खै किन, प्रेम भन्दा बाहेकका कथा त ‘कथा’ जस्तै लाग्दैनन्। अँ, साँच्ची, प्रेममा विछोड र वियोगका कथा किन यति धेरै बिक्छन् ? मिलन भनेको के हो, विवाह ?
प्रेमबाट विवाहमा परिणत धेरै प्रेम किन सम्बन्ध विच्छेदमा टुंगिएका ? के एक अर्कासँग छुट्टिन पाउने स्वतन्त्रता प्रेमको विशेषता हो ?
***
प्रेमबारे सोच्दा यस्ता धेरै प्रश्न उब्जिन्छन्। अनि यो मन केहीबेर तारैतार बेरिएको काठमाडौंका बिजुलीका खम्बाझैं भइदिन्छ। फुकाउनै नसकिने।
सम्झिन्छु, जीवनका केही नहिँडिएको बाटो र बिर्सिन नसकेको पाटो। यसैले म यस्ता विषयमा सोच्न मन पराउँदिनँ। तर त्यतिबेला मात्र जब मनमाथि आफ्नो नियन्त्रण हुन्छ।
कहिलेकाहीँ मन अनियन्त्रित भइदिने रहेछ। मनै त हो, कहाँ पुग्छ कहाँ। सोच्नै नसकिने, पुग्नै नसक्ने, हुनै नसक्ने सोच्दिन्छ। निःसीम जो हुन्छ।
आज फेरि त्यसै भइदियो। चौथो प्रहरको मध्यमा ४ बजे अलार्म बज्यो। बन्द गरेर ७ बजेसम्म निदाउने योजनासाथ पल्टिएँ। तर न निन्द्रा आयो, न उठ्न जाँगर।
लाग्यो, कोल्टे फेर्दा तिमी हुनेछौ। तिमीलाई पछाडिपट्टिबाट बेस्सरी अंगालोमा बेरूँ। बन्द आँखा, आधा निन्द्रा अनि घाँटी र छातीबीच शिर घुसारेर सुतिरहुँ। कुम र छातीमा केहीबेर चुम्बन गरूँ।
आज तिमीलाई सम्झिँदै आफैंलाई आनन्द दिने अनेक कल्पना गर्दैछु। ती कल्पना जुन कहिल्यै वास्तविकता बन्न सकेनन्। मानौं ती क्षण पानीका यस्ता थोपा थिए जुन बादलबाट झरे। तर धरती छुन नपाउँदै बीच बाटोमै सूर्यको रापले बाफ बनाइदियो। सायद सूर्यको भूमिकामा थियो, ‘वास्तविकता।’
तिमी अर्कैको भएको वास्तविकता।
अरुबेला भए, मोबाइलमा रमाइला, हँसाउने भिडिओ हेर्छु, गैर–प्रेम प्रसंगका पुस्तक पढ्छु, साथीसँग गफिन्छु। अनेक उपाय छन् मनलाई झुक्याउने, तिमीलाई भुलाउने। तर पनि आफ्नै मुटुसम्मै सीमित ‘बोन्साइ प्रेम’ कहिलेकाहीँ अर्धचेतन मनमा आइदिन्छ र चित्त दुखाउँछ।
तर आज यो एकान्तमा आएकी छु। जहाँ एक समय हामी दुई आउने गथ्र्यौं। आज तिमी छैनौ तर तिम्रा केही याद छन् यहाँ। आज फेरि पनि तिमीबारे सोच्नेछु। साथमा ल्याएको ३ खिल्ली चुरोटको धुँवा केही हावामा उडाउनेछु र केही फोक्सोमा राख्नेछु। थोरै आँसु बगाउनेछु, ताकि केही दिन मन हल्का होस्।
***
पुरूषको शरीरको सबैभन्दा आकर्षक अंग लाग्छ कुम, त्यसपछि बलिष्ठ पाखुरा। अरुका पाखुराका मोटाइ र कुमको चौडाइले कहिल्यै आकर्षित नगरेको होइन। तर कसैको छातीमा हात राखेर कुममा चुम्बन गर्ने इच्छा लागेन। सक्दो बल लगाएर अंगालोमा बेरेर टाँसिरहन मन लागेन।
टाढाबाट हेर्दा ‘आहा, कति सुन्दर’ लाग्ने तर छोएर आनन्द लिन मन लाग्दैनथ्यो। त्यसपछि तिमी आयौ। जसलाई छुन, छोइन र आजीवन यही प्रक्रिया दोहोर्याइरहन मन लाग्थ्यो। तिमी निदाएको बेला घाँटी र छातीको बीचमा टाउको राखेर सुत्न मन लाग्ने।
अझै याद छ तिमीलाई भेटेको त्यो दिन। माघको मधुरो घामपट्टि मुख फर्काएर, टाउको अड्याएर कुर्सीमा बसिरहेको। कोट कुर्सीमा टाँगेको। टाइट सर्टले तिम्रो पाखुरा र घाँटीसम्मै टाँसिएकोझैं देखिने कुमलाई हाफ स्वेटरले ढाक्न सकेको थिएन। कम्तिमा मेरो नजरबाट चाहिँ होइन।
मतिर फर्कियौ। मैले टाढैबाट परिचय दिएँ। तर तिमी अशिष्टझैं कुर्सीमा लम्पसार परिरह्यौ। असभ्य शैलीमा आफू मातहत कर्मचारी डाक्यौ। बिल्कुलै मतलब नभएसरी मेरो काम गरिदिन खस्रो भाषामा अह्रायौ। मसँग एक शब्द बोलेनौ।
काम विशेषले तिम्रो अफिस पुगेकी म तिम्रो व्यवहारमाथि रुष्ट हुन्थेँ होला। म प्रतिको बेवास्ताले मलाई आक्रोशित बनाउँछ। त्यस दिन तिमी अनुशासनहीन र अमर्यादित लाग्यो मलाई।
तर, खै किन तिम्रा यी खराब व्यवहारसँगै तिमी पनि मन परेजस्तो लाग्यो। पहिलो भेट भएको हप्ता बित्न नपाउँदै कामको बहानाले फेरि सम्पर्क गरें। तिम्रो उही रुखो व्यवहार र पनि बोल्न मन लागिरह्यो।
अरु कोही भएको भए म गल्तीले पनि फेरि सम्झिन्न्थें। तर तिमी थियौ, मेरो स्वाभिमानमै चोट पुग्नेगरी कुरा गथ्र्यौ। तिम्रो त्यही रुखो आवाज पनि सुन्न मन लागिरहने। २-४ मिनेटकै भए पनि कुराकानी गरिरहनुपर्ने। मैले अझ पत्ता लगाउन सकेकी छैन के ले यति तानेको हो तिमीतिर?
आफ्नै नम्बरबाट सम्पर्क गर्थें, ताकि हाम्रो कुराकानी मोबाइलमा रेकर्ड होस्। चाहेको बेला सुन्न सकुँ। तिम्रो आवाजले पनि छुट्टै किसिमले आकर्षित गर्थ्यो। त्यसैले पनि मलाई दोधारे बनायो, यो प्रेम हो कि आकर्षण ? तर आकर्षण नै हो भने पनि कसैप्रति आकर्षित हुनुमा के खराबी ? लाग्यो, तिमी आफूतिर तानिराख म तानिँदै जाऊँ।
महिना बितिसकेको थियो तिमीलाई चिनेको। २० मिनेट हिँडेर, एक्लै तिम्रै अफिस नजिक खाजा खान जानुपर्ने, तिमीलाई देख्न पाउने आशासहित। तर मेरो दुर्भाग्य तिमीलाई त्यहाँ कहिल्यै भेट्दैनथें।
फोनको पाँचौ कुरा गराइमा अलिक नरम पाएँ तिमीलाई। अनौपचारिक कुराकानी भए, भेट तय भयो। तिम्रो लागि पहिलो तर मेरो लागि दोस्रो भेट।
फागुनको अन्तिम, गर्मी बढ्दो थियो।
बानेश्वर, तिम्रो अफिस नजिकै। ढिला आयौ, ठ्याक्कै आधा घन्टा।
धेरै महत्वपूर्ण भेट मैले अर्को दिनको लागि तय गरेकी छु। मान्छेको ढिला आउने बानीले गर्दा। बढीमा १० मिनेट कुर्ने, त्यसभन्दा ढिला आउनेले मलाई तय गरेको स्थानमा भेट्दैनथें। मलाई समयको ख्याल नगर्ने मान्छे रत्तिभर मन पर्दैनन्।
तर त्यो दिन तिम्रो लापरबाहीप्रति रिस कम र तिम्रो प्रतीक्षाको बेचैनी बढी थियो। अचानक आँखा अगाडि झुल्किएको तिमीले भनेको भन्दा धेरै समय दियौ। साइलेन्ट मोडमा रहेको मोबाइलमा बेला–बेला आइरहेको फोनले बताइरहेको थियो, मेरो अर्को जरूरी काम छ। तर मन तिमीबाट टाढा जान मानिरहेको थिएन।
नढाँटी भन्दा त्यो दिन तिमीले के–के कुरा गर्यौ, मलाई खास याद छैन। बस तिमी बोलिरहेको हेरिरहने मन थियो। एकोहोरो हेरिरहें तिमीतिर। सम्झिँदा रमाइलो लाग्छ, तिमीले खाएको, चपाएको पनि हेरिरहेँ। मान्छे मन परेपछि उसको जे पनि मन पर्ने रहेछ।
मलाई चुरोट खाने मान्छे मन पर्दैन। खानैपरे शिष्टतापूर्वक अनुमति लिएर खान्छन्। तिमीले खै के सोच्यौ, पहिलो भेटमा पनि बिल्कुलै औपचारिक थिएनौ म अगाडि। चियासँगै चुरोट निकाल्यौ र उडाउन थाल्यौ।
त्यतिञ्जेल मन नपरेको चुरोट त्यो दिन किटक्याट रंगका तिम्रा जोडी ओठबीच अड्किएको मन पर्यो मलाई। तिमीले उडाएका धुँवा, बादल लाग्थे, जहाँ मेरो कल्पनाको संसार जम्दै थियो।
औसत भन्दा पनि कम तिम्रो अनुहारले किन यति अकर्षित गर्यो कुन्नी ? दाह्रीमा आकर्षक लाग्ने पुरूषबीच तिम्रो क्लिनशेभ किन मन परेको हो ? तिमीले बफ मःम सकाइसक्दा पनि मैले जवाफ पाइनँ। अझैसम्म यी प्रश्न निरूत्तर छन्।
गम्भीर भएर तिम्रो अनुहारतिर हेर्दै थिएँ, हेर्या हेर्यै थिएँ। आँखा, मानौं तिम्रो मुहारमै टाँसिन चाहन्छन्। मनमा के–के चल्दै थियो मलाई मात्र थाहा छ। आफ्नै प्रशंसा गरेँ, त्यो दिन।
कति सजिलै सोचिरहेको भन्दा फरक भावभंगीमा प्रस्तुत हुन सक्ने रहेछु म। मनको कुरा मुहार हेरेर कसैले पनि चाल नपाउने।
तिमीसँग छुट्टिएपछि आफूलाई बलिउड फिल्मको हिरो ठानिरहेकी थिएँ, जसले नायिकालाई एकटकले हेरिरहन्छ। अनेकौं कल्पनामा डुबिसकेको हुन्छ। नायिका यो कुराबाट अनभिज्ञ हुन्छिन्। तिमी त्यही नायिका थियौ।
म कम बोल्छु र बढी बोल्ने मान्छे मन पर्दैनन्, तिमीबाहेक। मलाई मनै नपर्ने गुणले भरिएका तिमी ‘प्याकेज’मै मन परेका थियौ।
फोनमा रातको कम्तिमा पनि दुई घन्टा कुरा। दिनमा फुर्सद निकालेर २–४ वटा मेसेज। दिन यस्तै बित्दै थिए। एक्लो बसाइँले मलाई तिमीलाई समय दिन सजिलो थियो।
दुई महिनापछिको एउटा भेटमा हुनुपर्छ तिमीले आफ्नो गर्लफ्रेन्डबारे सुनायौ। सायद तिमी चाहन्थ्यौ, हाम्रो लामो कुराकानीले मलाई केही ‘आश’ नपलाओस्।
मैले सहज रूपमा लिएँ। तिमीलाई बधाई दिएँ। उनको नामले जिस्काएँ। तर केवल बाहिरबाट। भित्र मन कति दुख्यो त्यो रात र सिरानी साक्षी छन्। त्यही रात मोबाइलमा सेभ रहेको तिम्रो नम्बरमा मुटुको चिन्ह हटाएर तिम्रो नाम फेरें, ‘अर्काको ब्वाइफ्रेन्ड।’
महिलाका विषयमा अनुदार, मलाई रुची भएको राजनीति र सामाजिक विषय तिमी फिटिक्कै नबुझ्ने। महिलामाथि घटिया जोक भन्न रमाउने तिमीजस्ता मलाई मन नपर्ने मान्छेले भरिएको छ यो संसार। यस्ता अवगुण सहितका तिमी भने खै किन मन पर्यौ?
तर मनले पनि राजनीति गर्छ। कहिले तिम्रो पक्षमा, कहिले विपक्षमा उभिएर दुःख दिइरहन्थ्यो। तिमी अगाडि हुँदा तिम्रो समर्थन र टाढिँदा विपक्षी दलजस्तो प्रश्न गरिरह्यो। तिमी टाढा गएपछि मनले प्रश्न गर्थ्यो, किन तिमीलाई भेटिरहन्छु म ? के नाता, के काम छ ? किन तिमीले भेट्ने कुरा गर्दा खुसी हुन्छु ? कतै तिम्री गर्लफ्रेन्डले थाहा पाउँछिन् कि ?
तिमीले फोन गर्दा यी प्रश्न बिलाउँथे। अनि तिमीसँग फेरि कुरा गर्नुपर्ने, गरिरहनुपर्ने, सँगै खाजा खाइहरनुपर्ने। समग्रमा नजिक भइहरनुपर्ने।
जब नगरकोट जाने योजना बन्यो मैले सोधेकी थिएँ, ‘कस्तो खराब मान्छे है तपाईं ? गर्लफ्रेन्डले थाहा पाइन् भने?’
‘म उसलाई माया गरिराछु त । अरूसँग घुम्न जाँदैमा के हुन्छ ? थाहा पाइ भने के गर्छे ? रुन्छे ? रिसाउँछे ? गाली गर्छे ? बढीमा कुट्ली । त्यल्ले कुट्दा त काउकुती पो लाग्छ,’ अठ्ठहास सहितको तिम्रो जवाफ थियो,‘तपाईंलाई जाने भनेर सोध्या मात्र हो । नजाने भए नजानुस्। मैले कर गरेको होइन।’
अन्तिमका वाक्यले झनक्क रिस उठायो। भन्न मन थियो, ‘जान्नँ भन्या छु र ?’ तर केही बोलिनँ, चुप रहेँ । सायद त्यो दिन तिमीले पनि थाहा पायौ होला, मैले तिमीलाई नाइँ भन्न सक्दिनँ।
नगरकोट यस अघि पनि नपुगेको होइन। तर यसपालि तिम्रो बाइक पछाडि बसेर जाँदा अनेक कल्पनामा डुबेकी थिएँ। सँगै बस्न पाउने खुसीबीच बाटाका खाल्डाखुल्डीबारे तिमीले गुनासो गरेपछि मात्र चाल पाएँ। तिम्रो कुममा हात राखेर हिँड्दा तिमीबाहेक केही सोच्न सकेकी थिइनँ।
ग्रे स्वेटप्यान्ट र कालो गञ्जी अनि टावेल। कोठामा पुगेपछि बाथरुमबाट निस्केपछिको तिम्रो पहिरन। घाँटीमाथिको टावलले दुवै कुम छोपेको थियो, केवल पाखुरा देख्न सक्थेँ म। हो, त्यहीबेला हो, एकछिन अँगालोमा बाँधिरहन मन लागेको मलाई। तर तिमीले मलाई गर्ने जस्तै व्यवहार देखाएँ, बिल्कुल वास्ता गरिनँ।
तिम्रो बेड भित्तापट्टि र मेरो झ्यालपट्टि। एउटै कोठामा मन परेको मान्छेसँग बस्दा हजार चहाना जन्मिनु सायद स्वभाविक हो। तर ‘मेरो’ एकतर्फी माया र ‘हाम्रो’ साथीको सम्बन्धले ती चहाना मनमै गुम्साएर राखें।
छुट्टिएको भोलिपल्ट राति कुरा गर्दै गर्दा तिमीले सुनाएका थियौ, तिम्रो मनमा पनि यस्तै यस्तै कुरा नआएको होइन। तर ‘साथीको सम्बन्ध’ ले इच्छा व्यक्त गर्न दिएन।
अहिले सम्झिँदा हाँस उठ्छ, त्यो भेटको लागि कतिसम्म तयारी थियो मेरो। ब्युटि पार्लरमा दुई घन्टा बिताएकी थिएँ।
तर फोनमा गरेको कुरा जस्तो सहज भेटाइको व्यवहार नहुने रहेछ। नगरकोट बसाइँमा अनेक कुरा भए। म चाहन्थेँ, केवल तिम्रो र मेरो कुरा होस्। तर तिमीलाई आफ्ना कथा सुनाउने हतार। अझ तिम्रा अफेयर र प्रेमिकाहरू बारेका कुरा। जसले ममा ईष्र्या जगाउँथ्यो, रिस उठाउँथ्यो।
मध्यरात भइसकेको थियो। कुरा गर्दागर्दै अचानक तिमी मेरो बेडमा आयौ, एकछिन त अक्क न वक्क भएँ।
‘तपाईंको बेडमा कक्रोच छ कि क्या हो ?’ मेरो प्रश्नमा केही बोलेनौ। आफ्नो ओछ्यानमा गयौ र अर्कोपट्टि फर्केर पल्टियौ।
सोचें, ‘के–के न भन्देको जसरी किन ठुस्किनुपरेको होला ?’
आफैं अघि सरेर सोधें, ‘सुत्न लाग्नुभा हो ?’
‘अँ। ढिला भइसक्यो,’ केहीबेरको मौनतापछि तिम्रो जवाफ थियो, ‘मेरो बेडमा कक्रोच छैन। तपाईंकोमा अघि देखेथें। गाह्रो भए यतै आएर सुते हुन्छ।’
मनमनै मख्ख परें। तिमीलाई अँगालो हालेर सुत्ने कल्पना पनि गरें। तर अर्काको ब्वाइफ्रेन्डसँग बेड सेयर... अहँ मनले मानेन। गलत हो भन्ने लागिरह्यो। बत्ती निभाएर पल्टिएँ।
एकछिनमा आफैं निद्रा खुल्यो। ओछ्यानमा तिमी पनि थियौ। अँध्यारोमा पनि तिम्रो आकृति पहिल्याएँ। बलेको चुरोटको सुन्तला रंग र धुँवा आकाश पृष्ठभूमिमा स्पष्ट देखिन्थ्यो।
मोबाइलमा हेरें, साढे २ बज्न आँटेको थियो।
‘के गर्दै यता?’
‘चुरोट खाने हो?’ प्रश्नको जवाफ प्रश्नै थियो।
ओछ्यानमै बसें। तिम्रै जुठो चुरोट आफूले पनि च्यापेँ। सिकायौ, ‘एकैपल्ट धेरै नतान्नु है। सुरूमा थोरै–थोरै तान्ने हो।’
मैले बस तानिरहेँ र धुँवा त्यही झ्यालबाट बाहिर फालिरहें।
‘अर्को छ ?’
तिम्रो जवाफ थियो, ‘पख्नुस् ।’
फेरि अर्को खिल्ली ।
यस्तै एकान्त समय हो मैले तिमीसँग चाहेको। अझ तिम्रो कुममा मेरो शिर अड्याउन पाए...?
तर हिम्मत आएन, आग्रह गर्न। मनले पनि दिएन, अर्काको ब्वाइफ्रेन्डलाई छुन। झन्डै डेढ घन्टा त्यसैगरी तीन खिल्ली चुरोटको धुँवा र मौनताबीच खर्च भयो। मलाई थाहा छैन, तिम्रो मनमा के चल्दैथियो। तर म भने तिम्रो सामिप्य कल्पना गरिरहेकी थिएँ।
तिमीलाई त्यो एकान्तमा पछाडिबाट अँगालो हालेर तिमीले फालेका चुरोटका धुँवाबीच हराउने मन थियो। तर सकिनँ।
बिहानको ४ बज्न लाग्दा बाथरूम पसें। निस्किँदा तिमी आफ्नो ओछ्यानमा निदाइरहेका थियौ। मन लाग्यो मायाले चुम्दै उठाऊँ।
बच्चाजस्तै अबोध देखियौ निद्रामा। आफ्नो ओछ्यानमा आएँ, एकटकले हेरिरहें। फेरि मौका मिल्ला नमिल्ला यति नजिकबाट नियाल्ने। सोचें, अर्काको ब्वाइफ्रेन्डलाई हेर्दैमा त के हुन्छ र?
खाजा खानेबेला भइसकेको थियो। गर्लफ्रेन्डको फोन आयो र ब्युँझियौ। दुवैले अफिस पुग्नुथियो १० बजेभित्र। म तयार नै थिएँ हिँड्न। तिमी पनि तयार भयौ। आठ बज्न आँटेको थियो।
राजधानी सम्मको यात्रा बाँकी नै थियो। तर लागिरहेको थियो, हामी अब छुट्टिदैछौं। यो कोठा बाहिर जाने बित्तिकै हामी, ‘तिमी’ र ‘म’ का रूपमा अलग हुनेछौं।
साँच्चै भनौं भने, त्यो समय कोठाबाहिर निस्किनै मन थिएन। कम्तिमा अघाउञ्जेल तिमीलाई अंगालोमा बाँध्न मन थियो। तर न मैले मेरो इच्छा सुनाएँ, न तिमीले रुची दियौ।
फर्किने बेला लागिरह्यो त्यो कोठामा मैले केही छोडेर आएँ। सायद तिमी साथ हुँदाको थोरै याद, केही कल्पना र अपूरा इच्छा।
जब मसँग खाजा खाँदै गरेको बेला तिमी आफ्नी प्रेमिकालाई ‘बेबी आइ एम मिसिङ यु’ वाला मेसेज गथ्र्यौ चित्त दुखे पनि म वास्ता नगरेको अभिनय गर्थें।
म सोच्थें, न हामी प्रेम सम्बन्धमा छौं न भविष्यमा हुन सक्नेछौं। मसँग पनि उत्तिकै नजिक भएर गफिन्छौ। गर्लफ्रेन्डलाई ढाँटेर मसँग घुम्न जान्छौ। अनि म समय पनि दिन्छु। किनकी तिमीलाई नाइँ भन्न मनले दिँदैन।
पुरूषहरू कति सजिलै एक भन्दा बढी महिलासँग ‘राम्रो साथी’ का रूपमा रहिरहन सक्छन्। धेरैतिर उत्तिकै आत्मीयता दर्शाउन सक्छन्। तिमीलाई हेरेर आश्चर्य लाग्थ्यो मलाई। किनकी म सँगै भएका बेला पनि अरु केटी ‘साथी’ सँग गफिन्थ्यौ, समय दिन्थ्यौ।
आफैंलाई अचम्म लाग्ने, कस्तो मान्छे मन पर्न थालेको छ भनेर। जसमा एउटा पनि मलाई मन पर्ने गुण छैन। जसले मलाई मन पराउँदैन र पनि मलाई लाग्छ, ‘म के गरूँ कि ऊ खुसी होस्।’
***
भन्छन्, मायामा शक्ति हुन्छ। अनि सोच्छु, मलाई किन यति कमजोर बनायो त ? गलत कुरा पनि तिमीले गरे सही लाग्ने। तिमीले माया गर्दैनौ भनेर आफैंलाई सम्झाउन सकस हुने। जति नै जरूरी काम होस्, तिमीले भेट्न बोलाए जानैपर्ने। तिमीलाई केही मनपरेको सुनाए मैले ल्याएर दिनैपर्ने।
कति रात तिम्रा यादमा र तिमीले गर्लफ्रेन्डबारे सुनाउने गरेको कुरा सम्झेर रोएँ होला। मेरो जीवनमा आएको तिमी पहिलो होइनौ। तर तिमीजस्तो प्रभावित कसैले बनाएनन्। सायद जीवनभर ५० प्रतिशत आँसु त मैले केवल तिमीलाई सम्झेर खसालें हुँला।
एक वर्ष पुग्न लागेको थियो तिमीलाई मैले चिनेको। घरबाट विवाहको कुरा आयो। कुरा छिनेपछि सुनाएँ तिमीलाई। एक महिनापछि विवाह हुँदै थियो। बधाई दियौ। बिल्कुलै मन दुखेन तिम्रो। तर तिम्रो यो प्रतिक्रियाले मलाई भने बेस्सरी पोल्यो।
सुनेकी छु, आफूले माया गर्नेको खुसीमा खुसी हुनु माया हो। तर मैले तिमीलाई धेरैपटक खुसी देखेँ। मेरो भने चित्त दुख्थ्यो। किनकी म नहुँदा पनि तिमी खुसी हुने रहेछौ। जबकी म तिमी नहुँदा भित्रैदेखि खुसी हुन सक्दैनथें। तिमी खुसीसाथ आफ्नो प्रेमकथा, प्रेमिकासँगको आत्मीय पल, उनीप्रतिको प्रेम साथीसरी सुनाउँथ्यौ।
तर माफ गर, सायद म असल साथी पनि बन्न सकिनँ। किनकी तिम्रो त्यो खुसीमा म कहिल्यै खुसी भइनँ। उल्टै मलाई रिस उठ्थ्यो, म दाँज्थेँ उनीसँग। सोध्थें आफैंलाई, ‘म कुन हिसाबले उनीभन्दा कम छु ?’
आदर्श प्रेमको परिभाषाभित्र बिल्कुलै पर्दैन मैले तिमीलाई गरेको माया। मेरो प्रेम स्वच्छ थिएन। इष्र्या, आक्रोश र कतै न कतै शारीरिक आकर्षण मिश्रित थियो।
सायद मायाको विशेषता हुन्न। यो मान्छेपिच्छे फरक हुन्छ। निश्चित गुणका आधारमा मायाको परिभाषा गर्नु गलत हो। अझ मैले पढ्दै आएका प्रेमकथा जस्तो त बिल्कुलै थिएन तिमीसँगको सम्बन्ध र मेरा भावना।
सोच्छु, दुईतर्फी प्रेम, अनि मिलन, त्यसपछिको सुखी जीवन फगत कल्पना हो। उपन्यास र कथामा मात्र सुहाउँछ। वास्तविक जीवनमा यसको अस्तित्व हुन्न।
नत्र प्रेम त तिम्रो पनि ‘सफल’ भएको थियो। एक वर्ष हुन नपाउँदै किन सम्बन्ध विच्छेद भयो ? उनले कुट्दा काउकुती लाग्ने तिमीलाई विवाहपछि उनको बोली मात्रले हात उठाउनेसम्म कसरी बनायो ?
‘यो लभ म्यारिज टिक्दैन रछ। अझ इन्टरकास्ट त गर्नै नहुने,’ जब जब तिमी यसो भन्छौ, मलाई कतै खुसी पनि लाग्छ तिमी जीवनमा नभएकोप्रति। किनकी म विवाहलाई कहिल्यै अलग हुन नसक्ने सम्बन्ध मान्छु।
अहिले घर छ, श्रीमान, छोरो छन्। खोजेको जागिर छ। सामान्य महिलाले पाउने सबै सुख छ। तर यो सबका बीच तिमी छैनौ। जसले कहिलेकाहीँ, यस्तै मन अनियन्त्रित भएको बेला जीवन अपुरोझैं लाग्छ।
अनि यसैगरी विगतमा पुगेर अदृष्य तिमीसँग तिम्रै सम्झना साझा गर्छु। हामी पहिले आउने यो एकान्तमा एक्लै तीन खिल्ली चुरोट उडाउँछु। त्यो नगरकोटको बसाइँ सम्झिन्छु, जहाँ चुरोटलाई ओठसम्म ल्याएँ, तर मनका कुरा ल्याइनँ। चुरोटसरी इच्छा जलिरहे, मैले जल्न दिएँ। धुँवा उडेर बिलायो, त्यसैगरी तिमीसँगका केही पल पनि।
सायद साता दिनपछि फेरि कल गर्नेछौ र सोध्नेछौ, ‘के छ हौ हालखबर ? मान्छेले फोन पनि गर्दैनन् त अचेल।’
अनि रमाइला ‘साथी जस्ता’ गफ गरेर बित्नेछन् आधा पौने घन्टा। अनि फेरि म केहीबेर विगत, तिमीलाई गरेको एकतर्फी माया र तिम्रो अभाव सम्झेर भावुक हुनेछु।
तिम्रो याद मेरो प्लेलिस्टको त्यो गीत हो, जसलाई म सधैं स्किप गर्छु, तर डिलिट गर्न सक्दिनँ। तिम्राबारे सोच्दा खालीपन महशुस हुन्छ। तर म चाहन्छु, यो खालीपन सधैं रहिरहोस्। किनकी त्यो कमी तिम्रै हो। मेरो जीवनमा अभाव बनेर भए पनि तिम्रो अस्तित्व रहिरहोस्।
मोबाइलको फ्लाइट मोड अफ गरें। मिस्ड कल नोटिफिकेसनका मेसेज आए। अफिसबाट एउटा, श्रीमानको एउटा र ममीको ३ कल।
अहिलेलाई स्कुटर स्टार्ट गरेर फेरि लागें आफ्नै व्यस्त संसारमा। जहाँ तिमी छैनौ तर पनि म खुसी छु र भइरहनेछु।