आज राति पनि पक्कै मलाई तड्पाउन उनको याद आउँछ। थाहा छैन कति रातहरू बिताउन पर्ने हो मैले अनिदोमा। उनलाई माया गरेको सजाय हो कि, पाउन नसक्नुको पीडा। आजकाल उनको याद झनै हुरहुरी आउँछ।
काम गर्दा त शरीर थाक्छ तर याद गर्दा थकाइ पनि नलाग्दो रहेछ। तर अनिदोले आँखालाई भने केही असहज पक्कै हुन्छ।
बानेश्वरमा अफिस तिनकुनेमा कोठा, कोठामा एक्लो असफल प्रेमी, अफिसबाट आएर फ्रेस भएपछि खासै खान मन नभए पनि थोरै खाना बसालेँ। तरकारी पकाउने जाँगर आएन, दाल र अस्ति किनेको चिकेन अचारसँग खाना खाएँ।
केही बेर इमो र म्यासेन्जरमा साथीहरू र आफन्तसँग गफ गरेँ। उनले दिएको घडीले बेलुकाको ९ बजेको संकेत गर्दै थियो। दुई हप्तादेखि हर्दै आएको विश्व चर्चित कोरियन सिरिज स्क्विड गेमको लास्ट एपिसोड हेर्न बाँकी थियो। त्यो हेरेर सुत्न तरखर गर्दा साढे १० भइसकेको थियो।
अब त सुत्नु पर्छ भनेर आँखा चिम्लिन साथ उनी आज पनि आइपुगिन्, सदा झैँ।
अरू भए त इग्नोर गर्न सक्थेँ। तर उनलाई म इग्नोर गर्न सक्दिनँ, अहँ पटक्कै सक्दिनँ। उनीप्रति माया अनि सम्मान बेहिसाब छ, अथाह छ। त्यसैले उनी मेरा लागि खास मान्छे हुन्।
आजको रातको याद अलि विशेष छ।
उनीसँगको त्यो कालिन्चोक यात्रा, जिन्दगीमा सबैभन्दा धेरै पीडा दिने यादहरू मध्यको एक हो, विशेष याद हो।
हामी स्नातक दोस्रो वर्षमा अध्ययनरत थियौँ। साथीहरूले दुई दिने कालिन्चोक भ्रमणको आयोजना गरे। मेरो बेस्टफ्रेन्ड बिनयले मिल्ने नजिकका साथीहरू ३२ जनाको नाम लिस्ट तयार गर्यो। यस्तो काममा बिनय निकै चलाख छ। यसो भनौँ ऊ हाम्रो भ्रमण टोलीको अघोषित टिम लिडर। बसको व्यवस्था, भ्रमणमा कहाँ बास बस्ने, कहाँ खाने, कति बजे कालिन्चोक भगवतीको दर्शन गर्ने उसले सबै भ्रमण तालिका बनाएर तयारी गरिसक्यो।
भोलिपल्ट भ्रमण तालिका अनुसार म तयार भएर चोकमा पुगेँ। उनी आइपुगेकी थिइनन्। काठमाडौँ मैतीदेवी चोकमा कोही मन्दिर आउने, कोही आ-आफ्नो काममा निस्किनेहरूको निकै चहलपहल थियो।
जिन्स पाइन्ट अनि हल्का निलो कलरको टिसर्ट लगाएर, हल्का कर्ली कपाल उडाउँदै उनी मेरो नजिक आइन्।
गुड मर्निङ गिता।
गुड मर्निङ विजय।
ल चाँडो जाऊँ, बिनयले फोन गर्या थ्यो, सबै आइसके छिटो आऊ भन्दै थ्यो।
हामी कलेजतर्फ अघि बढ्यौँ।
निराले केही ढिलो गरे पनि हामी निश्चित समयमा जम्मा भएर कालिन्चोक भ्रमणमा निस्कियौँ।
म आज धेरै खुसी छ। मेरो मनमा बसेकी मान्छे, अहिले मसँगै बसेकी छन्। हामी यात्रामा धेरै कुरा गर्दै गयौँ। चरिकोट पुगेर हामीले चिया नास्ता गर्यौं। त्यसपछि हामीले पैदल यात्रा सुरु गर्यौँ। मागको चिसो, हल्का हिउँ परिरहेको थियो।
पैदल हिँड्ने क्रममा हामी सबैभन्दा अन्तिममा बस्यौँ। मैले उनको हात समातेँ। उनीसँगको हरेक स्पर्शले मलाई स्वर्गीय आनन्द मिल्थ्यो।
‘विजय, तिमी किन मलाई यति धेरै माया गर्छौ?’
‘किन, तिमी गर्दिनौ र?’
‘त्यस्तो होइन, म पनि गर्छु।’
‘गिता, तिमी बिना त म अधुरो हुन्छु। मलाई एकलो नबनाऊ है।’
‘ओ प्लिज विजय, मैले अस्ति तिमीलाई स्याड कुरा नगर भनेको होइन। अनि फेरि!’
त्यसपछि हामी हात समाउँदै रमाइला गफ गरेर देउराली भन्ज्याङ पुग्यौँ। देउरालीबाट कुरी पुग्नलाई निकै समय लाग्छ। लगभग ५ घण्टा। उनको झोला पनि मैले नै बोकेँ। त्यो यात्रा साँच्चै नै अविस्मरणीय थियो। हिमालको काखमा हिउँ परेको मौसम, जंगलको बाटो, यात्रामा उनको साथ। यो भन्दा रोमाञ्चक पल मेरो जिन्दगीमा सायदै अरू होलान्। यात्राको क्रममा हामी कयौँ पटक हिउँमा चिप्लियौँ तर दुखेन। दुखाइलाई प्रेमले जितेको थियो।
उनको शालीन स्वभाव, ज्यादै राम्री हुँदा पनि सरल व्यवहार, सबैसँग घुलमिल हुने, एकदमै मिलनसार, जिरो एटिट्युड। उनको यिनै गुणहरूले मलाई एकोहोरो बनाएको थियो।
केही सीमित पर्यटकहरू कुरीसम्म गाडी रिजर्भ गरेर पनि गएका थिए। हामीलाई भने पैदल यात्रा गर्ने रहर थियो। यात्राको बिचबिचमा विनय मलाई फोन गर्थ्यो- ‘अलि छिटो आओ, कि यतै घरजम गर्ने विचार छ?’
अरू बेला फोनमा गफ गरेर घण्टौँ बिताउने हामी त्यस दिन हात समातेर गफ गर्दै यात्रामा थियौँ। हामीले बाल्यकालका कुरा गर्यौँ, स्कुलका कुरा गर्यौँ, क्रिकेटका कुरा गर्यौँ अनि आगामी हाम्रो संसारको पनि।
हामी कुरीमा होटेल शीतलमा बास बस्यौँ। हिउँ पर्न रोकिएको थिएन। कुरी साह्रै नै चिसो थियो। होटेलमा विनय र मैले बेड शेयर गरेका थियौँ। एउटा रुममा दुइटा बेड। अर्को बेडमा थिए रामचन्द्र र आकाश।
सुत्ने बेला भइसक्दा पनि मोबाइल चलाएको देखेर विनयले मलाई हकार्दै भन्यो, ‘ओए! दिनभरि कुरा गरेर पुगेन सुत्ने बेलामा पनि म्यासेन्जरलाई दुःख दिएको? छिटो सुत।’
म्यासेजमा उनलाई मैले होटेलको बालकोनीमा आउन आग्रह गरेँ। तर उनी मानिनन्। भोलिको दिनलाई पनि रोमाञ्चक बनाउने बाचा गर्दै हामी सुत्यौँ।
एउटा सङ्लो खोला, किनारामा हामी काँसको फूल लिएर हाँसिरहेका थियौँ। दिनभरि सँगै भएको मान्छे फेरि सपनामा पनि किन आएको हो खै! विनयले घचघच्याएर उठायो। आज हामी चिया नास्ता नगरी उकालो लाग्यौँ। केही समय हिँडेर केबुलकारको यात्रा गरेपछि हामी स्वर्गीय आनन्द मिल्ने कालिन्चोक पुग्यौँ।
कालिन्चोक भगवतीको आँगनमा पुगेर हामीले सुन्दर देखिने हिमालहरूलाई निहाल्यौँ। चिसो अत्यधिक थियो। हिजोसम्म हात मात्रै समातेका हामी आज चिसोले गर्दा अँगालो हाल्न परेको थियो। गिता सँगको त्यो स्पर्श एकदमै यादगार छ।
त्यहाँबाट फर्किएर हामीले कुरीमा नै खाना खायौँ र पैदल यात्रामै ओरालो लाग्यौँ।
हामीले त्यो भ्रमण गरेको पनि ६ वर्ष भइसक्यो। उनीसँग बोलचाल नभएको ५ वर्ष। तर यो यादहरूले वर्ष नगन्दो रहेछ। उनी पो मेरी भइनन् तर यो यादहरू मेरा हुन्। जबसम्म म जिउँदो रहन्छु तबसम्म आइरहनेछन्।
मैले यति विघ्न माया गरेको मान्छे। थाहा छैन कुन अवस्थामा छिन्। उनी मसँग नभए पनि उनीसँगको ती यादहरू जीवित रहनेछन्।
केही समय अगाडि उनको यादले निदाउन नसकेपछि मैले डाक्टरलाई सोधेको थिएँ, ‘डा साब! याद नआउने औषधी छ?’ डाक्टरले आश्चर्य हुँदै भनेका थिए, ‘त्यस्तो त कुनै औषधी बनेको छैन हजुर।’ म निराश, मलिन अनुहार लिएर फर्किएँ।
तर अब मेरो विचार बदलिएको छ। म उनीसँगको ती यादहरूलाई भुल्ने छैन। जबसम्म म जिउँदो रहन्छु। उनकै यादहरूलाई जिन्दगी सम्झिने छु। उनले छोडेर गए पनि उनी प्रतिको मेरो माया र सम्मान उस्तै छ।
उनलाई कुनै भयङ्कर ठुलो संकट आयो होला मलाई छाड्न पर्ने नत्र उनी त्यस्तो धोका दिन कस्ने मान्छे होइनन्। अब मेरा लागि मन बुझाउने बहाना यस्तै मात्र बाँकी छन्।
दिलमा उनी दिमागमा उनी, उनी नै आउँछन् सपनामा
एउटा बेड दुइटा सिरानी, हराइरहन्छु कल्पनामा
कालिन्चोक घुमेको सँगै फोटो खिचेको कहाँ बिर्सिन सक्छु र
पलपल याद छ मलाई, उनी नै छिन् सम्झनामा।