२०२२ को झरी सुरु भएको होला, हामी विकासेहरू सुदूरतर्फ लागेका थियौँ। मैले भर्खरै विकासे तरिकाहरू, चालचलन साथै विकासे क्षेत्रका भाषाहरू र काम गर्ने शैली सिक्दै थिएँ।
२०२० को कोभिडको माझमा म र मेरा धेरै साथीहरूले काठमाडौँको विद्यालयबाट बिबिएम–एलएलबी सकेर दीक्षित भयौँ। कोभिडको मार थियो। बल्ल बल्ल जागिर हात परेको अवस्था पनि थियो। साँच्चै भन्नुपर्दा, मलाई पढाइ सकेपछि के गर्ने भन्ने कुरा थाहा थिएन। मलाई अदालतदेखि डर लाग्थ्यो। अझै पनि लाग्छ। कता-कताबाट विकासे भएँ। एनजिओ वा विकास क्षेत्र भनेर चिनिने यो कामले मेरो मनलाई चाहिँ निकै आनन्द दिएको हो।
कामको क्रममा मैले सबैभन्दा नजिकबाट सुदूर देख्न पाएँ। सुदूरमा हुने कामकै क्रममा म पुगेँ बाजुरा- मेरो अहिलेसम्मको सबैभन्दा डरलाग्दो तर अति सुन्दर र सिकाइपूर्ण अनुभव।
सायद आज म जसरी सोच्दछु, जसरी महिलावादलाई बुझ्छु र आफ्नो निजी जीवनका समस्यालाई हेरिरहेको छु; त्यो सबै बाजुराको देन हो। त्यो तीन दिनको बसाइँले मलाई महिलावादी नेतृत्वमा भएका काम, हामीजस्ता सहरिया विकासे महिलावादीहरूको बुझाइ र अन्य धेरै ज्ञानमा रहेका कमीहरू महसुस गरायो।
कथा सुरु हुन्छ अछामको साँफेबगरबाट। अछामको तीन दिनको बसाइँभरि पानी पर्यो। हरेक दिनको वर्षाले बूढी गङ्गाको बहावमा छालहरू बढ्दै गएको मैले महसुस गरेँ। अछामको बसाइँभरि हामीले बाजुराको मात्र कुरा गर्यौँ। चौथो दिन बिहानै निस्किनुपर्ने बाजुरातर्फको बाटो पहिरोले बगाएको खबर आयो।
फेरि पनि सहरिया सोच, बाटो नि बग्छ? (खासमा २०२२ मा सहर, विशेष गरी काठमाडौँका बाटोहरू नबगेको कारणले हामीले नपत्याएको होला यो कुरा। २०२५ को कुरा गर्दा त सहरिया बाटो त झन् सजिलै बग्छ।) बग्छ भनेको गाडी गुड्न नसक्ने तर हिँड्न त पक्कै मिल्ने होला भन्ने लाग्यो।
बाजुरा जानको लागि तीन चरणको बाटो पार गर्नु पर्ने थियो। पहिलो, अछामबाट पहिरो गएको ठाउँसम्म गाडीमा। दोस्रो, पहिरो परेको बाटो पैदल र तेस्रो, पहिरो पार गरेर बाँकी बाटो बाजुरासम्म गाडीमा।
चौथो दिन बिहान नास्ता गरेर हामीले अछामलाई बिदा दियौँ। बिस्तारै माथि चढ्दै गरेको गाडी र तल बग्दै गरेको बूढी गङ्गाले मनलाई आनन्दित बनाइरहेको थियो। अछामको बाटोसँगै बग्ने बूढी गङ्गाको दन्त्यकथा निकै रमाइलो रहेछ। यसको उल्लेख धेरै ग्रन्थमा गरिएको छ र महाभारतमा पनि यसको चर्चा छ। त्यहाँका कथाअनुसार बूढी गङ्गा वास्तवमा गङ्गा नदीको पुरानो बहाव हो भन्ने विश्वास गरिन्छ। सम्भवतः यही कारण यसको नाम बूढी गङ्गा परेको होला।
अछाम छोड्दै जाँदा गङ्गा अझ सफा हुँदै गइन्। सेतो छाल, वरिपरि हरियो रुख र कतिपय रुख त गङ्गाले बगाइसकेकी पनि। करिब दुई घण्टाको बाटोपछि गाडी रोकिन्छ। हामी झर्यौँ। पानी परेको थिएन तर अगाडि बाटो चिप्लो थियो। एक जना बुढा बाजेले हाम्रो सामान बोक्नुभयो र पहिरोतर्फ लाग्नुभयो।
वरिपरि हेर्दा मान्छेहरूको भिड, कोही माथि चढ्दै थिए, कोही तल झर्दै। एक जना आमालाई चार जनाले स्ट्रेचरमा अछामतर्फ लग्दै थिए। अनि मैले बाटोतर्फ ध्यान दिएँ, बाटो नै थिएन। मानौँ पहिरोले त्यो बाटो मानिसको स्मृतिबाटै मेटिदिएको जस्तो। बाटोको नाममा भिजेको माटो, चिपचिपे हिलो र पार गर्नुपर्ने त्यो तिखो उकालो।
मुनि बूढी गङ्गा आफ्नै जंगली गर्जनका साथ अछामतर्फ बगिरहेकी थिइन्। मैले सोचेँ एउटा गलत पाइला परे म पनि गङ्गाको उग्र छालसँगै अछामको साँफेबगर फर्कन्छु, तर पक्कै अन्तिम अवस्थामा।
मलाई निकै डर लाग्यो, यति डर कि आँखाले आँसु थाम्न सकेन। साथमा मेरी हाकिम अधिवक्ता इन्दु तुलाधर थिइन्। एकातिर गुरु, कहिलेकाहीँ आमा जस्ती। मैले डर लागेको बताएँ। उनले केही क्षण मेरो अनुहार हेरिन् र भनिन्, ‘नताशा, आँखा चिम्लेर मेरो हात समात, तल नहेर है। मसँग हिँड, तिमीलाई केही हुँदैन।’
डर त अति नै थियो तर उनीमाथि विश्वास पनि थियो। मैले उनको हात समातेँ। म्याम अगाडि, म पछाडि। आँखा बन्द गर्ने आँट थिएन तर मेरो सारा ध्यान म्यामको चप्पलमा मात्र रह्यो किन हो थाहा छैन।
उनले मलाई तानिरहिन् र म चप्पलमै ध्यान केन्द्रित गर्दै अघि बढेँ। वरिपरि गङ्गाको आवाज, मानिसहरूको हल्लीखल्ली र माथिबाट हामीलाई हेरेको बाजुरा।
पहिरोको बाटो ४५ मिनेटको रहेछ। बाटोभरि देखेको त्यो कालो रंगको हल्का हिल भएको चप्पल आज पनि सम्झनामा छ। कसरी हिँडिन् होला, अझै त्यसमाथि मेरो भार बोकेर। पछि सोच्दा लाग्यो, म्यामको मानसिकता नै बलियो रहेछ। ‘गरिहाल्छु, गर्नै पर्छ’ भन्ने सोच भएका मानिसहरूले डरलाई पनि जित्छन्।
बाजुरा सुन्दर रहेछ; हल्का चिसो, शीतल, उकालो–ओरालो र अप्ठ्यारो बाटो भएको। दुःख पनि त्यत्तिकै थियो। तर सुन्दरताको अगाडि हामी सहरियाले कहाँ दुःख देख्थ्यौँ र।
बाजुराको बसाइँ पनि तीन दिने भयो। तीन दिनमा तीसभन्दा बढी महिला र त्योभन्दा पनि धेरै महिलाहरूका कथा सुनेँ। ती कथालाई म लेख्न थालेँ भने किताबै हुन्छ।
कार्यक्रमको दोस्रो दिन महिलाहरू खुले। एकजनाले लोकगीत सुरु गरिन् र केही महिलाले साथ दिए। म भाषा नबुझ्ने भएकाले अर्की महिलाले मलाई बुझाइरहेकी थिइन्। गीतको लयमा ती महिलाहरूले आफ्ना पीडा पोखेका रहेछन्।
गीतमा पानीको पीडाबारे थियो। गीतका बोलअनुसार, वर्षौँपछि सरकारले गाउँमा पानीको पाइप जडान गर्यो तर केही दिनमै सडक पार गरिएको त्यो पाइपमाथि ट्रक गुडेर पानी बन्द भयो।
उनीहरू भन्छन्- बाजुराको भूगोल बडो निर्दयी छ; घुमाउरा, उकालो–ओरालो, भिरका साँघुरा बाटा र त्यस्ता बाटाबाट बोकेर ल्याउनुपर्ने पानी। महिलाहरूले पोख्छन्, भारी बोक्दा बोक्दा गर्भाशय झर्ने सम्म हुन्छ। तर त्यो पीडा पनि मौनतामै सीमित हुन्छ।
गर्भाशय झर्नु भनेको महिलाको चरित्रमाथि प्रश्न उठ्ने कुरा रहेछ, जसका कारण उनीहरूले मौनता रोज्छन्। धेरै समय र दुःख गरेर ल्याएको पानी पनि आफ्ना लागि कमै प्रयोग गर्न सक्छन्। प्राथमिकता घरका पुरुष, छोरा, र वृद्धावृद्धालाई दिइन्छ। महिला त केवल माध्यम हुन,पानी घरसम्म पुर्याउने।
मेरो सहरिया सोचले कहाँ बुझ्थ्यो र पानी भनेको महिलाको समस्या पनि हो भनेर, यदि बाजुरा पुगेकी थिइनँ भने। मेरो मनमा त पानीको समस्या विकासको समस्या हो भन्ने मात्र थियो। पानी र लैङ्गिकताको यस्तो प्रतिच्छेदन थाहा थिएन। त्यो शीतल बतासे डाँडामा बसेर पाएको बाजुराको अनुभव मेरो लागि सिकाइको खानी भयो। अझै धेरै कथाहरू र अनुभवहरू मैले मेरो मनमा समेटेर राखेकी छु, बाजुराका ती महिलाहरूका। सायद, लेख्न खोजे भन्ने किताब लेखिन्छ होला।
बाजुरामा तीन रात काटेँ मैले, अब फेरि त्यो बाटो कसरी काट्ने होला भनेर बिताएँ। महिलावाद, महिला र अनुभवका कुरा आत्मचिन्तन काठमाडौँ फर्केर मात्र गर्न सकेँ। साँच्चै भन्नुहुन्छ भने, म फेरि बाजुरा पुग्न चाहन्छु बगिरहेकी गङ्गा, अलिअलि अझ बूढी भइसकेकी होला। बाजुराको त्यो बस्तीमा पानीको पाइप मर्मत भयो कि भएन होला? कति महिलाले आफ्नो पवित्रताको प्रमाण दिन बाध्य भए होलान्? यी सबै हेर्न म फेरि बाजुरा जान चाहन्छु।
(लेखक एक विकासकर्मी र अधिवक्ता हुन्।)