गुराँस फुलेर राताम्य भएको यौवन ढाक्न
लेकको जंगलले ओढेर बसेको छ
कुहिरोको सेतो मजेत्रो
सोच्छ–
लुकाइनँ भने मेरो यो गुराँसे बैँस
लोभिएर कुनै फूल–पिपासुले
चुँडाइदेला रङिन बैँस
च्यातिदेला राता रहरहरू
बाटैभरि ओछ्याउँदै हिँड्ला फूलका पत्र–पत्रहरू
यत्ति पनि नसोची कि
कसैको चप्पलले कुल्चेर हिँडिदिन्छन् ती फूलहरूलाई।
पाती हाल्नेको चिसो सिरेटोमा पनि
भतभती पोल्छ उसको छाती–
जब
प्रेमीलाई दिएको अन्तिम थुँगा गुराँसको फूल चुँडेको बोटले
जिस्काइरहन्छ उसलाई
रुकुम हिँडेको नाइट बस रोकिन्छ देउरालीमा
र कोही झर्दैन उसको भेडीगोठतिर आँखा डुलाउँदै
मध्यरातमा जब झरी पर्छ भोटे कुकुरको गीतको लयसँगै
अनि
सपनामै ऐँठनले च्यापिएर मुर्झाउँछे ऊ।
सोच्छे–
झोलामा वासना बोकेर गएको गुराँसको थुँगा
कसरी पो ताजै होला खाडीको रापले।
एकाबिहानै उठ्छे लेकको गोठमा
र खोज्छे– उत्तिसको दाउरामा टाँसिएको आगोको राप
कुखुराले बारी खोस्रिएजस्तै गरी
चलाइरहन्छे खरानीको एक थुम्को
साँझको कुनै न्यानो जिउँदो रहन्न उसको लेकमा–
ठ्याक्कै उस्तै
परदेश गएपछि उसको प्रेमीको
न्यानो बोलीको हालखबर सुन्नै पाएकी छैन अचेल।
पिरो कुहिरोले नाक ठोस्दै ठोस्दै
खसिदिन्छ आँखाका चेपबाट आँसु बनेर
चिसो चुल्होको छेउमा रित्तो बजिदिन्छ बूढो भड्डुको भाँडो
गोठैभरि रोइदिन्छन् भेडाका बगाल
त्यही बेला
माथिको ढुङ्गोबाट आँखा पसार्दै गोठैभरि –
हिउँ चितुवाले कुरिरहन्छ भोटे कुकुरको निद्रा।
हरेक बिहान
प्रत्येक भेडाको ज्यानको सेतो मजेत्रो मायाले चुम्छे
र आफ्नै मजेत्रो सुँघ्छे
लामो सुस्केरा सुसेल्छे कटकटिएका ओठबाट
त्यही बेला थाकेर निस्कन्छ आवाजको डफ्फा–
अचेल सुकेर गएछ उसको चमेली वासना।
भेडा हिँडेको बाटै बाटो
बेसी झर्दै गर्दा
ज्यानमा अडिनै मान्दैन उसको मजेत्रो
खोजिरहन्छ छातीको अग्लो पहाडबाट बज्रिन कतै
न रोक्न सक्छे ऊ
त्यो भागी जान खोज्ने मजेत्रोलाई
न रोएर चिप्लो बनाउन सक्छे ऊ
त्यो मजेत्रो हिँड्ने बाटोलाई
बरु
हेरिरहन्छे टुनीको फेदमुनि बसेर–
नजन्माएका छोराछोरीजस्ता भेडाहरू उसैलाई कुर्दै गरेको।
गुराँसको थुँगासँग अन्तिम अँगालो साट्नु पहिले पाएको
उसको प्रेमीको एउटै निशानी छ बाँकी
ऊसँग
सेतो मजेत्रो
त्यसैसँग रुन्छे मध्य रातमा
ढाक्छे आफू हुर्किएको जवानी
कस्छे पटुका र सहन्छे बिछोडको पीडा।
नहुँदो हो त फूलेको
परदेशी फर्कने सपनाको लहरा
उहिल्यै बन्दो हो नागबेलीको लहराजस्तै–
गुराँसे हाँगामा, कुन्साङको सेतो मजेत्रो।