सपनाहरू सबै देखेका जति पूरा हुँदा रहेनछन्। कस्ता सपना चाहिँ पूरा हुन्छन् भनेर पहिल्यै थाहा पनि हुँदो रैनछ। बत्तीमा पुतली झुम्मिए जस्तै झुम्मिँदो रैछ जिन्दगी।
मलाई किन किन लाग्छ मैले हिमाल चढ्न नखोजेको होइन तर उचाइमा पुग्न सकिनँ।
हिमालको धेरै संगत गरें। हिमालको नजिक रहेर तिनको गौरव र तिनको उच्चतासँग भित्रभित्रै गासिएँ तर थाहा थिएन कुनै दिन एउटा लाचार आरोही भएर बिना सफलता घर फर्किनु पर्नेछ भनेर।
के सोच्यो होला हिमालले? के सोचे होलान् सँगैका आरोहीहरूले? मन बुझाउँदैछु- सधैं आफूमा आँट र हिम्मत मात्र भएर पनि हुँदो रहेनछ। हिमाल चढ्न मौसमले पनि साथ दिनुपर्दो रहेछ।
हो! यस्तै भयो लोक सेवाको लागि म बेमौसमी भएर निस्किएँ, अभागी भएर निस्किएँ।
अन्तिम रात थियो मेरो काठमाडौंमा।
घरबेटीलाई भाडा बुझाइसकेको थिएँ। घरबेटीले पनि मुख निन्याउरो पार्दै थिए र भने- यहाँ बसेका सबैले नाम निकालेथे हजुर मात्र अलि अभागी पर्नुभएछ। म फेरि ती अरू प्रतिस्पर्धीहरूसँग आफ्नो तुलना गर्न थालें। के कमी रह्यो ममा? भनेर खोतलिन थालें। ५/६ वर्ष बसेको त्यो घर र घरको छत यादमा बर्सिन थाल्यो। जहाँ पढ्नकै लागि म ओहोरदोहोर गरिरहन्थेँ।
उमेरहद! मुखमा पुगिसकेको गाँस निल्नका लागि मेरा निम्ति बाधक बन्यो। गुनासो त कोहीसँग छैन। आखिर उमेर पुग्दासम्म ननिकाली बस्नु पनि त मेरो कमजोरी भयो नि हैन र?
घरबेटीले अन्तिम रात भएकाले आफूसँग नै खाना खान प्रस्ताव गरे। तर मैले बाहिर नै खाएर आएको भन्दै नम्र इन्कार गरिदिएँ। किनकि जतिसक्दो त्यो घर र काठमाडौंको चार किल्ला छोडेर अर्कै संसार सुरू गर्न पाए हुन्थ्यो जस्तो भाको थियो मलाई।
सामानका पोका पुन्तुराहरू पार्दै गर्दा हरेक सामानहरूले विगतहरू सम्झाउँथे। भगवानका तस्बिरहरू लहरै राखेको थिएँ आफू पढ्ने टेबुल अघि तर भगवानले पनि मलाई दया गर्न जानेनन्।
कोठाभित्रै हुर्काएको त्यो मनिप्लान्ट जसले भित्ता भित्ता समात्न जानिसकेको थियो तर मैले विडम्बना आफ्नो लय समात्न सकिनँ। टुथ पेस्ट सक्किएर काटेर चाटचुट पारेर गुजारा चलिरहेको थियो। बोरामा चामलका गेडा सिनित्तै थिए, तेल मसला भुटुनहरू सबै निख्रिएर बसेका थिए। सधैं घरबाटै माग्दै खाँदै गुजारा चलेको थियो। कुनै जागिर खाइहालौं भने कतै पढाइ पो नपुग्ने हो कि भने जस्तो मान्थें। भित्तामा बाआमा, भाइ र म सहितको फोटो नम्र भएर बसिरहेको थियो। त्यसलाई समेत उप्काएर जेब्रा झोलाभित्र हालें। रित्तो सिलिन्डर के लैजाने घर? जस्तो माने अनि पसलमा बेचिदिएँ, घर पुग्ने भाडा उठ्यो। टुक्रा टुक्रा साबुनहरू थिए जो मेरा बाहिरी मैलो मात्र होइन भित्री अट्टाहसयुक्त मैलो समेत पखाल्न मद्दत गरिराख्थे त्यसलाई पनि डस्टबिनमा हालेर हिँडें। खान बाँकी रहेका गुन्द्रुक, प्याजका डल्ला अनि केही भटमासलाई के गरौं? के गरौं? भो, अनि साथीहरूलाई बाँडिदिन्छु सोचें। सबैभन्दा गाह्रो काम त अब किताब मिलाउन थियो। कोठाको लगभग सबै भागमा किताब छरपस्ट थिए। किताब कापी यतै कतै बिसर्जन गरिदिऊँ भनेर पनि नसोचेको होइन। तर फेरि बाले भाइले पढ्छ लिएर आइज भनेपछि लैजान कर लाग्यो। किताबहरू त्यसै त भारी हुन्छन्, त्यसमाथि तिनै किताबमाथि कति धेरै मेरा भरोसाहरू पनि त टिकेका थिए।
मसँगै दुखी थिए ती किताब कापीहरू। मन गह्रुंगा थिए तिनीहरूको पनि। म त्यसै गह्रुंगो थिएँ, उसै त गह्रुंगो किताब बोकेर फेरि म घर फिर्ता हुने पाइला चाल्न सकूलाँ त? म सोचिरहेको थिएँ।
जेब्रा झोलामा किताब कापी हालेर विचार गर्न मात्र के उचालेको थिएँ, फित्ता चुँडियो। फित्तासँगै चुडियो मन पनि। मन जस्तै फाटेथे भिर्ने झोलाहरू पनि, कता कता पो सिलाउने? कता कता पो टाल्ने?
एक मनले त भन्यो- यतै बसिजाऊँ कुनै इलम गरेर, अब मुख देखाउन सक्ने रहन्न होला। फेरि अर्को मनले भन्यो- यता खर्च बढ्छ बरू घर नै गइगए अरू केही इलम पाइन सक्छ।
अनि बल्ल त घर जान ठिक्क भयो यो तन।
कीर्तिपुरको लाइब्रेरीको त्यो कुना समेत याद आयो जसले मलाई त्यो रात निदाउन दिएन। एउटा पहाडको कुनामा बसेर हेर्नु जत्तिकै कलात्मक थियो त्यो कुनाको कुर्चीको बसाइँ। सबै पढेको पढ्यै देख्दा मन मुटु विचित्र त्रासले ढक्क फुल्थ्यो अनि आफू पनि एकोहोरो भइन्थ्यो। रित्तो पेट बिछ्याएर सच्चा चित्रकारले जस्तै चित्र बुनेर आफ्नो सपनाको, फराकिलो आकाश भेट्ने चाहनाले कुहिरो भित्र छिर्नु र हराउनु, कम्ताको साहसी काम थिएन र?
हरेक पाठ सिद्दिएपछि मात्र निल्ने एक घुड्की पानी र मूर्ति जस्तै थपक्क बसेर कुर्चीमा बितेका अनिँदा रातहरू। सायद! लाइब्रेरी हुँदैन्थ्यो भने त यो लोक सेवाको स्मृति पनि बिना भुइँको छत जस्तै हुन्थ्यो। मगजमा कहाँ अडिन्थ्यो र? गर्ल्याम गुर्लुम्मै ढल्थ्यो।
जसोतसो निदाएछु, बिहान सबेरै उठेँ। चिया घरबेटी बासँगै खाएँ। अनि लागेँ कलंकीतर्फ। जहाँ ती हिँडिराख्ने बाटाहरूले थुप्रै स्मृति बटुलेर ल्याए।यादमा आए ती सुरूआती दिनहरू जतिबेला म हिँड्दा यी बाटाहरूले, झारहरुूले आफूप्रति शरम मान्दथे। म त्यति मगमगाएर आएको थिएँ घरबाट। जोस जाँगर र आत्मशक्तिमा सुन्दर भावहरूको रङ बोकेर महान उपदेश सिकाउन यो काठमाडौं सहरलाई।
तर म विस्तारै मैलिँदै गएँ, धूलो ममा छाइरह्यो। सम्भावना भित्र पनि अट्टाहसको खेल मैले खेलिरहेँ। म त आखिर छटपटाइरहेँ। काठमाडौंलाई मैले केही सिकाउनै सकिनँ बरू उल्टै काठमाडौंले धेरै कुरा सिकाएर पठायो। मेरो समय र प्रयासहरू धेरै खर्चिएँ र त कठोर हुन, झुटो बोल्न र धैर्य गर्न सिकायो। तर कतिन्जेलसम्म पर्खिने भन्ने कुरामा मौन बसेर काठमाडौंले मसँग खेल खेल्यो।
गाउँ जाने गाडी चढेँ कलंकीबाट। कति भरिलो रसिलो भएर आएको म फर्कँदा उराठ, निरस र सुकेको भएछु पत्तै पाइनँ। सायद कतै नाम निस्केको नियुक्ति पत्र हातमा बोकेर गाउँ फर्किन पाएको भए कति ओजिलो हुन्थ्यो होला? मेरो फिर्ती।
तर यो गाउँ फिर्तीको चित्र भगवानले कुनै सौन्दर्य नै नभरीकन कठोरताका साथ रचे जहाँ मैले जिउँदोपन नै पाइनँ। कुनै सुपरमार्केट जाने हैसियत नभएपछि गाडीकै झ्यालबाट, भाइलाई मनपर्छ भनेर एक प्याकेट पुस्टकारी किन्दिएँ। बालाई हातमा लाउने घडी र आमालाई पोते किनिदिएँ।आफूलाई घरसम्म पुर्याउने एक बोतल पानी। सायद बाले घर पुगेसी बिहेको कुरा निकाल्छन् होला। केटी पनि खोज्दिन्छन् होला। सायद कसैको साथ पाए फेरि खुला घाम र उज्यालो पर्यावरणमा फैलिने कोसिस त गर्ने नै छु। किनकि मैले दिएका अनगिन्ती लोक सेवाका परीक्षाहरूले मलाई कर्म गर्न र फलको आशा नगर्न सिकाइ पठाएका छन्।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)