आफ्ना रहर, इच्छा, आकांक्षाहरू
मनको एउटा कुनामा थाती राखेर
आफ्ना सपना कतै लुकाएर
मनको आलो घाउ आलै छोडेर
अरूकै पीडामा मल्हम लगाउन
दिनरात नभनी खटिरहने
आफ्नो परिचय कुनातिर पन्छाएर
सेवा समर्पण र त्यागको भावना लिएर
झरी हुरी बादल, जाडो गर्मीको
मतलब नगरी
दिनरात निस्वार्थ सेवा दिने
बदलिएको परिचयले सुसज्जित
एउटी नर्स हुँ म।
यो मन जति नै रोए पनि
भित्र भित्रै कोलाहल मच्चिए पनि
रहर र बाध्यता बिच अन्तरद्वन्द्व चलेर
बर-बर आँसु झरे पनि
आफ्ना आँसु लुकाएर
अरूको मुस्कान बचाउँछु!
आफ्नो थकान बिर्सेर
भोक-प्यास एकातिर राखेर
थकान महसुस नगरीकन
बिरामीको आशा जगाउँछु।
रातको निद्रा त्यागेर
कर्तव्यको दीप बालिरहन्छु।
मेरो खुसीको कारण
मेरा बिरामीको ओठको मुस्कान
उनीहरूको जीवन प्रतिको आशा।
जिन्दगीमा कहिले हतार नगर्ने म
आनन्दको ती पुराना दिनहरू
आम मानिसको जस्तै
अहिले बदलिएँ म
बदलियो मेरो बिचार
रमाउँछु आफ्नै काममा
अर्कै छ मेरो दिनचर्या
कहिले इमर्जेन्सीको हतार,
कहिले वार्डको शून्यता सहिरहन्छु।
आफ्नो आँखा अगाडि अनेक
देखेको छु मैले
चाहेर पनि बचाउन नसकेको प्राण
आफन्तको चित्कार, कोलाहल
आफ्नो मान्छे गुमाउँदाको पीडा
आँसु, रोदनको मिश्रण
आफ्नै हातमा उडेको प्राण।
कतै बिरामी ठिक भएर
मिठाई बाँड्दाको खुसी
आफन्तको धन्यवाद र माया।
दुई फरक कोणबाट
जिन्दगी बुझ्न जानेकी छु अचेल।
घर-परिवार समाज
व्यवहारका कुरा आफैँमा रोकेर
कसैको धड्कन रोकिन लाग्दा
म प्रार्थना बनेर उभिन्छु।
कसैको पीडा चर्किँदा
सान्त्वनाको स्पर्श बनी पुग्छु।
दुई वचन मिठो बोल्दै
मनमा पीडा लुकाएर
ओठमा फिक्का हाँसो देखाउँदै
अस्पतालका गल्लीमा
वार्डमा, हरेक बिरामीको बेडमा
म आफ्नो अनि पेसाको मर्यादा राख्न
अहोरात्र हरपल तैनाथ रहन्छु।
भुलेर आफ्ना सपनाहरू
आफ्नै चाहना र रङ्गिन रहरहरू
आफ्नो बेग्लै पहिचान हटाएर
सेवा र समर्पण पहिचान बनाएर
आफ्नो खुसीभन्दा अघि
अरूको जीवन रोज्ने
अरूको खुसी खोज्ने
सबै निदाएपछि
आफूलाई आराम मिल्ने।
त्यही गर्विलो परिचय बोकेर
म मुस्कुराइरहन्छु,
संसारले ‘नर्स’ भनेर चिन्ने
एउटी असली योद्धा हुँ म।