ऊ रात बिरात पनि आउँछ
मन्द उज्यालोमा पनि छाउँछ
मुस्कुराउँदै, गुनगुनाउँदै
मीठो संगीत बनेर
सुसाउँछ, एक झोक्का।
जब आउँछ, अल्पकाल
मोहनी अङ्गालो मार्छ
न्यानो स्पर्शको अनुभूति दिन्छ
अनि हराउँछ कुनै अनकन्टारमा
गएँ है! नभनी निमेषभरमा।
मेरा कानमा गुन्जिरहन्छ
उसैले निकालेका सुर
शरीरभरि उसकै सु-बास्ना
उसको याद झनै ओहो
फर्केर फेरि आउला नि है?
न त मै ऊसँग जान सक्छु
न ऊ नै आइरहन्छ सधैँ
औडाहा, छटपटी, निराशा
अनि वैरागी विश्रामपछि
एक मुठी खुसीसँगै टुप्लुक्क हुन्छ।
कुनै दिन उत्ताउलिँदै ऊसँगै
सम्हालिँदै तुफान बनेर
संसार घुम्ने रहर छ
म रुखमा झुन्डिएको पात हुँ
र, हावाको पातसँग प्रेम छ।