उसले हुरूक्कै हुने गरी माया गर्न मात्र जानेकी थिई। सम्बन्धको न्यानोपनले मनलाई विशेष प्रकारको पोषण दिन्थ्यो, हृदयको खुराक बन्थ्यो उसको।
सानोमा बाबु भनेपछि हुरूक्क। सानो भाइ उसको सबैभन्दा प्यारो। विभिन्न कक्षामा साथीहरू त्यत्तिकै प्यारा। साथीहरू पनि प्रभालाई खुब माया गर्ने। उसको बेस्ट-फ्रेन्ड बन्न तँछाडमछाड गर्थे। उसले जानेदेखि साथीको दुःख र कमी कहिल्यै भएन उसलाई। साथीहरू पनि कसैलाई भन्न नसकेको आफ्ना अति गोप्य र भित्री मनका कुरा उसलाई आएर सुनाउँथे। विश्वास गर्थे ऊमाथि।
नगरून् पनि कसरी — मानवीय सम्बन्धको भाउ र मतलब बुझेकी अत्यन्त समझदार केटी थिई प्रभा। घात भन्ने शब्दसँग अनभिज्ञ कति निश्चल र कञ्चन मन भएकी थिई ऊ।
फिल्म हेरेकी थिई एकपटक, अमिताभ बच्चन र अभिषेक बच्चनको। मर्ने बेलामा बाबुले छोरालाई आफूले माया गरेको मान्छेलाई कति माया गर्छु भनी आभास दिलाउनु कुनै मान्छेलाई माया गर्नुभन्दा ठूलो कुरो हो भन्छन्। त्यसैले आफूले माया गरेको मान्छेलाई थाहा हुने गरी आफ्नो माया व्यक्त गर्न भोलि नभन्नू भनेर बाबु अभिताभ बच्चन मरेका हुन्छन्। आफ्नी स्वर्गीय पत्नीलाई मनमा भएको जति माया खुलेर देखाउन नसकेको पश्चाताप र ग्लानी लिएर उनको मृत्यु हुन्छ।
माया त देखाएर गर्नुपर्ने रहेछ भन्ने भान जब हुन्छ, समय उही हुँदैन। समय आफ्नो पञ्जाबाट कता कता पुगिसकेको हुने रहेछ।
उसलाई मर्ने बेलामा आफूले चाहिँ त्यस्तो पश्चाताप लिएर मर्न नपरोस् भन्ने मनमा गढेको थियो।
उसलाई लाग्थ्यो, 'कसैलाई म माया गर्दै गर्दिनँ। यदि गरे भने यति छताछुल्ल माया गरिदिन्छु, त्यो मायाले उसलाई संसारकै सबभन्दा खुसी र भाग्यमानी प्राणी मै हुँ भन्ने लागोस्। आखिर माया जस्तो ठूलो शक्ति र सम्पत्ति के हुन सक्ला र यो धर्तीमा?'
कति सरल र सिधा थियो प्रभाको जिन्दगी।
भावना जस्तो अष्टवक्र कुरोलाई पनि कति सहज मानेकी थिई प्रभाले। भावनाको नाम एउटै हुन सक्ला, तर व्याख्या र अर्थ व्यक्ति र परिवेशपिच्छे फेरिन्छन्। यहाँ सबभन्दा लोकप्रिय र बढी खेलिने खेल नै भावनाको खेल हो भन्ने उसले कता बुझ्नु त्यो बेला?
माया उसका लागि सबभन्दा ठूलो सम्पत्ति थियो। तर शरदका लागि बन्धन र बोझ बनिसकेको थियो। मायाले बाँधिनु कसैका लागि मीठो अनुभूति त कसैलाई उकुसमुकुस पनि हुन्छ र?
के नै भनेकी थिई र? — घरमा चाँडै आउन नपाए पनि आएपछि त घरमै हुनुपर्यो नि! कति बजेको फोन पनि! कति हो यो जागिरको बोझ पनि! रातैभरि पनि नसकिने!'
साँझ परेपछिको भात र भान्छाको चटारोले छोरो एक्लो पर्थ्यो। बाबुको फुर्सद थिएन। छोरो जंगली बनेर हुर्केला भन्ने अर्को ठूलो पिरलो थियो। सासूससुरालाई मोबाइलको लत बच्चालाई भन्दा चर्को लागेको थियो।
'स्कुलको होमवर्क मात्र गराइदिए पनि कति हल्का हुने थियो,' मुखले होइन मनमनले छोरीसँग घन्टौं गफिन मस्त सासूससुरालाई हेर्दै सोच्थी।
'तिम्रो यो रातदिनको कचकच मलाई मनपर्दैन। म के रहरले गरिरहेको छु र यो सब? पोखराको यो महँगी र छोरोको महँगो स्कुल! यति नगरी सबै गर्न सकिन्छ र? दिन कटाउन मात्र खाएको जागिर हो र? घर चलाउन खाएको पो हो त!,' व्यंग्य, रिस र घोचपेच सबै एकैसाथ मिसाएर शब्दको वाण हान्न शरदलाई राम्रोसँग आउँथ्यो।
बुझ्ने कोही नभएपछि दुःख पनि नसुनाएकै ठीक। कतिखेर एउटाले पोखेको दुःख अर्काका लागि गनगन भइसक्दो रहेछ। तिम्रो आँसु हेर्न सक्दिनँ भन्नेले आँसुको भेल नै बग्दा पनि 'यो नाटक कति हेर्नु' भन्न सक्दा रहेछन्।
जसको कारण दिनरात घरमा झगडा पर्थ्यो, त्यही छोरा नि अठार वर्ष पुगिसकेको थियो। उसकै बाबु जस्तो — अग्लो, जीउडाल मिलेको, काले काले हिस्सी परेको र हाँस्दा टलक्क टल्किने टम्म मिलेका दाँत। हेर्दा शरदकै फोटोकपी जस्तो। फोटो हेरेकी थिई उसले छोराको। त्यो फोटो हेरेको दिन रोएकी पनि थिई आधा रातसम्म छोरो सम्झेर।
त्यो छोराको अनुहार मात्र होइन, निठुरी स्वभाव पनि बाबुको भन्दा कम भएन। आमालाई सधैं दोषी देखेर हुर्केको छोरोले कुनै दिन ती दोष र लाञ्छनालाई पञ्छाएर आफ्नी आमालाई बुझ्नेछ भन्ने आश लाग्न छोडिसकेको थियो। शरदले आफूलाई जे गरे पनि छोरोलाई चाहिँ अनिरूद्ध माया गरेको थियो।
तर त्यही छोरो जन्मिएपछि हो प्रभाले आफूलाई अझ बढी माया गर्न थालेकी। बच्चालाई जिन्दगीमा खुसी हुनुपर्छ भनेर घोकाउने कुरो होइन। खुसी त जीवनशैली हो। आफै ससानो कुरामा खुसी भएर जिन्दगी बाँच्नेछु र छोरोलाई खुसी हुनु के हो भनी बुझाउँछु भन्ने अठोट गरेकी थिई प्रभाले।
शरदसँग छुट्टिएर बसेको दस वर्ष बितेछ। साह्रै डराएकी थिई डिभोर्स भन्ने शब्दसँग। राम्रो जागिर, छोरासँगैको सुन्दर अनि सुखी परिवार। उसको स्वभावमा के देख्थे कुन्नि, कुरा काट्नेहरू 'यो बुढासँग टिकेर खान सक्दिन' भन्थे।
उसलाई आफ्नो दायरा र सामाजिक नियम, कानुन र कायदाको ज्ञान भने थियो। पढेको डिग्री अगाडि सारेर दुनियाँसँग लड्न सकिँदैन, व्यावहारिक हुनुपर्छ भन्ने बुझेकी थिई। घरका मान्यजन सबैलाई रिझाउन जानेकै थिई। सक्दो गरेकै पनि हो। अरूको खुसी आफ्नो हातमा नहुने रहेछ। आफूलाई बिर्सिएर अरूलाई खुसी राख्न, रिझाउन हत्ते गरी लागि पर्दा आफैलाई दुःख मात्र थपिँदो रहेछ। जस पाउन त कि आफ्नो रगत हुनपर्दो रहेछ, कि त छोरा मान्छे नै।
महिलाका लागि बनेका असमान व्यवहार र नियम उसलाई मनपरेको कहाँ हो र? सबै थोकमा विद्रोह गर्ने जाँगर थिएन उसमा। त्यसमा खर्च गर्न सक्ने ऊर्जा नि कमै थियो।
कुल घराना, थात थलो र इज्जत सबै मिलाएर छोरोको बिहे गर्ने आमाको रहरलाई तोडेर प्रभासँग बिहे गरेको थियो शरदले। शरदलाई माया गर्दा उसले माया गरेका र उसका मायामा आश्रित सबैलाई पनि माया गर्नुपर्छ भन्ने चेत थियो उसमा। उनीहरूको मन नदुखोस् भनी आफ्नो नाता, गोता र रगतलाई पनि बिर्से जसरी पर बनाइसकेकी थिई।
बाबुआमा जसका पनि उस्तै हुन्। सन्तान हुर्काउन ५२ घुस्सा र ५३ ठक्कर खाएकै हुन्छन्। आफ्नो र अर्को छुट्ट्याउन हुन्न भन्ने लाग्थ्यो। उसले जानेर फरक कहिल्यै गरिन। तर यथार्थमा जसका लागि त्यो सब गरी, उसले त्यो कहिल्यै देखेन। देखे पनि ठूलो कुरो कहिल्यै मानेन।
प्रभालाई भित्र एउटा, बाहिर एउटा व्यवहार पनि आएन। बुहारी वा श्रीमती भएकै कारण हुने विभेद र फरक व्यवहार भने उसलाई सहन गाह्रै हुन्थ्यो। तर पनि सबै कुरामा प्रतिक्रिया दिनुहुँदैन, अब म विवाहित हुँ, बाबुको घरमा जस्तो मेरो मर्जी चल्दैन भन्ने उसलाई लाग्थ्यो।
कहिलेकाहीँ जबाफ आइ पनि हाल्थ्यो। देखेको कुरा बोलेपछि चर्को मुख भएकी मुखाले भइहाल्थी। मुख छुचो छ भनी ससुराले गरेको व्यवहार सम्झिँदा अहिले पनि आँसु झर्छ उसको। सासूलाई त किन हो ऊ मनैपरेको थिएन। सासूका नियम झन् कडा थिए, काँडै काँडामै हिँडेका जस्ता।
कहिलेकाहीँ साथीभाए जस्तै विदेश जाऊँ कि नलागेको होइन। सहरको बीचमा फूलैफूलका अगाडि आफूलाई मन लागेको छोटो, राम्रो कपडामा फोटो खिचेर फेसबुक र इन्स्टाग्राममा राख्न मन नभएको नि होइन। तर बुढा भएका बाबुआमासँग एउटै भएको छोरोलाई पर लैजान उसलाई मन लागेन। उसको संस्कारले दिएन।
कहिलेकाहीँ रिस उठ्थ्यो उसलाई आफ्नी आमा र दिदीबहिनीसँग — किन मलाई सबैलाई खुसी पार्नु र रिझाउनुपर्छ भनी सिकाइयो? किन सबैको प्यारो हुनुपर्छ, मीठो मात्र बोल्नुपर्छ भनियो। दुनियाँ त मैले जति मीठो बोले पनि, राम्रो गरे पनि मसँग कहिल्यै खुसी नहुने रहेछ। आफूलाई लागेको कुरा भन्न पनि धक मान्नुपर्ने, आफ्नो कुरा आफैसँग राख्नुपर्ने, जायज नै भए पनि, सही नै भए पनि आफू हच्चिकनुपर्ने किन?
त्यति गर्न सकेको भए सायद शरदसँग यो सब हुने नै थिएन। आज मेरो छोरो मसँग हुने थियो। उसकी आमाले आफ्नो करिअर र सपना भनेर उसलाई, उसको बाउलाई र घरलाई त्यागेको तस्वीर दिमागमा टाँसेर हिँड्ने थिएन। मैले जागिर छोड्नुपर्थ्यो। दिनरात नभनी शरदले दुःख गरेकै थियो। कमाइले घर राम्रैसँग चलेकै थियो। दिन-खान दुःख थिएन। गोरू जोतिए जसरी जोतिन्थ्यो शरद काममा। कामको थकान र रिस घरमा पोखेको थिएन।
आमाले तँलाई सुख बौलाएको भनी गाली गरिन्। बाबुले सहन अलि सक्नुपर्छ भने। भाइले तेरै इच्छाले बिहे गरिस् कता कताको मान्छेसँग, तेरै इच्छाले छोडिस् अब के गर्नु छ आफै गर भन्यो र पन्छियो।
बोझ त उसलाई कसैको हुनु थिएन। कुकुरले नपाएको दुःख पाए पनि प्रभा कसैको बोझ बन्न जाने पनि थिइन। एकपटक उसको कुरा धैर्य गरेर सुनिदिने पनि कोही भएन। जन्मेको घर र नाताले त्यस्तो गरेपछि इष्टमित्र र समाजले त झन् के मात्र बाँकी राख्थे होला र?
त्यो दिनदेखि उसले माइतीको पाइला टेकिन। तीजमा माइती सम्झेर गाउने गीत सुन्दा पनि रिस उठ्थ्यो उसलाई।
बोझ पनि कत्ति सम्झेको, कतै मिल्काएपछि फिर्ता ल्याउन नमिल्ने फोहोरको थुप्रो जस्तो। यही थाहा पाएर पनि शरद र उसका परिवारले प्रभालाई अलिक बढी नै गरेका हुन् कि भन्ने पनि लाग्यो। आफ्नो पछाडि माया गर्नेको लाम कत्रो छ भन्ने कुराले आफू अरूबाट हेपिने /नहेपिने तय हुन्छ भन्ने उसलाई राम्रोसँग थाहा थियो।
तर पनि उनीहरूले माया नै नगरेका त होइनन् भन्ने मिलाएर बुझी। जिम्मेवारी लिन चाहेनन् भन्ने अर्थ लगाई। भाइलाई भान्जोले अंश लिन्छ कि भन्ने डर पनि थियो कि? बुहारी त केही बोलिन। अर्काकी छोरी बोले पनि त्यो घरमा उसको के नै पो चल्थ्यो र।
'नरूनु दिदी हामी छौं नि' मात्र भनिरही। त्यति भए पनि भनी। रगत पानीभन्दा गाढा हुन्छ भन्ने कुरालाई गलत सावित गर्दी।
एकपटक भइगयो, यसो नगरौं भनेर शरदले प्रभालाई रोकेन। एक वचन बोलिदिएको भए फेरि सबैथोक छोडिदिन्थी। उसका लागि सबै छोड्ने र त्याग्ने आदत जो बनेको थियो। प्रभाका आफ्ना रहर र आकांक्षा उहिल्यै कतातिर छुटिसकेका थिए। साथीभाइ पनि समय दिन नसक्दा बिराना भएका थिए। आफन्त त कहिले कसो मौका मिल्दा भेट्ने व्यक्तिमा सीमित भएका थिए।
शरदलाई प्रभाले जागिर छोडेर बाबुआमा र छोराको हेरचाह र रेखदेख गरोस् भन्ने थियो।
'त्यो जाबो प्राइभेट जागिरको मासिक तीस हजारले के नै पो हुन्थ्यो र। फेरि ढिला ढिलासम्म बसेर किन छोरो मान्छेले जसरी काम गर्नुपर्यो? बेलैमा निस्के हुन्न? अनि फिल्ड जाने भनेर किन हिँड्नुपर्यो। अफिसमा नयाँ आएको हाकिम भेटेदेखि किन धेरै राम्रो राम्रो लुगा लगाएर राम्री बनेर अफिस जानुपर्यो?' झगडाको बीऊ खासै ठूलो थिएन।
'त्यसो होइन, राम्रो त आफ्नै लागि भएको हो नि! राम्री नै छु, त्यसैले तिमीले रोजेको होइन र? अस्तिसम्म त लुगा सुहाउनु नि पर्यो। लुगा छान्न पनि जान्नपर्यो भन्दै कपडा छानेर किनेर ल्याइदिने तिमी होइनौ र भन्या? तिमी पनि त यत्रा महिलासँग काम गर्छौ। सोचाइलाई पनि लगाम लगाउनुपर्छ क्या!,' प्रभा सम्झाउन खोज्थी तर शरद किन सम्झिन्थ्यो र?
पहिले पहिले त यी विवाद समाधान गरेर समझदारीमा जीवन चलाउनुपर्छ भन्ने लागेको थियो। तर उसले सकिन। अघिल्लो रातको झगडा बिहानसम्म नपुर्याउने सहमति जस्तै थियो। रातभरि झगडा परोस्, जे होस्, त्यो त्यहीँ सकेर सुत्ने बानी थियो दुवैको। त्यो अब रहेन। कोठा अलग अलग हुन थालेको थियो। छोराबुहारीको झगडामा सासूससुरा रमिते बन्ने थालेका थिए।
बुहारीलाई आफूसँग दाजेर 'देख्यौ हामीले कति सहेका थियौं, हामीले जसरी यिनले सहन्छन्?' भन्दै आफूलाई महान् बनाउनमा सासू व्यस्त हुन्थिन्। उनलाई प्रभाले जागिर नछोडेको मनपरेको थिएन। छोराको कमाइ त खर्च गरेको झनै चित्त बुझेको थिएन। त्यो नाति हेर्ने काम बोझ भएको थियो। सासूससुराले छोरोलाई कहिल्यै सम्झाएनन्। छोरोको गल्ती देख्दै देखेनन्। छोरो अरू कुरामा गलत हुन सक्थ्यो तर बुहारीको सवालमा ऊ गलत हुनै सक्दैन थियो उनीहरूका लागि।
प्रभा पनि बेकारको गुलामी के गर्नु भन्नेमा पुगिसकेकी थिई। गर्दा गर्दै थाकिसकेकी थिई, मानसिक र भावनात्मक रूपमा।
तिमीलाई नि गाह्रो भएको होला, तिमी नि थाक्छौ होला, तिमी गलत मात्र होइन, यो यो कुरामा तिम्रो अडान सही छ भन्ने कोही थिएन। हामी छौं नि भन्ने आधार र भर कतै थिएन। तर सबै कुरा सुनाएर शत्रु हँसाउनु पनि त थिएन। यसै पनि तैलें खाइस् भन्नेकै बहुमतको भएको दुनियाँ हो यो। दुनियाँ पनि त रमिते नै हो उसका सासूससुरा जस्तै।
आधा पेट खाएर जिन्दगी चल्न सक्थ्यो। लुगा जस्तो भए नि हुन्थ्यो। उसलाई आफ्नो स्वतन्त्रता प्यारो थियो। स्वतन्त्रता सबै थोकमा होइन, केही विशेष छनौटमा परेका, रोजेका कुरामा मात्र। त्यही पनि खोज्न नहुने कुरामा परेछ। सम्बन्ध धरापमा पर्यो। झुक्नु त पर्छ तर आफ्नो स्वाभिमान नै गुमाउने गरी होइन। सम्मान र इज्जत बिनाको माया मान्छे बाँध्ने डोरी बाहेक केही होइन भन्ने निष्कर्षमा प्रभा पुगी।
शरदको रातदिनको मानसिक तनाव धान्न गाह्रो भयो। एकदिन झोंक चलेका बेलामा यसरी बस्नु भन्दा अलग अलग बसौं भनेकी मात्र के थिई, शरदको पुरूष 'इगो' नराम्ररी मुर्छित भयो।
सुख नपचेको, अब त जसरी नि यसलाई बाटोमा अलपत्र बनाउँछु भन्नेमा पुग्यो।
त्यही संवाद शरदका लागि प्रभाको त्यो नयाँ हाकिमसँग 'चक्कर चलेको' प्रमाण बन्यो। न्याय र निसाफ पुरूषले तय गर्ने समाजमा उसलाई लागेको र उसले ठानेको सबै कुरा सत्य भयो। हिजोसम्म घरका एउटा सामान आफ्नो मर्जीमा किन्न नसक्नेले आज एक्लै जिन्दगी चलाउने कुरो गर्दा शरदलाई भाउन्न भयो।
सासूले अब रोजेर अर्को बिहे गरिदिन पाउने भइन्। नन्दले मैले भनेकै थिएँ नि भन्दै आफूलाई सही सावित गर्न पाइन्। ससुरालाई त आफ्नो छोराछोरी र बुढीले भनेको कुरा बेठीक लाग्ने कुरै भएन। सम्बन्ध जोगाउनुपर्छ भन्ने कसैलाई लागेन। जोड्न मेहनत गरेको सम्बन्ध भए पो टुट्छ कि भनी माया लाग्नु! आफ्नो मेहनत नपरेको कुराको केको माया?
गल्ती नगरेपछि नदब्ने, नझुक्ने आदत थियो प्रभाको पनि। जागिर खाएकै निहुँमा मैले यति किन सहनुपर्ने? सासूआमाको हात खुट्टा चल्दैछ। ससुरा बल्ल ६५ मा हिँडेका छन्। बिरामी पर्दा अस्पताल लाने, लैजाने काम गरेकै छ। बच्चा पनि अब स्कुल जाने भयो। स्कुलबाट आएपछि अलिकति यसो केही खुवाएर बच्चालाई राख्न त सकिन्छ। बिहानदेखि भान्छामा कुरेर बसेका भाँडा माझेकै छु। घरका काम सकाएर जागिर खाएको छु। चाड, पर्व, तिथि, श्राद्ध एक्लै उम्काएकै छु। घरमा बीस जनाको भेला हुँदा नि एउटा चम्चा कसैले सघाएको छैन।
त्योभन्दा ठूलो कुरा, उसलाई छोरोले कामकाजी महिला देखेर हुर्कोस्, बाउले आमाको सम्मान र इज्जत गरेको हेरेर ठूलो होस् भन्ने थियो। पढेलेखेको आमाको सन्तान भएकाले ऊ अरूभन्दा महिलाको सवालमा पृथक सोच र व्यवहार गर्ने पुरूष बन्नुपर्छ भन्ने थियो। छोरोको अगाडि जिस्किएरै किन नहोस् उसको मजाक कसैले नबनाओस्, कसैले आफूलाई नहोच्याओस् भन्ने लाग्थ्यो।
उसले पटक पटक शरदसँग यो कुरा राखेकी थिई। शरदको छानी छानी कुरा सुन्ने र मनमा लिने, आफूलाई मनपरेको कुरा बाहेक अरू सबै कुरा सुनेको नसुनै गर्ने बानीदेखि वाक्क बनिसकेकी थिई प्रभा।
माया त शरद पनि हदैसम्म गर्थ्यो। तर उसले गर्ने अगाध मायासँग अनिगिन्ति अधिकार र छुट पनि जोडिएका थिए। शरदको माया निःशर्त हुनै सक्ने थिएन। उसका शर्तलाई नकार्न सक्ने अवस्था पनि त थिएन। उसले ती सबैलाई मायाको हिस्सा बनाएको थियो। तिम्रो मायाबाट यो यो कुरा हटाऊ भन्न सक्ने अवस्थामा प्रभा थिइन। उसको सबैभन्दा ठूलो डर शरद र उसले गर्ने बेहिसाब माया गुमाउँछु कि भन्ने थियो धेरै वर्षसम्म।
फेरि एकदिन उसलाई आफूलाई नै गुमाएर शरदको माया सँगाल्नुपर्छ जस्तो लागेन। उसलाई अर्को एकदम ठूलो डर समाजले लोग्नेसँग छुट्टिएर अथवा डिभोर्स लिएर बसेका महिलालाई समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारको थियो। कति 'खुच्चिङ' र 'खाइस् बल्ल' भन्ने सुन्नुपर्ने हो थाहा थिएन।
तर त्यो पनि झेल्ने आँट बढेको थियो। नेपालमा त नसकूँला, मेरो जीवन त नर्क बनाउँछन्, के भयो र कसो भयो भनेर। कतिको प्रश्नलाई झेल्न सकूँला र?
विदेश जान्छु र उतै पलायन हुन्छु। कसैलाई केही स्पष्टीकरण पनि दिननपर्ने। सबै प्रश्न र खिसिट्युरीबाट टाढा, खुला र स्वतन्त्र। उसको कल्पनाले उडान लिन्थ्यो र तत्कालको पीडाबाट मनलाई कतै टाढा पुर्याएर एकछिनकै भए पनि राहत दिन्थ्यो!