सायद मेरी आमाले पनि त्यत्रा धेरै छोराछोरी हुर्काउँदा मैले जस्तै त भोग्नु भयो होला नि। तर आमाले कहिल्यै दुख देखाउनु भएन वा मैले बुझिनँ वा देखिनँ भनौँ।
‘एसो उठ्नु न, छोरी भोकाएकी जस्तो छ, साह्रै रोइराखी। दूध बनाउनु पर्ने भयो। उठेर नानी समात्नु न एसो।’
‘ह्या! आफू नि नसुत्ने अनि मलाई नि नसुतोस् भनेर मेरो निद्रा जानीजानी हराम गर्ने। मध्यरातमा केको कचकच हो के फेरि,’ यति भनेपछि श्रीमान् चाहिँ मुख बिगारेर रिसले फन्किँदै ल्याक्टोजिन मिल्क बनाउन भनेर भुइँको टेबल नजिक जानै लागेको हुन्छन्, श्रीमतीले भनिहाल्छिन्, ‘भयो भयो यस्तो वचन लगाएर अर्काको बच्चाको लागि दूध बनाउन परे जस्तो गरी हेला गर्न पर्दैन। हजुर सुत्नुस्, म आफै गर्छु जे गरे पनि।’
‘यति विचार अघि नै गर्न सक्दिन थिस्! मेरो निद्रा डिस्टर्ब गरेपछि बल्ल तेरो घैँटोमा घाम लाग्यो? अब मलाई फेरि निदाउनै समय लाग्छ। कति वाक्क लाग्ने जिन्दगी बनाइस् नि तैँले मेरो।’
श्रीमती गहभरि आँसु बगाउँदै काखमा सात महिनाको छोरी राखेर भुइँमा बस्छिन्। इलेक्ट्रिक जगमा तात्न नि त्यो जाडो रात एकछिन समय लाग्छ। छोरी भोकले ह्वाँह्वाँ गर्दै रुन थाल्छे। उनी छिटोछिटो बट्टामा ल्याक्टोजिन हालेर मनतातो पानीमा घोल्छिन्। त्यति दूध बनाउने बेलासम्म पनि छोरी रुन बन्द गर्दिन। छोरीलाई मसार्दै मायाले श्रीमतीले दूध खुवाउँछिन्। रातिको एक बजेको हुन्छ, दिनभरिको थकान अनि रातिको ड्युटी उत्तिकै; श्रीमतीको अनुहार त महिनौँदेखि अस्पतालको बेडमा सिकिस्त भएर सुतेको बिरामीभन्दा कम देखिँदैन। लगभग पैँतालीस मिनेटपछि उनी छोरीलाई खाटमा सुताउन लैजान्छिन्। श्रीमान भने घुर्दै मस्त सुतिसकेका हुन्छन्।
नपुगेको निद्राबाट जुरुक्क आँखा खुलाइदिने काम छोरीको रोदनले गर्छ। श्रीमती हस्याङफस्याङ गर्दै उठेर छोरीलाई काखमा लिन्छिन्। आँखा मिच्दै मोबाइल हेर्दा बिहानको पाँच बजेको हुन्छ। उनका श्रीमान् भने आँखा छोपेर मस्तले घुर्दै सुतिरहेका हुन्छन्। श्रीमती बच्चालाई कोक्रोमा राखेर बाथरूममा मुख धोएर अनि दाँत माझेर आउँछिन्। उनका आँखा झोली परेका छन् अनि भतभत पोलिरहेका छन्। एसो उभिएर आफूलाई ऐनामा हेर्दा आफ्नो रूपरंग पुरै बदलिएको देख्दा त्यो ऐनाको प्रतिबिम्बसँग उनी कनेक्ट नै फिल गर्दिनन्।
छोरीलाई खुवाएर उनी भान्छामा गई जाउलो पकाइओरी कोठामा लिएर आउँदा छोरी च्याँ-च्याँ गर्दै रोइरहेकी हुन्छे। तर उसको बुवा चाहिँ नतमस्तक सुतिरहेका हुन्छन्। श्रीमती हतारिँदै छोरीलाई काखमा लिन्छिन्। ‘ओहो! पिसाब फेरेर डाइपर पुरै भरिएको रैछ। अनि बिचरी किन नरोओस् त नि।’ छोरीलाई फकाउँदै डाइपर बदल्ने अनि अर्को लुगा लगाइदिने गर्न थाल्छिन्। कोठामा हल्ला भयो भनेर श्रीमान् फेरि रिसिन थाल्छन्।
‘खाली काखे बानी लगाएकी छ! एसो अप्ठ्यारो हुनेबित्तिकै काखमा ले भन्छे तेरी छोरीले अहिलेबाट। न रातमा न बिहानमा मलाई त आराम नै गरेको देखिसहेनौ तिमी आमा-छोरीले,’ सिरानी काखमा च्यापेर श्रीमतीतिर पीठ्यूँ फर्काउँदै श्रीमान गनगन गर्न थाल्छन्।
‘छोरी त हजुरकी पनि त होलिन् नि,’ श्रीमती डराईडराई भन्छिन्।
‘धेरै नबोल्। सब काम मैले गर्न पर्छ– तिमीहरूको मुखमा जाने माडदेखि आची गर्ने भाँडोसुद्ध मैले जुटाउन पर्छ। त्यही बच्चा जन्माएँ भनेर ठुली हुन पर्दैन। संसारका सबै आइमाईले जन्माउँछन् तैँले मात्र होइन। सबैका बच्चा छन् तेरो मात्र होइन।’
श्रीमती अक्क न बक्क हुन्छिन्। फर्काउनलाई मनभरि जवाफ त हुन्छ तर श्रीमान् त सामाजिक प्राणी पनि होइन कि जस्तो लाग्न थालिसकेकाले उनी चुप बस्छिन्।
बिहानको खाना तयार पारेर खान बस्दा छोरी खुब रुन्छे। ‘सुन्नु न, हजुरले खाइसक्नुभयो। म भर्खर खान बस्दै छु। नानीको डाइपर चेक गर्नु न आची गरिछ क्या। गरेको भए डाइपर बदल्दिनु है।’
‘ह्या छिटोछिटो खाएर आफैं आएर हेर। म यहाँ टिभी हेर्दै छु। खाली अरूलाई काम लाउने बानी तेरो कहिल्यै सुध्रिने भएन। एउटा बच्चा हेर्ने काम छ त्यही नि धेरै भारी छ।’
श्रीमतीलाई कुनै जवाफ फर्काउन मन लागेन। उनी हतारिँदै खाना बीचमै छोडेर छोरी हेर्न गइन्, नभन्दै बच्चीले दिसा गरेकी रहिछ। त्यसै गरी रातिको भोजनपछि भाँडा माझ्दा माझ्दै कोठामा सुताएकी छोरी डाँको छाडेर रुन थाल्छे। सात महिनामा हल्का बामे पनि सर्न थालेकी छे, त्यसैले कतै खाटबाट खसिहाल्छे कि भन्ने डरले श्रीमतीले श्रीमानलाई अह्राउँछिन्।
‘ए तैँले मलाई एकछिन त बस्न दे। मलाई त देख्ने हुन्न यसलाई काम लगाइहाल्छे। आफै हात धोएर हेर्न जा। मैले नै खाना पकाएर तयारी अवस्थामा राख्न छ, जाबो भाँडा माझ्ने काम गर्दा नि उल्टै मलाई नै अह्राउने।’
श्रीमतीलाई अह्राउँदा कहिले सहयोग गर्नुभा’छ र भन्न मन लागेको हुन्छ तर खै किन उनी कत्ति नबोली हात धोएर माथि कोठातिर दौडिन्छिन्। कुदेर कोठामा पुग्दा त छोरी साँच्चै नै खाटबाट खसेर जोडजोडले रोइरहेकी हुन्छे। उसको निधारमा निलो डाम हुन्छ। श्रीमती छोरीलाई काखमा च्यापेर मुर्छा पर्दै रुन्छिन्। ‘तलाईँ गतिलरी हुर्काउन नि सकिनँ मैले, मलाई माफ गरिदे छोरी।’ उनी भक्कानो फुटाल्दै रुन्छिन्।
शनिबारको दिन भएकाले श्रीमान् घरै हुने हुँदा नुहाउन पाइन्छ कि भनेर श्रीमानलाई अनुरोध गर्छिन्, ‘एकछिन छोरीसँगै गएर बस्नुस् न ओछ्यानमा, म नुहाउन जान्छु।’
‘अँ त्यहाँ बाथरूममा गएर एक घण्टा लगाउन। सुताएर नुहाउन जा।’
‘श्रीमान्’ शब्द केवल समाजको अगाडि श्रीमतीको लागि एक चिनारी मात्र भइसकेको थियो किनकि ऊ त उनको लागि मान्छे पनि थिएनन्। बिहे गरेकै केही समयमा पुरुषको भेषमा लुकेको श्रीमानलाई उनले चिनिसकेकी थिइन्। गर्भवती बेलामा श्रीमानको लुकेको असली अनुहार झनै बाहिर आउन थाल्यो मानौँ आमा अनि बुवाको दुवैको भूमिका उनी एक्लै गर्भवती पेटसँगै निभाउँदै थिइन्। एक दिन उनलाई पनि अरूजस्तै आफ्नो श्रीमानसँग साँझपख हिँड्न मन लागेछ।
‘सुन्नुन्, आज मसँग हिँड्नुन्। अलि पर चोकसम्म पुगेर आऊँ, मलाई नि हल्का जीउ हुन्छ।’
‘के लाजको मर्नु हो। दुई जीउकी छेस् अनि त्यत्रो पेट देखाउँदै कहाँ जाने हो फेरि! म त हिँड्दिनँ तँसँग। बरु केटाहरूसँग एसो समय काट्न जान्छु।’
श्रीमान् आफ्ना साथीसँग चुरोटको धुवाँ उडाउन अनि मदिरा सेवन गर्न नजिकैको भट्टीतिर लागे। आफ्नो लागि त सोच्न पर्यो नि भनेर सुस्तसुस्त श्रीमती हिँड्दै माथि बजारबाट एक फन्को मार्दै त्यही भट्टीको नजिक आइपुगिन्। हिँड्दै गर्दा ठ्याक्कै उनको आँखा भट्टीभित्र पुग्छ अनि उनका श्रीमानको नजरमा जुध्यो। तर उनका श्रीमान उनलाई हेर्नेबित्तिकै अन्त टाउको फर्काएर चुरोटको धुवाँ उडाउन थाले।
त्यसै रात श्रीमान निकै अबेर घर फर्किन्छन्। उनकी आमाले ढोका खोल्दिन् तर छोरो त्यस्तो रक्सी धोकेर आउँदा नि आमाले कुनै प्रश्न गर्दिनन्। श्रीमान् कोठामा आएर डङरङ्ग भुइँमा पल्टिए। उनले निकै रक्सी खाएका थिए। दुई जिउकी श्रीमतीले उठाएर माथि खाटमा लैजाने कोसिस गर्दा ‘तँ उता जा अलच्छिना। मेरो जिन्दगी पुरै स्वाहा गरिसकिस् अब मलाई मर्न मात्र बाँकी छ।’ श्रीमतीले रक्सी खाएको बेलाको रिस त मनमा लिन हुन्न भनी आफ्नो मनलाई बुझाई श्रीमानको नजिक फेरि जाने कोसिस गर्दिनन्।
बेथाले च्यापेर मर्न लाग्दा ‘अरूको पेट दुख्छ तेरो ढाड दुखेछ। तलाईँ बेथा नै लागेको छैन’ भन्छन् श्रीमानले। श्रीमती ढाड दुखेर नसुतेको पाँच दिन भइसकेको थियो। थोरै पनि पीडा सहन नसक्ने पनि के आमा हुन सक्लान् भन्दै श्रीमतीलाई घोचा हान्छन्।
दिनभर घरको काम अनि छोरीको जिम्मेवारीले श्रीमतीको शरीर थकित हुन्छ। कसैले आएर एकछिन समातिदिए नि हुन्थ्यो नि भन्ने आश बेकार हुन्छ। उनी आजकल कुनै पनि काम ढुक्कले गर्न पाउँदिनन्- जे पनि हतारमा गर्नु पर्छ। त्यसैमाथि जब खाना पकाउने बेला हुन्छ तब छोरी झिज्झिन थाल्छे। उनी आमा बन्नासाथ उनी हरेक कुरामा अब्बल हुनु पर्छ के भो त श्रीमानभन्दा दस वर्ष कान्छी भए पनि। सबै कुरा उनले नै भ्याउनु पर्छ फेरि नसके त घरबार धान्न नसक्ने ट्याग लाग्छ। श्रीमानलाई धेरै कुरा भन्न मन लाग्छ– उनको माया महसुस गर्न पनि मन लाग्छ किनकि उनको मनले अझैँ उही पुरानो, असली रूप नआउँदै भर्खरभर्खर बिहे बेलाको, श्रीमतीलाई जतिबेला पनि चाटेको चाटै गर्ने श्रीमान् खोजिरहेको छ।
बच्चा जन्मियो, श्रीमती आमा पनि भइन् तर श्रीमान न पहिले उनको जीवनसाथी थिए न अहिले छोरीको बाउ बन्न सकेका छन्। आज शनिबारकै रात घरमा रात्रिभोजन खाँदाखाँदै श्रीमान् रक्सीको चुस्की लिँदा लिँदै फिट्टू हुन्छिन्। कोठामा आएपछि उनलाई यौनक्रीडा जाग्छ। दिनभरको थकानले गर्दा श्रीमतीसँग कुनै तागत हुँदैन। उनको इन्कार गर्दा श्रीमान् झोक्किएर भन्छन्, ‘यस्ता अलच्छिनासँग पनि के जीवन जाला।’ उनी फन्किँदै अर्को कोठामा सुत्न जान्छन्। राति छोरी एकदमै रुन्छे। उसको ज्यान हल्का तातिएको पनि हुन्छ। छोरी निकै छटपटिन थाल्छे।
‘अब जगाउन जाऊँ भने घरभरिकालाई थाहा हुन्छ। जागिहाल्नुभयो भने पनि निद्रा बिथोलिदी भनेर कराउनुहुन्छ। बूढोले हेपेको देखेपछि भोलिबाट घरकाले नि हेप्न थाल्छन्। बरु एक्लै छोरीलाई थमथमाउँछु।’ यस्तै सोच्दै बिरामीले छटपटिएकी छोरीलाई काखमै च्यापेर श्रीमती रात कटाउँछिन्।
सहयोग गरेको नाममा कहिलेकाहीँ दिउँसोको तीन बजे नै रात्रिकालको खाना पकाएर श्रीमान् बाहिर निस्किन्छन्। कहिले चाँडै घर फर्किन्छन् भने धेरैजसो रातिको बाह्र, एक बजेतिर रक्सीले मत्त भएर फर्किन्छन्। कहिलेकाहीँ खाना पकाउँदा वा पस्किँदा छोरी रोइहाली भने श्रीमतीले घरका अरू सदस्यसँग सहयोग मागिन् भने श्रीमान उनीमाथि कराउन थाल्छन्, ‘जाबो यति काम गर्दा नि तैँले अरूलाई अह्राउन पर्ने। खुब कमारो राखिछस् अरूलाई।’ उनको यस्तो रुखो वचन सुन्दा श्रीमतीलाई लाग्छ कि श्रीमान् उनलाई मनैदेखि निकै घृणा गर्छन्। राति सुत्दा पनि उनी निद्रामै धेरै चोटि श्रीमतीलाई अपशब्दमा गाली गरेका छन् जुन श्रीमतीले प्रायः सुन्छिन्।
श्रीमती पनि पढेलेखेकी छन्। उनले शिक्षामा स्नातकोत्तर गरेकी छन्। बच्चा जन्मिनुभन्दा अगाडि उनले पढाउने जागिर पनि गर्थिन्। अहिले पनि उनलाई केही अवसर आएका छन् तर श्रीमानको कुनै साथ नभएकाले उनले सबै अवसर त्यागिदिइन्। यी सब पीडाले श्रीमतीको मनलाई बिरामी बनाइरहेको हुन्छ। श्रीमानको दुर्व्यवहारको भारले उनी निकै एक्लो हुँदै गएकी छन्। मनको कुरा साझा गर्नलाई उनको कोही छैन। भएको माइती नि निकै टाढा छ अनि फोनमा भन्दा अरूले सुन्छन् अनि आफ्नै बेइज्जत हुन्छ भन्ने डरले उनी माइतीको आमालाई नि खासै सम्पर्क गर्दिनन्। एकदिन केही कुरा आफ्नी आमालाई भनेकी पनि थिइन् तर उनकी आमाले ‘सबै लोग्ने मान्छे यस्तै हुन्। आइमाई त सहने जात हो। तेरा बालाई हेर्दिनस्, मैले कति वर्ष भयव सहना लागेको’ भनेपछि एक शब्द ननिकाली फोन राखिदेकी थिइन्।
अचानक एकदिन छोरी साह्रै बिरामी हुन्छे। आमाको मन अनि चारतर्फी तनावले गर्दा एकचोटि डाक्टरकोमा लगेपछि छोरीले नि आराम पाउँछे अनि आफूले नि ढुक्कले सास फेर्न पाइन्छ भन्ने उनलाई लाग्छ। उनले दुई दिनसम्म श्रीमानलाई एक/दुई चोटिसम्म अस्पताल लाने कि भनेर सोध्दा श्रीमान रन्किँदै भन्छन्, ‘अँ तँलाई जतिबेला नि अस्पताल खुब। पुरै औषधीको भरमा पाल तेरी छोरीलाई। एसो घरेलु उपाय सोच्न तेरो दिमागले भ्याउँदैन?’
चौथो दिन छोरीले वाक्ने र छेर्ने गर्न थाल्छे, उसको अनुहार पनि फुल्लिन थाल्छ। छोरी रातभर आधा-आधा घन्टामा जाग्दै रुँदै गर्न थाल्छे। श्रीमती भुइँमा बसेर काखमा छोरी राखी बेलाबेला झुल्छिन् तर श्रीमान भने आफ्नो निद्राबाट डगमग हुँदैनन्। जति अनुरोध गरे पनि नसुनेपछि श्रीमती बिहानै चार बजे छोरीलाई आफैँ एक्लै अस्पताल लान्छु भनेर कस्सिन्छिन्।
उनको यस्तो बढ्दो हिम्मत देखेर श्रीमान् जुरुक्क उठेर कराउँछन्, ‘के रे मैले भनेको नमानेर तँलाई अस्पताल लान पर्यो अझै। श्रीमानको इज्जत नगर्ने यस्ता गति छाडेका आइमाईले हो घर बिगार्ने। पढ्न बसेका भान्जाभान्जीलाई सुद्ध खान पस्किन लगाउने अझै।’ कुनै एकदिन सहयोग मागेकी थिइन् होला उनले त्यही कुरा मनमा गाँठो पारेर बसेका रहेछन् श्रीमान्। जबकि श्रीमानले नै घरका अरू सदस्यलाई आफ्नी बुढीलाई खासै सहयोग गर्न दिन खोज्दैनन्। नुहाउने दिन पनि श्रीमती छोरीलाई बाथरूममै लगेर उसलाई भुइँमा छोडेर नुहाउँछिन्। श्रीमानका यति वचन सुनेपछि उनी गहभरि आँसु बगाउँदै छोरीको लुगा बदलेर अनि झोला पोको पारेर अस्पताल जान कस्सिन्छिन्। उनी ढोका खोलेर बाहिर के निस्केकी हुन्छिन् पछाडिबाट श्रीमान् रिसको झोकमा लात्ताले धकेलिदिन्छन्। श्रीमती छोरीसँगै भुइँमा बजारिन्छिन्।
***
अचानक मेरो आँखा खुल्यो। आत्तिँदै मोबाइल हेर्दा बिहानको पाँच बजेको थियो।
‘ओहो कस्तो नराम्रो सपना देखे प्रभु। के यो सपनामा म थिएँ त? आज शनिबार त्यसैमाथि बिहानको सपना साँचो हुन्छ भन्छन्। त्यो दानवले मलाई मार्यो अनि त्यो सानो बच्ची पनि। हे भगवान्, म त बिहे भन्ने कुरा कहिल्यै गर्दिनँ। प्रिपार्टम, पोस्टपार्टम सब कुरामा श्रीमान् भन्ने जातको उपस्थिति शून्य हुने रहेछ। अझै मैले सपनामा देखेको जस्तो राक्षस त कसैको भाग्यमा नपरोस् प्रभु।’
चिन्तित मनसँगै जाँगर नलागे पनि ब्रस गर्न अनि मुख धुन बाथरूमतिर लागेँ। उठेपछि एक/दुई घण्टा त खाटमै यत्तिकै टोलाएर गयो। मस्तिष्कमा बारम्बार एउटा मात्र कुरा चलिराख्यो- ‘हाम्रो समाजमा अझैं महिलाहरू यस्तो अबुझ श्रीमानको कारणले गर्दा पीडादायी जीवन बाँचिरहेका छन्।’
मेरो बिहेप्रतिको सोच पहिलेदेखि सकारात्मक थिएन, झन् आजको सपनाले मेरो अन्तरआत्मा नै हल्लाइदियो। ‘हो त है, जाबो एउटा व्यक्ति; एक पुरुषले गर्दा एक महिलाको पूरा जिन्दगी नर्क हुन्छ। सही परे रानी गलत परे खरानी भन्ने त उखान नै छ।’