पृथ्वी नेपाल पुस्ता नै खानदानी, आफै सर्व-सम्पन्न। पृथ्वी उमेरले ८० नाघिसकेका छन्। खानदानी भएर होला, अझै हृष्टपुष्ट, ठम्-ठम् हिड्दैछन्।
घरमा काम गर्ने नोकरचाकर प्रशस्तै छन्। दु:ख कस्तो हुन्छ थाहा नै छैन। पृथ्वी श्रीमती प्रेक्षासँग काठमाडौँमा बस्छन्। उनका चार जना छोरा छन्। क्रमश: जेठा खड्ग, माधव, पुष्पराज र बैद्यनाथ हुन्। यी चारै जना छोराहरु छुट्टै बस्छन्। सबै एकसे एक छन्।
जेठा छोरा खड्ग प्रसाद झापामा, माधव रौतहटमा, पुष्पराज चितवनमा र बैद्यनाथ इलाममा बस्छन्। सबै छोराहरु हरेक क्षेत्रमा सक्षम छन्। बाबु पृथ्वीको नामले होला उनीहरुलाई वरपर मात्र हैन, टाढा टाढाबाट मानिसहरुले उनीहरुको पनि आदर श्रद्धा गर्थे।
चारै छोराहरु पनि बाबुको पदचिह्न पछ्याएका थिए। सबै छोराहरुको पनि यश कीर्ति फैलिएको थियो। पृथ्वी पनि सबै छोराहरुको यश कीर्ति फैलिएको देखेर खुसी हुन्थे। सबै छोराहरुलाई हौसला दिन्थे। छोराहरु पनि बाबुको माया आशीर्वादले गदगद् हुन्थे।
पृथ्वीसँग जग्गा, जमिन, धन, सम्पत्तिको कुनै कमी नै थिएन। मनग्गे पैसा थियो। छोराहरु सानै हुँदा बाबु पृथ्वीले चारै जनालाई अलि टाढा एक आपसमा दिनहुँ भेट नहोस्, झगडा कहिल्यै नहोस् भनेर छुट्टाछुट्टै घर बनाएर राखेका थिए। छोराहरुको विवाह हुनासाथ क्रमश: अलिकति पैसा जमिनको व्यवस्था र घरको साँचो जिम्मा लगाएर पठाउथे। छोराहरु पनि खुसी हुँदै जान्थे।
हुन त बाबु पृथ्वीले धेरै ठाउँमा जग्गा जमिन जोड़ेका छन्, धन सम्पत्ति अथाह छ भन्थे। तर पृथ्वीसँग कति धन सम्पत्ति छ, कुनै छोराहरुलाई जानकारी थिएन। पृथ्वीको काठमाडौँको घरमा चाडवाडमा सबै छोरा दाजुभाइ परिवारहरुको भेट हुन्थ्यो।
बाबु पृथ्वीले हरेक भेटमा एउटा कुरा सधैँ भन्थे- 'मेरो एउटा सुनको दरबार छ। जसले भविष्यमा राम्रो गर्छ, त्यो त्यसैले पाउँछ।' यति भनेको सुनेपछि चारै छोराहरुको कान टाठो हुन्थ्यो। बाबुको त्यो सुनको दरबार कहाँ होला भनेर कौतुहलता जाग्थ्यो।
सबै छोराहरु बाबुको त्यो सुनको दरबार कहाँ होला भनेर धुइपताल खोज्थे। महिनौँ सुनको दरबार खोज्न हिड्थे। कतै भेट्दैनथे। चारै दाजुभाइ कहिलेकाहीँ बाबुलाई फकाएर सोध्थे। तर बाबु पनि के कम, जसले राम्रो गर्छ त्यो सुनको दरबार त्यसैले पाउँछ। यत्ती कुरा सुनेपछि चारै दाजुभाइ लोभिन्थे।
समयको कुरा हो, पृथ्वीका सबै छोराहरु खड्ग प्रसाद, माधव, पुष्पराज र बैद्यनाथ हर क्षेत्रमा काबिल थिए। मानौँ पृथ्वी सारा संसार नै तिनका वरपर घुमिरहेको छ। तैपनि यी चार दाजुभाइ एक-अर्कालाई असाध्यै अविश्वास गर्थे। बाबुको सुनको दरबार अरुले नै हात पार्लान् भनेर।
दिनहुँ एकअर्का बीच चियोचर्चा गर्थे। चियोचर्चा गर्ने २-४ जना नोकर चाकर नै थिए। ती सबै नोकरचाकर मालिकप्रति निकै बफादार थिए। तिनले ल्याएका खबरलाई शतप्रतिशत विश्वास गर्थे। तिनीहरु पनि मालिकप्रति ज्यादै कृतज्ञ थिए। यो कुरा सबै पृथ्वीलाई जानकारी थियो।
कुनै न कुनै बहानामा एउटा न एउटा बफादार नोकर पृथ्वीको सेवामा पुर्याउथे। यस्तो कृयाकलापले स्वयं पृथ्वी दंग थिए छोराहरुले मेरो सेवामा पठाए भनेर, तर छोराहरुको गुह्य कुरा पृथ्वीले पहिल्यै चाल पाइसकेका थिए। तर पृथ्वीले कसैलाई केही भन्दैनथे।
समयको कुरा हो। एक पटक पृथ्वी साह्रै बिरामी परे। जीवनको अन्तिम सास फेर्दै थिए। पृथ्वीले चारै छोराहरुलाई बोलाए। बाबु बिरामी भएको हुँदा सबै छोराहरु हतार हतार बाबुलाई भेट्न काठमाडौ आए। पृथ्वीले छोराहरु सबैलाई नजिकै राखे। पृथ्वीले सबै छोराहरुलाई तिमीहरुको सबै हालखबर सोधे। सबैले ठिकै छ भनेर टाउको हल्लाउदै जवाफ दिए।
बाबु पृथ्वी खुसी देखिए। पृथ्वी आफू अन्तिम अवस्थामा रहेको छोराहरुलाई बताइरहेका थिए। सबै छोराहरुको अनुहार मलिन देखिन्थ्यो। सबै छोराहरु बाबुको अन्तिम अवस्था देखेर चिन्तित थिए। तैपनि चारै छोराहरु बाबुले मर्ने बेलामा थप धन सम्पत्ति बराबर दिउन्, कसैलाई मर्का नपरोस भन्ठान्थे।
तर सुनको दरबार मलाई नै दिए हुन्थ्यो वा खुसुक्क मलाई मात्र भने हुन्थ्यो भन्ने सबै छोराहरुको स्वार्थ थियो। सबै छोराहरु बाबुको नजिक हुन चाहन्थे। बाबु पृथ्वीले सबै छोराहरुको राम्ररी मनोविज्ञान बुझेका थिए।
मर्ने बेलामा बाबु पृथ्वीले चारै जना छोरालाई बोलाएर भने- 'हेर छोरा! मैले कमाएर बनाएको सुनको दरबार बालुवाटारमा छ। त्यो दरबार गरगहना, घर जग्गा जस्तो अंश भाग लागे जस्तो भाग लगाउन मिल्दैन। त्यो भाग लाग्दैन। त्यो सुनको दरबार जसको बल, बुद्धि, इमान, जमान, तागत, सुझबुझ ठिक समयमा ठिक ढंगले लगाउन सक्छ, त्यो त्यसकै हुन्छ।
त्यसको लागि तिमीहरु चारै छोरा सक्षम काबिल छौ। जाऊ मैले भने जस्तै गर्नु, एकआपसमा झै-झगडा नगर्नु, एकले अर्कोलाई सघाउनु, यदि एक आपसमा चार दाजुभाइ लड्यौ भने त्यो सुनको दरबार हुन्न सक्छ, तिमीहरुले सम्हाल्न सकेनौ भने म मरेपछि फेरि पुर्नजन्म लिएर आउछु।
त्यतीबेला तिमीहरुले कमाएको धनसम्पत्ति यश आराम सबै गुमाईसकेका हुनेछौ। यति भन्दाभन्दै पृथ्वीले प्राण हुरुक्क त्याग गरे।