बानेश्वरको एउटा चिया पसलमा बसिरहेको हर्क बहादुरले आफ्नो पुरानो मोबाइल स्क्रोल गरिरहेका छन्।
उनको आँखामा उदासी छ, मुस्कानभित्र लुकेको निराशा छ। युट्युबमा बजिरहेको भिडिओले उनलाई सपना देखाउँछ- 'सात दिनमा करोडपति बन्ने तरिका।'
उक्त कुरा ऊ साथीलाई सुनाउँछ। साथीले जवाफ फर्काउँछ- 'म त सात दिनदेखि १० रुपैयाँकै गोटी हल्लाउन सकिरहेको छैन।'
यो त एक चिया पसलमा देखिएको दृश्य हो जुन देखिनु विडम्बना हो।
हर्क जस्तै हजारौं युवाहरू भोलिको आशामा आजै बेचिन बाध्य भएका छन्। घरको जमिन धितो राखिरहेका छन्।
सहकारीबाट लिएको ऋणको ब्याज दिनानुदिनै बढ्दै गएपछि उनीहरूको मनमा एउटा मात्रै चाहना हुन्छ- दुबई, कतार, साउदी, मलेसिया जुनसुकै देश गएर भए पनि दुःख गरेर पैसा कमाउने।
तर ती देश जाने बाटो भने अनिश्चित छ। न यसका लागि म्यानपावर कम्पनी जिम्मेवार छन्, न त सरकार।
सरकारले हर्क जस्ता युवालाई 'रेमिट्यान्स पठाउने' संख्यामा मात्रै गणना गर्छ। तर हर्कका लागि त्यो रेमिट्यान्स पठाउनु भनेको ऋण तिर्ने उपाय हो। आमाको उपचार, बहिनीको किताब, र आफूभित्र बाँकी रहेको आत्मसम्मान जोगाउने अन्तिम प्रयास हो।
ती आँकडाभित्र लुकेका धोका, पर्खाइ, र आँसुहरूको गणना खै कसले गरेको छ?
हर्कका बुवा प्रजातन्त्र ल्याउनका लागि आन्दोलनमा लागे। पञ्चायत ढाल्ने जुलुसमा हिँडे। गणतन्त्र ल्याउने आन्दोलनमा भिजे। संविधान लेखाउने सपना देखे। उनी यी सबमा सरिक भए किनकी उनले सपना देखेका थिए- अबको नेपाल छोरा-छोरीका लागि हुनेछ। जहाँ उनीहरूले देशमै भविष्य देख्नेछन्।
तर आज हर्कले आफ्नै बुवालाई सोध्दैछ- 'तपाईंहरूले लडेर ल्याएको यो परिवर्तनले मलाई किन थिचिरहेछ बुवा? राजा गएर सांसद आए। तर सबैले नीति फेरेर आफ्नो कुर्सी मात्र किन जोगाए। बगैंचामा फूल फेरिँदा पनि माटो उस्तै भएको उनको गुनासो छ। त्यसले गर्ला फूलको बास्ना होइन केवल मौसमी रङ आएको अनुभूति भइरहेछ।'
'भाषण बदलियो, शैली फेरियो, तर सेवा गर्ने भावना मरेको मर्यै किन रह्यो बुवा? सहरमा बसेर बनाइएका नीति गाउँमै पुग्न सकेनन्', उनी बुवालाई प्रश्न गर्छन्।
माओवादीले लिएको परिवर्तनको बागडोर पनि आज म्यानपावर व्यवसायीसँग मिलेर कुर्सीको भागबन्डामा सीमित भइसकेको छ।
हर्क जस्तो साधारण युवाका लागि अब देश राजनीति होइन, व्यापार देखिन्छ। जहाँ विचारहरू होइन, चन्दा दिने उद्योगीको इच्छा प्राथमिकतामा हुन्छ। नेता बन्नका लागि करोडौं चाहिन्छ, र ती करोडौं दिनेहरू नीति बनाउँछन्। त्यसैले त हर्क भन्छ, 'सबै नेता खराब होलान् भन्न सक्दिनँ, तर सबैमा थोरै थोरै लोभ छ। यही थोरै थोरै मिलेर देश बिग्रेको छ।'
कहिलेकाहीँ हर्कलाई लाग्छ, 'के म नै कमजोरी थिएँ? म नै किन बाँकी रहेछु यति ढिलोसम्म?'
साथीहरू धेरै पहिल्यै गइसके। कोही मलेसियामा त कोही युएई।
विदेशमा बसेका कसैले साँचो बोल्न सकेनन्। तर सबैको तस्बिरमा देखिन्थ्यो- देशबाहिर गएपछि झनै थाकेको।
आज पनि हर्क कागज बोकेर सरकारी अफिस भागिरहेछ। कहिले मेडिकल चेकअपको लाइनमा बस्छ त कहिले म्यानपावरको गेट अगाडि। दिन बित्छ, प्रक्रिया सकिँदैन तर उसको आशा सकिँदै जान्छ।
उसले घरमा आमालाई केही भन्न सक्दैन। आमाको ममता देखेर उसले केही भन्न सक्दैन।
आफ्नो अन्तरमनसँग झगडा गर्दै हर्कले एक साँझ साथीलाई भन्छ- 'देश छोड्न मन छैन, तर यहाँ दिन प्रतिदिन बाँच्न गाह्रो हुँदै गएको छ। सपना थियो यहीँ बसेर केही गर्ने तर जता हेर्दा पनि उस्तै बोली, झुट र धोका मात्र देखिन्छ।
त्यही साँझ, चिया पसलबाट फर्किँदै गर्दा हर्कले आकाशतिर हेर्छ। तारालाई हेर्दै भन्छ- 'बुवा-आमाले कुर्सीको सपना देखेर देश बदल्न लड्नुभयो, हामी त्यो कुर्सीको चिसो अनुभव गरेर देश छोड्दैछौं। उहाँहरूले गणतन्त्र ल्याउन जीवन जोखिममा राख्नुभयो, हामी त्यही गणतन्त्रबाट भाग्दैछौं।'
अर्को बिहान, ऊ एयरपोर्ट जाने तयारी गर्दैछ।
छातीभित्र भारी लुकाएर अनुहारमा चुपचाप दृढता बोकेको छ। छेउमा उभिएको साथीले सोध्छ- 'त गइस् भने यहाँ को बाँकी रहन्छ त?'
हर्कले मन्द मुस्कानसहित भन्छ- 'हामी जान्छौं, कुर्सी चाहिनेले कुर्सी बनाऊन्। हामीलाई अब बाँच्न पाए पुग्छ।'
त्यही वाक्यले हर्कका सबै भाव प्रष्ट पारिदिन्छ- आशा हराएको देश, विश्वास गुमाएको पुस्ता, र गुम्न थालेको भविष्य।
अब प्रश्न उठ्दैन- किनकी उसले उत्तर दिइसकेको छ।
'हामी जान्छौं, कुर्सी चाहिनेले कुर्सी बनाऊन्।'
देश छाडेर जाने एक देशप्रेमी युवाको पीडासहितको सन्देश- 'हामी जान्छौं, कुर्सी चाहिनेले कुर्सी बनाऊन्।'
यो फगत एक वाक्य होइन, आजको पुस्ताको चिसो निष्कर्ष हो।
हर्कले देश छाड्ने निर्णय सहजै गरेका थिएनन्।
उसले देश छोड्न दिनदिनै आफूभित्र युद्ध लड्यो- आशा र यथार्थको।
उसले आमाको आँखाभित्र देश नछोड्ने आग्रह देख्यो। बुवाको सपना सम्झियो- तर अन्ततः भोक, निराशा र अविश्वासको भारीले उसलाई ढाल्यो र देश छोडेर जान बाध्य बनायो।
विदेश गए पनि हर्कले देश त्यागेको छैन। उसले अन्तिम सन्देश दिएर गएको छ- 'म त जान्छु, तर मेरो भाइ- बहिनीलाई यहीँ बस्न सक्ने नेपाल बनाउनुहोस्।'
यति मात्रै सुनिन्छ उसको स्वरमा- पीडाभन्दा गहिरो माया। देशप्रतिको त्यो प्रेम जुन टाढा जाँदा झनै नजिकिन्छ।
हर्कका पाइला विमानस्थलतिर लागेपनि उसको मनमा एउटा प्रतिज्ञा छ- 'जब यो देश फेरिएको हुनेछ तब एकदिन फर्किन्छु। राजनीति कुर्सीका लागि होइन सेवा बन्नेछ। जब युवाले देश छोड्न होइन, देश निर्माण गर्न बाटो खोज्नेछ। कहिलेकाहीँ देशप्रेमको सबैभन्दा गहिरो अभिव्यक्ति हुन्छऔ अशक्त भएर पनि नफर्किने प्रण।
हर्क गएता पनि उसले देशलाई सधैंका लागि नछोडेको भाव प्रकट गर्छ।
उसले भन्छ- 'म टाढा जाँदैछु, तर तपाईंहरू नजिक बस्नुहोस्। मेरो सट्टा तपाईंहरूले बदल्नुस् यो देश। देश फेर्न त सक्दैनौं तर सोच फेरियो भने एकदिन पक्कै देश बन्नेछ, फेरिनेछ।'
हर्कले देशलाई एउटा वाक्य छोडेको छ- 'हामी जान्छौं, कुर्सी चाहिनेले कुर्सी बनाऊन्। तर देश चाहिनेले देश बचाइदिऊन्।'
अन्तिममा सन्देश दिन्छ- 'देश जानेलाई दोष नदेऊ, देश बचाउनेलाई साथ देऊ।'
'हामी जान्छौं, कुर्सी चाहिनेले कुर्सी बनाऊन्।'
यो वाक्य केवल हर्क बहादुरको कथन होइन, यो आजको पुस्ताको ध्वनि हो। यसमा थकान छ, निराशा छ, र थकित प्रेम पनि छ। जसले देशलाई त्याग्न सक्दैन तर अहिलेको अवस्था सहन पनि सक्दैन।
यो एक निष्कर्ष हो, जुन परिवर्तनको प्रतिक्षाबाट थाकेका युवाको हृदयबाट निस्किएको छ। तर यसभित्र एउटा अपूरो वाक्य पनि लुकेको छ- 'देश चाहिनेले देश बचाइदिऊन्।'
देश हर्कहरूबाट खाली हुँदैछ, तर हामी बाँकी छौं। हामीसँग अझै कलम छ, क्यामेरा छ, कम्प्युटर छ, कृषिको फावो छ, र सोच्ने विवेक छ। यदि हर्कको सपना पूरा हुन सक्दैन भने, उसले छोडेको सपना हामीले समात्नुपर्छ। देश बदल्ने कुरा अब भाषणको होइन, नित्य कर्मको विषय हो। चुनाव जितेर होइन, इमानदारीका साथ जिउने जीवनबाट यो देश बदलिन्छ।
हर्कहरू गएका छन्- तर तिनका आशा गएका छैनन्। हामीले त्यो आशालाई मर्न दिनु हुँदैन। देश छाड्नेलाई गाली गरेर होइन, देशमा बाँकी रहन सक्ने आधार तयार गरे मात्र केही परिवर्तन सम्भव छ।
परिवर्तन तब मात्र सम्भव हुन्छ, जब ‘कुर्सी बनाउने’ भन्दा पहिले हामी ‘देश बनाउने’ सपना देख्न थाल्छौं।
अझ पनि ढिलो भएको छैन। सोच फेर्नुस्, दृष्टिकोण फेर्नुस्। हर्कहरू फर्केर आउने दिनको आधार आज तयार पार्नुस्। किनभने, देशको पुनः र्निर्माण भाषणले होइन- विश्वास, श्रम र सोचको जागरणले हुन्छ।
हर्क जान्छ, तर हामी बाँकी छौं। अबको नेपाल हाम्रो हो- हामी बनाउँछौं। देश छोड्नेहरूलाई फर्कन पाइने आधार बनाउने जिम्मा अब हाम्रो हो। नेताहरूसँग एक प्रश्न: अब ‘हर्क’ हराउने कि फर्काउने?
नेताज्यू, अब हामी प्रश्न होइन, उत्तर खोज्दैछौं। आशा गुमाउँदै गरेका हर्कहरूलाई फेरि यो देशमा बस्न सक्ने कारण दिन सकिन्छ कि सकिँदैन?
तपाईंले दशकौं लामो राजनीति गरेर हामीलाई संविधान दिनुभयो, गणतन्त्र दिनुभयो, चुनाव दिनुभयो। तर के तपाईं हामीलाई अब अवसर दिन सक्नुहुन्छ? त्यस्तो अवसर, जहाँ हर्कहरू देशमै बाँच्न सकून्, सपना देख्न सकून्, आफ्नै देशमा सम्मानसाथ र रोजगारसहित जीवन बाँच्न सकून्।
हामी सोध्न चाहन्छौंऔ के तपाईं तयार हुनुहुन्छ, अब कुर्सीको मोह त्यागेर योग्यलाई मौका दिन?
‘आफ्नो मान्छे’ होइन, राम्रो मान्छे छान्ने साहस गर्न सक्नुहुन्छ? किनभने अब देशलाई तपाईंको ‘पार्टी’ होइन, देशको ‘प्रगति’ चाहिएको छ। हामीलाई चाहिएको छ- योजना होइन निश्कर्ष, वाचा होइन विश्वास, भाषण होइन समाधान।
हर्कजस्ता युवाहरू विदेश जानुको कारण तपाईंहरूलाई ‘दोष’ दिनु मात्र होइन, अब ‘जिम्मेवारी’ दिन पनि हो। तपाईं कसरी नेतृत्व गर्नुहुन्छ भन्ने कुराले अब हर्कको भाग्य तय हुन्छ- ऊ विदेश जान बाध्य हुन्छ कि बस्न।
त्यसैले, यो प्रश्न हाम्रो निम्ति होइन, तपाईंको नेतृत्वको परिक्षा पनि हो। हामी तयार छौं- हर्कहरू फर्काउने देश बनाउन। तपाईं तयार हुनुहुन्छ?
हामीले हार मानेका छैनौं, अझै देशमा केही हुन्छ भनेर भरोसा राखेका छौं। हामी कलम लिएर, फावो लिएर, मेसिन लिएर, कम्प्युटर लिएर देश बनाउने सपना देख्दैछौं। तपाईं पनि कुर्सी त्यागेर, एकपटक सेवा गर्नुस्- हामीसँगै पाइला चाल्नुहोस्। त्यसपछि, हर्क फर्किनेछ। विदेश जान लागेका हजारौं पाइलाहरू उल्टो फर्किने छ। अनि त्यो दिन, तपाईंले ‘कुर्सी’ होइन, ‘कृति’ बनाउनु भएको प्रमाण हुनेछ।
हामी तमाम अरू हर्कहरूलाई रोक्न चाहन्छौं। तपाईं हामीलाई साथ दिन तयार हुनुहुन्छ?
अब निर्णय तपाईंको हातमा छ- देश बनाउने कि कुर्सी जोगाउने?
हामी जान्न चाहन्छौं- नेता बन्नुहुन्छ कि राष्ट्रसेवक?
कृपया जवाफ दिनुहोस्- देशले कुर्सी मागिरहेको छैन। देशले तपाईंबाट संकल्प मागिरहेको छ।
अब हर्क जाने होइन, फर्कने समय हो। देशप्रेम अब गीतको शब्दमा होइन, घर रित्तिदै गएको हर्कको बुढी आमाको सपना हो। यो युवाको पसिना, श्रम र बाँच्न सक्ने ठाउँको खोजि हो।
'हामी जान्छौं, कुर्सी चाहिनेले कुर्सी बनाऊन्' भन्ने हर्कको वाक्यमा केवल थकान होइन, चेतावनी छ।
अब राजनीतिमा युवा सहभागी होऊन्, नीति जनताको घाउबाट बनेको होस्, र कुर्सी सेवा गर्ने माध्यम बनोस्।
हर्कले आँशु बगाउँदै दिएको सन्देश हो- देश छोड्न नपरोस्, देश बदल्न सकियोस्।
अब हामी सबैका लागि एउटै जिम्मेवारी छ- हर्कलाई फर्काउने देश बनाऔं।
देश अवश्य फेरिनेछ, जब ‘हामी’ फेरिनेछौं।
देश बाँच्नेछ, जब हरेक नागरिकले ‘म राष्ट्रसेवक हुँ’ भन्नेछ।
अब प्रश्न होइन काम चाहिएको छ।
अब भाषण होइन, परिणाम चाहिएको छ।