घरबार विहीन भोका नाङ्गा
ती आँसुका ढिक्काहरूलाई हिरा बनाउँछु
डोजरको नङ्ग्राहरू मुटुमा रोपेर
विकासको भुल्को फुटाउँछु
पख है मानवता, म देश बनाउँछु।
घर-छाप्राहरूका आवाजहरूलाई
म दुई तिहाइले दबाउँछु
ध्वंस विध्वंस आगजनी मेरो पहिचान हो, हेर!
दिवालका चर्चराहट
र टिनका कडकडाहटको संगीतमा
म आनन्दले र्याप गुनगुनाउँछु
पख है सहानुभूति
म देश बनाउँछु।
मानिसका गुनासा र असन्तुष्टिहरूलाई
सामाजिक सञ्जालबाटै
असामाजिक भुकाइ बनाउँछु
नेता, विज्ञ र समालोचकहरूलाई
तथानाम गालीकै भरमा
एक नम्बरका कवाडी बनाउँछु
एकछिन पख है शिष्टता र शिष्टाचार
म यो देश बनाउँछु।
म त जनताले मन पराएको नेता
इतिहास, संघर्ष किन चाहियो अब
वर्तमानमा प्रोपागान्डाहरू
बग्रेल्ती फिँजाउँछु
नयाँ-नयाँका मस्तिष्कमा
नकारात्मकताको विष चढाउँछु
समग्रमा सबैलाई अनाडी गराउँछु
पख ए, विवेकशील आत्माहरू
म अब देश बनाउँछु।
देश विदेशका स्वदेश प्रेमीहरूलाई
भ्रमहरूको हनुमान बनाउँछु
पर क्षितिजमा मडारिरहेको भूराजनीतिक
संकटको कालो बादललाई
छिट्टै देशमा छिराउँछु
पख न एक छिन मूर्ख जनता
अब हेर म देश बनाउँछु।