नैनीताल लिएर म उसै गरि रुपसि लिएर वालीधारको बाटो तिर लागे। दिनभर मन बौलाई रह्यो। साँझ नहुँदै रुपसि घर लिएर आए। 'छोराले फोन गर्या थियो। चिसापानी पुगे भन्दैथ्यो। भोलि बिहान काठमाण्डौ पुग्छ रे। भोलि साझ नै कतारको पिलेन उड्छ भन्दैथ्यो।'

आमाले खाना खाईसकेपछि म खाना नखाईकन कोठा तिर लागे। तिमीसँगका मिठा रात, विवाहका दिन गुन्जिएका पञ्चेबाजा, मेरो माइतीको आँगनमा छमछमी नाचेका तिम्रा दाँवली, मेरो डोली अन्मिदा रुदै-रुदै देवीथानसम्म आएका मेरा सँगिनी सबै मनोस्मृतीमा आईरहे।

बेचैनीमा ओल्टे कोल्टे फेर्दै गर्दा मेरो हात छेवैमा राखेको हिमाल लाइफको बीमालेख माथि रोकियो। त्यो बीमालेख देखेपछि म झसंग भए। तिमीले भनेका थियौ- ‘विदेशीनेहरु मरेछन् भने घरपरिवारले बीमा बापतको रकम पाउछन।’

 म झन् झसंग भए। तिमी नरहे तिम्रो क्षतिपूर्ति दिन खोज्ने यो बीमा लेखको कुनै औचित्य देखिन। विदेश जादैछु सस्तोमा ऋण पाउभन्दा ऋण नदिने सरकार मरेपछि भने लाखौँ रुपैयाँ दिन्छ। युवाले घर छोड्दा निधारमा लाउने सेता दही अक्षता मुछ्न ऋण दिनुमा भन्दा तिनै युवा मरेर कफिनमा फर्केपछि उनका परिवारलाई क्रिया र कात्रो खर्च दिनुमा लोक कल्याण देख्दछ मेरो सरकार।

गैर आवासिय नेपालीहरुलाई आर्थिक सामाजिक अनि साँस्कृतिक अधिकार दिएर क्षतिपूर्ति दिने सरकार तिमी जस्ता अरबका कुल्लीहरुलाई हिमाल लाइफको बीमा लेखमा चित्त बुझाउन भन्दछ।

मलाई थाहा छ तिमीहरु विदेश गएनौ भने यो देशको त के हालत हुन्छ नै त्योभन्दा पहिले नेपालका सबै जीवन बीमा कम्पनी बचाउ समेत भन्न नपाई चुर्लुम्म डुब्नेछन्। सरकारले आप्रवासी कामदारका हकमा दिएको सुविधा हेर्दा त बाच्नुमा भन्दा मर्नुमा बढी फाइदा देखिन्छ प्यारा।

'ए! पुगिस् त काठमाण्डौँ? बुहारी त पँधेरा छे। अनि साँझ कति बजेको पिलेन हो बा? ल बा ल, राम्ररी जा।' गाग्री दैलोमा राखेर सासूआमाका कुरा सुनि रहे। मेरा लागि दिन अब दिन जस्तो थिएन। पुरानै दिनचर्यामा दिन बित्यो। तिम्रो यादमा हराउनु मेरो बानी भईसकेको थियो र सम्झेर रात कटाए।

बिहान तिम्रो फोन आयो कतारबाट। म यतिका दिनसम्म पनि तिमीसंFग फोनमा बोल्न सकिरहेकि थिइनँ। तर नबोली-नबोली कति दिन बस्न सक्थेँ र प्यारे? तिमी कामधाम राम्रै चलेको छ भन्थ्यौ फोनमा। महिना पुगेसी तलब दिन्छु भनेको छ। तल गाँउपालीकाको बैंकमा पठाउछु भन्यौ।

खै एकचोटी पेट छाम त छोरो खेल्छ कि खेल्दैन भनेर सोधि रहन्थ्यौ। त्यसपछि त तिम्रो याद आउदा पेट छाम्ने बानी बसेको थियो।

म मेरो माइतिघरमा थिएँ। म बैठक कोठाको झ्यालबाट बाहिरी सेरोफेरोमा टहलिदै थिए। एकाएक आँगनमा बेहुला बनेर आयौ तिमी। तिमी बेहुला बनेको देखेर म धित मरुन्जेल हासेँ। ‘दोस्रो चोटी बिहे गरेर लिन आयौ कि क्या हो मलाई?’ मैले झयालबाट नै भने।

'हो नि। साथीहरुले अस्ति नाचेर धित मरेकै छैन भने। त्यही भएर म त फेरि जन्ती लिएर आएँ' तिमीले हासेरै भन्यौ। मोबाइलको एकनासको भाइब्रेसनले म झल्यास बिउझिएँ। चैतको चर्किलो घाम चर्केको थियो बाहिर। म कोठामा पेट छाम्दा छाम्दै निदाएछु।

कतारको नम्बरबाट फोन आईरहेको थियो। ‘हेलो’ मैले फोन उठाउँदै भनेँ।

‘भाउजु म चक्रे हो।’

'अनी के छ बाबु खबर? दाइको खबर के छ?' मैलै चक्रे बाबु बोलेको थाहा पाएर फेरि सोधेँ। तर उताबाट केही जवाफ आएन।

‘बाबु.. बाबु’ मैले निरन्तर बोली रहे। उताबाट दाई बित्नु भो भन्ने आवाज नसकिदै म मुर्छा परेछु।

आज प्यारेको तिथान भएको सात दिन कटेको छ। गर्भिणी महिलाले क्रिया गर्न हुँदैन भनेकाले म हाम्रो घामछायाँ गर्ने कोठामा बसेर डायरीमा लेख्दैछु। आमा बार्दलीमा मुर्छित हुनुहुन्छ। त्यही बोहोस आमालाई टेको लाएर हिमाल लाइफका मान्छेले आमाको हातमा चेक थमाउदै फोटो खिच्दै छन्।

‘फोटो खिच्ने बेला अलिकति हास्नु है आमा’ बीमा कम्पनीका मान्छे फोटो खिच्न कै लागि मुर्छित आमालाई प्रशिक्षण दिँदै छन्। वैदेशिक रोजगार विभागबाट पनि क्षतिपूर्ति पाउछ भनेर हिजो चक्रेका बाबाले भनेका थिए। 

देशमा तरकारी खेती गर्दा पहिरोले बारी बगायो तर कसैले क्षतिपूर्ति दिएनन्। फेरि व्यवसाय सुरु गर्छु भन्दा बैंकले पत्याएन। व्यवसाय गर्न पैसा भएन अब त जागिर गर्छु भनेर जागिरको खोजि गर्दा बायोडाटा स्ट्रोङ्ग भएन रे।

केही सीप नलागेर विदेशिएका थियौँ तिमी। आज तिम्रो लाश देखेपछि सबैले पत्याए र लाख-लाख रुपैयाँका चेक भुईमा लडेका छन्।

मरेपछि बीमा रकम दिने सरकारी व्यवस्था परिवर्तन भएर जिउदैमा दिने व्यवस्था भईदिएको भए, हाम्रो बारीको रायोका पत्ताहरुको बीमा गर्ने व्यवस्था भएको भए र सरकारले व्यवसायिक सामाजिक सुरक्षा र सिमान्तकृत सामाजिक संरक्षण कार्यक्रम लागू गरिदिएको भए आज म यो लेख्ने अवस्थामा नभएर तिमीसँग बालीधारमा रुपसि चराउदै गरेकी हुन्थे होला।

तिम्रो कल्पनाको छोरो र मेरो विपनाको सन्तान बुझ्ने भएपछि यो डायरी उसलाई देखाउने छु। ताकी लाशहरुको बीमा गर्ने व्यवस्था भत्काएर जिउदा मान्छेको बीमा गर्ने अभियान चलाउन हौसला पुगोस् उसलाई। रायो फलाउने तिम्रा जीवित सपनाको बीमा गर्न सकोस्।

प्राकृतिक विपदका घट्नाको क्षतिपूर्ति दिएर मानवताको बीमा गर्न सकोस्। देश छोड्ने वियोगका क्षणहरुको मात्र हैन, देश सम्झेर देशमा बस्ने मानवको माया पिरतीको पनि बीमा गर्न सकोस्। मर्ने र देश छोड्नेहरुको बीमा मात्र होइन बाचेका र देश बचाउनेहरुको बीमा गर्न सकोस्।

मेरो यो डायरी पढेर मेरो छोरा आफैमा बीमा बनोस् र बीमा मेरो छोरा बनोस्। वेद र बुद्धको भूमिमा उभिएर 'संघम शरणम् गच्छामी'को दर्शनमा बीमाको विकास गरोस्। प्यारे कतार गएसँगै बाँझिएका खेतहरु, उजाड बनेको मेरो प्यारेको वस्ती, उराठ बनेको वालीधार, विरक्तिमा भासिएको रनवन र यादमा झुरेका माता-पिताको मनको बीमा गर्न सकोस्।

प्यारे जस्ता रहर लाग्दा युवाहरुको भारीले त्रिभुवन विमानस्थलको धावनमार्गमा परेको प्वालको बीमा गर्न सकोस्। सात बार सत्ताइस नक्षत्र, पाँच पाण्डव, सिमेभुमे, लाटागाणा, चन्द्र सूर्य, जल, वायु, तेज, प्रकाश, आकाश र धर्तीको बीमा गर्न सकोस्। निर्जिव भित्ताहरु वस्तुवादी चिन्तनको बीमा गर्ने देशमा भावना गौण बन्दो रहेछ।

फलतः मेरा यौवनका रहर अर्थ मन्त्रालयमा लिलाम भएका छन्। अब यति मात्र लेख्न मन छ। प्रिय छोरा, भगवानले तिम्रो बीमा गरुन्। तिमीले तिम्रो भगवानको बीमा गर्नु।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १३:३३
सिफारिस
सुकुम्बासीसँग राज्यले गरेको बाचा तोड्न पाइँदैन
सुकुम्बासीसँग राज्यले गरेको बाचा तोड्न पाइँदैन
इचंगु अपार्टमेन्टमा राखिएका सुकुम्बासी भन्छन्– साँघुरो कोठामा थुनियो, न ओढ्नी-ओछ्याउनी न पानी
इचंगु अपार्टमेन्टमा राखिएका सुकुम्बासी भन्छन्– साँघुरो कोठामा थुनियो, न ओढ्नी-ओछ्याउनी न पानी
सेयर बजार घट्दा किन गर्ने सामूहिक कोषमा लगानी?
सेयर बजार घट्दा किन गर्ने सामूहिक कोषमा लगानी?
कांग्रेसमा मेलमिलाप?
कांग्रेसमा मेलमिलाप?
सरकार गृहमन्त्री खोई?
सरकार गृहमन्त्री खोई?
अमेरिकाको बैंकमा इन्जिनियर छन्, फेसबुकबाट पैसा कमाउन पनि सिकाउँछन्
अमेरिकाको बैंकमा इन्जिनियर छन्, फेसबुकबाट पैसा कमाउन पनि सिकाउँछन्
मैमत्त प्रधानमन्त्री!
मैमत्त प्रधानमन्त्री!
विदेश पढेर फर्केका युवालाई प्रश्न– के भए विद्यार्थीलाई रोक्न सकिन्छ?
विदेश पढेर फर्केका युवालाई प्रश्न– के भए विद्यार्थीलाई रोक्न सकिन्छ?
कांग्रेस सांसदले सरकारको कामलाई हिटलरसँग दाँजेकोमा रास्वपा सांसदको नियमापत्ति*
कांग्रेस सांसदले सरकारको कामलाई हिटलरसँग दाँजेकोमा रास्वपा सांसदको नियमापत्ति*
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

मौन धरणी!
श्रद्धाको फूल!
कलियुगमा...
हावाको पातसँग प्रेम छ!
पख म देश बनाउँछु!
म यही सहरको श्रमिक हुँ!

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP