तिम्रो सहरलाई सहर जस्तो
मैले बनाएको हुँ
तिमीले टाढाबाट हेर्ने त्यो
चम्किलो बस्ती मैले बनाएको त हुँ
तिम्रो सहरको उज्यालो नक्सा त्यो
मेरा पसिनाको रेखाले कोरेको त हो
तिमीले गर्व गर्ने चौडा सडकहरू
मेरा खुट्टाका छाला फाटेर बनेको त हो
सहर!
तिमीले ‘विकास त हो’ भनेको बेला
त्यो शब्दभित्र मेरै त कर्म लुकेको हुन्छ
तिमीले ‘सुन्दर सहर’ भनेको बेला
त्यो सुन्दरता भित्र मेरै त श्रम टाँसिएको हुन्छ
तिमी बिहान उठ्नु पूर्व
म रातको थकान बोकेर
एकाबिहान नाली सफा गरिरहेको हुन्छु
तिमी अफिस पुग्दा
म इँटा बोक्दै घामसँग लडिरहेको हुन्छु
तिमी बैठकमा नीति बनाउँदा
म त्यो नीतिको बोझले
छानो खोजिरहेको हुन्छु
तिमी सहुलियतमा श्रम खोज्दा
त्यो श्रम मैले नै त दिएको हुन्थेँ
तिमी बसेका घरका नक्सा
मेरो हातका इँटाले तानिएका त हुन्थे
तिम्रो भवन जगबाट माथिल्लो तलामा पुग्दा
ती मेरो काँधले उठाएका त हुन्थे।
तर आज
त्यही सहरले मलाई
‘सहरको कुरूपतामा डाम्छ?’
के म श्रमको प्रमाणपत्र दिऊ तिमीलाई?
के म पसिनाले भिजेको नागरिकता दिऊ तिमीलाई?
आज
म दुई तोला सुन लगाउँदा
तिमी मलाई अपराधी झैँ व्यवहार गर्छौ
किनकि सहर तिमी र तिम्रो वर्गलाई
म गरिब सधैँ नाङ्गो चाहिन्छ।
आज
म बैंकमा पाँच लाख जम्मा गर्दा
हाँसोको फोहोराले गिज्याउँदै
तिम्रो सहरी समाज गद्गद हाँस्छ
किनकि तिमीलाई
सुकुम्वासी सधैँ निमुखा नै देखिनु पर्ने नियम चाहिन्छ
तर म सहर तिमीलाई सोध्छु
के म तिम्रो समाजमा सपना देख्न पाउँदिनँ?
के म मेरा बालबच्चाको भविष्य यहाँ लेख्न पनि पाउँदिनँ?
बरु भनिदेऊ न मलाई तेरा
इच्छाका नक्सा पनि
मेरा सहरका परिधिभित्र बनाउन पाउँदैनस्।
म यहाँ बस्न आएको त होइन
काम खोज्न आएको त हुँ
जीवन खोज्न आएको त हुँ
तर तिमीले मलाई
‘अवैध बसोबासी’ बनायौ सहर
आज मेरो टहरा भत्काउन
तिम्रा सरकार डोजर लिएर आउँछ
धुलो उड्छ
इँटा खस्छ
र मेरो जीवनको नक्सा नै भत्किन्छ
भनिदेऊ त तिमीलाई श्रम त चाहिन्छ होला
तर म कहाँ जाऊँ?
म के खाऊँ?
के म यो देशको नागरिक होइन?
के म यही माटोको सन्तान होइन?
मेरो टहरा
तिम्रो नक्सामा ‘अवैध’ लेखिन्छ
तर त्यही टहरामा
मेरो जीवन वैध थियो
मेरो प्रेम वैध थियो
मेरो सपना वैध थियो
मेरो बच्चाको हाँसो वैध थियो
तिमीलाई सहर चाहिएको छ
तर सहर बनाउन
मान्छे चाहिन्छ भन्ने कुरा
तिमीले बिर्सिसक्यौ
तिमीलाई सफा सडक चाहिन्छ
मैले सफा गरिरहेँ
तिमीलाई सुगन्धित घर चाहिन्छ
मैले फोहोर उठाइरहेँ
तिमीलाई चम्किलो सहर चाहिन्छ
मैले रातभर काम गरिरहेँ
र जब म थाकेर
एउटा कोठा खोज्छु
तिमी मलाई भन्छौ—
‘यहाँ तिम्रो लागि कुनै ठाउँ छैन।’
यो कस्तो सहर हो?
जहाँ निर्माणकर्तालाई नै
अवैध सूचीमा राखिन्छ
हिजो यही सहरले मलाई बोलाएको हो
‘यहाँ आएर, काम गर भनी’
आज यही सहरले भन्छ—
‘जाऊ, तिमी अव्यवस्थित भयौ भनी’
डोजर चल्दा
मेरो बालबालिकाको किताब
धुलोमा हराउँछ
मेरो श्रीमतीको आँसु
इँटामा बिलाउँछ
मेरो बुढो बुवाको सपना
खरानीमा जलाउँछ
तर सहर हाँस्छ
तिमी त भन्छौ—
‘यो नै त विकास हो’
भनिदेऊ त विकास कसको लागि हो?
जसले बनायो, उसकै विनाशका लागि हो?
म यही सहरको श्रमिक हुँ
म यही सहरको मेरुदण्ड हुँ
म यही सहरको इँटा हुँ
म यही सहरको मौरी हुँ
म बिना तिम्रो महल
बालुवाको घर हो
म बिना तिम्रो सडक
फोहोरको डङ्गुर त हो
तिमी मलाई ‘सुकुम्वासी’ भन्छौ
तर म अपराधी होइन
म त श्रमको इतिहास हुँ
म त यो सहरको असली परिचय हुँ
तिमी मलाई हटाउन सक्छौ
मेरो टहरा भत्काउन सक्छौ
तर मेरो श्रमलाई भत्काउन सक्दैनौ
कि भत्काई हेर्छौ मेरा श्रमले बनाएका घर र सडकहरू।
यदि यो सहर मेरो पसिनाले बनेको हो भने
मेरो लागि यहाँ किन एउटा ढोका छैन
मेरो लागि यहाँ किन एउटा छानो छैन?
यदि म फोहोर उठाउने हात हुँ भने
मेरो हात किन अपवित्र भयो?
यदि म सडक बनाउने शक्ति हुँ भने
मेरो लागि किन बाटो काँडेधार भयो?
म उजाडिएको घर होइन
म उजाडिएको इतिहास हुँ
म उजाडिएको टहरा होइन
म उजाडिएको भरोसा हुँ
तर म अझै बाँचेको छु।
किनकि म श्रमिक हुँ।
म यही माटोको आवाज हुँ।
म सहरको मौन चिच्याहट हुँ।
र यत्ति माग्छु
मलाई दया होइन
मलाई न्याय देऊ
मलाई राहत होइन
मलाई सम्मान देऊ
मलाई हटाउने होइन
मलाई वासस्थान देऊ
किनकि म
तिम्रो सहरको बोझ होइन
म त तिम्रो सहरको आधार हुँ।