भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) मद्रासको 'आविष्कार हाइपरलूप' ले हालै नेदरल्यान्ड्समा सफलता हात पारेको छ।
विद्यार्थीको नेतृत्वमा आधारित आविष्कार हाइपरलूप समूहले सामाजिक–आर्थिक अनुसन्धानतर्फ पहिलो र प्राविधिक अनुसन्धानतर्फ एरोडाइनामिक्स विश्लेषणमा दोस्रो स्थान हात पारेको हो।
योसँगै यो समूह एसियाली देशहरूमा पहिलो र संसारभर चौथो भएको छ।
अविष्कार हाइपरलूपको सामाजिक–आर्थिक अनुसन्धान समूहमा नेपालकी प्रभा राई पनि छन्। उनले त्यहाँ के–कस्ता काम गरेकी छन् भन्ने जान्नुअघि हाइपरलूप भनेको के हो भन्ने बुझौं।
हाइपरलूप भनेको एकदमै उच्च गतिमा यात्रा गर्न सकिने प्रस्तावित यातायात प्रणाली हो। यसमा पड वा क्याप्सुल भनिने सवारी साधन हुन्छ। यो रेलको एक डब्बा जस्तै हुन्छ।
त्यो पड वा क्याप्सुल हावाको दबाब कम भएको ट्युब (सुरूङजस्तो) मा अत्यधिक गतिमा चल्छ।
हावाको प्रतिरोध कम हुने भएकैले यो प्रणालीमा पड वा क्याप्सुल हजार किलोमिटर प्रतिघन्टाको गतिमा चलाउन सकिन्छ। यो गति भनेको हाल भएका रेल वा हवाईजहाजको भन्दा निकै छिटो हो।
हाइपरलूपको अवधारणा सबभन्दा पहिले सन् २०१३ मा टेस्ला, स्पेसएक्स लगायत कम्पनीका सञ्चालक एलन मस्कले सार्वजनिक गरेका हुन्।

यो अवधारणामा अहिले संसारभर विभिन्न देशमा अनुसन्धान चलिरहेको छ। 'आविष्कार हाइपरलूप' त्यसैमध्ये एक हो जसमा भारतमा पढिरहेका विद्यार्थीहरूले काम गरिरहेका छन्।
यो समूहमा विभिन्न प्राविधिक विषय पढिरहेका ७० जनाभन्दा बढी विद्यार्थी छन्।
यिनै विद्यार्थीमध्ये एक प्रभा राई हुन्।
प्रभा काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन्। उनी काठमाडौं विश्वविद्यालय र आइआइटी मद्रासको सहकार्यमा सञ्चालित बहु–आयामिक शिक्षा कार्यक्रम अन्तर्गत मद्रास गएकी थिइन्। यो कार्यक्रममा ऊर्जा प्रणाली कसरी राम्रो बनाउने भनेर एक वर्ष काठमाडौं विश्वविद्यालय र एक वर्ष मद्रासमा पढाइ हुन्छ।
सन् २०२४ जुलाइम आइआइटी गएकी प्रभा अहिले ब्याट्री र सुपर क्यापासिटरको सहयोगमा ब्याट्रीको क्षमता कसरी बढाउन सकिन्छ भनेर थेसिसका लागि अध्ययन गरिरहेकी छन्।
त्यसैबीच उनले आविष्कार हाइपरलूपका लागि आवेदन भरिन्। त्यसमा छनोट भइन् र काम गरिन्।
गत जुलाइ १४ देखि २० सम्म नेदरल्यान्ड्समा भएको 'युरोपियन हाइपरलूप सप्ताह २०२५' को पाँचौं संस्करणमा दुई जनाले आविष्कार हाइपरलूपबाट सामाजिक–आर्थिक अनुसन्धानबारे प्रस्तुति दिएका थिए। त्यसमा प्रभा पनि थिइन्।
'अन्य सवारी साधनको तुलनामा हाइपरलूप सामाजिक, आर्थिक हिसाबमा कसरी प्रभावकारी छ भनेर हामीले गरेको अनुसन्धानबारे प्रस्तुत गरेका थियौं। हाम्रो अनुसन्धानले सामान ढुवानीको समय दिनबाट घण्टामा झार्न सकिने देखाएको छ जसले भारतको दिगो विकासलाई सहयोग पुर्याउँछ,' प्रभाले सेतोपाटीसँग फोन कुराकानीमा भनिन्, 'हामीले गरेको सोही अनुसन्धान उत्कृष्ट भएको हो।'
प्रभाका अनुसार हाइपरलूपले यातायात क्षेत्रमा रफतार थप्नुका साथै सस्तो मूल्यमा सुविधा दिन्छ। उनी यसलाई 'हवाईको गतिमा रेलको मूल्य' भनेर व्याख्या गर्छिन्।

आविष्कार हाइपरलूप समूहले कार्यक्रममा वास्तविक हाइपरलूप यात्राको अनुभव गराउने उद्देश्यले नमूना पनि देखाएको थियो। त्यसमा सुरक्षालाई पनि खास मध्यनजर गरिएको छ। उच्च भोल्टेजका ब्याट्री चिस्याउने प्रणाली जस्ता सुविधा समावेश भएको उनले बताइन्।
नेपालमा यसलाई एक ठाउँबाट अर्को ठाउँमा द्रुत गतिमा पार्सल र सामग्रीहरू पठाउने काममा प्रयोग गर्न सकिने प्रभा बताउँछिन्।
'हाइपरलूप अहिले अध्ययनकै क्रममा छ। यो सार्वजनिक उपयोगमा आउँदा यसले धेरैलाई लाभ दिन्छ,' उनले भनिन्।
प्रभा आविष्कार हाइपरलूपमा 'पड ८.०' को समूह हुन्। नेदरल्यान्डबाट उनीहरू फर्किसकेका छन्। अब अर्को नयाँ समूह 'पड ९.०' बन्नेछ। उनीहरूले फेरि नयाँ अनुसन्धान गर्छन् र पुनः अर्को पटक प्रतियोगितामा सहभागिता जनाउनेछन्।
प्रभा भने आफ्नो स्नातकोत्तर र थेसिस सकेर मंसिरतिर नेपाल फर्कने तयारीमा छिन्।
उनलाई नेपालको विद्युतीय ऊर्जा क्षेत्रमा केन्द्रित भएर काम गर्न मन छ। जलवायु परिवर्तनलाई सहयोग पुर्याउने नवीकरणीय ऊर्जा र सोलार प्रणालीमा उनको खास चासो छ।
प्रभालाई ऊर्जा क्षेत्रमा चासो जगाउन उनका बुबा राजु राईले ठूलो भूमिका खेलेका छन्।
उनका बुबा काठमाडौंमा रहेको 'ग्रिनटेक' नामक सोलार पावर कम्पनीका संस्थापक हुन्। प्रभाले बुबाको काम सानैदेखि देखेकी थिइन्। त्यसले उनलाई पनि प्रभाव पार्यो।
'अरू केटाकेटीहरू खेलौनासँग हुर्किँदा म सोलार, प्यानल, चार्ज कन्ट्रोलरसँग हुर्किएँ। खेलौना जसरी तीसँग खेलेँ, तिनका बारे बुझेँ,' प्रभाले भनिन्।
बुबा राजु पनि प्रभालाई आफूले सही मार्गदर्शन दिन पाएकोमा खुसी छन्।
'मैले सानैदेखि छोरीलाई ऊर्जा क्षेत्रको इन्जिनियर हुन प्रेरित गरेको थिएँ। अहिले मानिसहरूले मलाई तपाईंको छोरी कसरी त्यहाँसम्म पुगिन् भनेर सोध्न थालेका छन्। यो म सँगसँगै नेपालकै लागि खुसीको कुरा हो,' राजुले भने।
